कुरा २०४६ को आन्दोलनपछिको हो | देश भर्खर खुल्ला राजनीतिमा गएको थियो | यस्तो खुल्ला राजनीतिले जसले जे गरे पनि छुट छ/हुन्छ भन्ने गलत धारणा धारण गर्ने पनि थिए | फलस्वरूप दिनदिनै नारा जुलुस, विरोधका दृश्यहरु देखिन थालेका थिए र जनता यसबाट वाक्क हुनथाली सकेका थिए |
त्यसबखत म नेपाल वायुसेवा निगम, नयाँ सडकमा कार्यरत थिएँ | झ्यालबाट दिनहुँ सडकमा भएका नारा जुलुस स्वभाविकरुपले हेरिन्थ्यो |
यसरी हेर्ने क्रममा
मैले एकदिन 'नेपालमा ३० वर्ष अगाडी प्रजातन्त्र आयो र यसको
महत्व अहिलेकाले बुझेनन् |'
भनेको थिएँ | वरपरका सहकर्मीहरुले मप्रति असहमति जनाएको
दृष्टिले हेरेपनि कसैले केहि बोलेनन् | भनौं कसैले प्रतिकार
गरेनन् | तर, त्यसबेला जसले पनि
मेरो भनाइको प्रतिकार गर्न सक्ने अवस्था थियो |
तर पछि आफैँलाई ...'अबका पुस्ताले तीस वर्षपछि यसको महत्व बुझ्लान् नै | किनभने यिनीहरु सुशिक्षित, सुपठित अनि वैचारिक हुनेछन्' भन्दै आफैँलाई सम्झाएँ |
तर मेरो त्यो स्वचित्तबुझाई कति गलत रहेछ भन्ने आजको अवस्था देख्नुपर्दा अनुभव हुन्छ | सचेत हुँदै जाँदा कुनै एउटा राजनैतिक विचारधार बोक्नु, त्यसकोलागी समर्पित हुनु आदि व्यक्तिगत स्वतन्त्रता र हकको विषय हो | तर, यो हकको प्रयोग गर्दा कुन हदसम्म विवेक प्रयोग गरिएको छ भन्ने प्रश्न पनि अहम् हुनेगर्छ | त्यसबखतका बालक अहिले युवाकारुपमा देशका भविष्य भएर उभिएका छन् तर तिनका गतिविधि भने गौरवलायक रहेको पाइन्न भन्दा दुख अनुभूति हुन्छ |
हालै आएर नेपालको राजनीतिमा आएको द्वेषात्मक तरङ्गले देशमा नकारात्मक प्रभाव परेको त छ नै, राजनैतिक दलसँग आबद्ध युवाहरुमा समेत विपक्षीप्रतिको द्वेष खपी नसक्नु देखिएको छ | संयम भन्दा आवेग, विवेक भन्दा आक्रोश, मिठो भन्दा तीतो भावनाहरु पोखेर नेताहरुले आफ्नो भडाँस निकालेकोमा त्यसैको पछिपछि लागेर गधा, कुकुर या बाँदरका प्रतिक बनेर उल्टो नेतालाई साथ दिईरहेका छन् | अपितु, यिनले त्यस्ता नेताहरुलाई खबरदारी गरेर संयम अपनाउन सल्लाह सुझाव दिनसक्थे/पर्थ्यो | युवाहरु नेता तथा देशको शक्ति हुन् | यिनले खबरदारीका औंलामात्र उठाएपनि नेताहरु झस्किने छन् | यसमा कुनै शङ्का छैन | तर आफैंमा भएको शक्ति नबुझेर/नदेखेर नेताहरुबाट दुरुपयोग भईरहेका छन् अनि उल्टो आफैँ जनावर बनेर जग हसाई गरेका छन् |
प्रश्न उठ्छ, अब यी युवाहरुबाट किन आश गर्ने, गरेपनि के कस्तो आश गर्ने? र कुन बेला गर्ने?
एकथरी युवा बिहान उठ्ने बित्तिकै कुन देश र कहिले जाने होला भन्दै निर्क्यौल गर्दैमा दिन बित्छ, अर्कोथरि युवा नेताबाट दुरुपयोग भइरहेकाछन् | के यो देशको दुर्भाग्य होइन?
अहिलेका युवाजति शिक्षित कुनै पुस्ता थिएनन् | अहिलेका युवाजति प्रविधिमैत्री
कुनै पुस्ता थिएनन् | तर राजनीतिको फोहोरीपना भने पहिले पनि उस्तै छ, अहिले पनि उस्तै छ | हुनुपर्ने त युवा पुस्ता शिक्षित र दिक्षित हुँदै गएपछि राजनीति संग्लिंदै जानुपर्ने हो | तर, युवाकै कारणले बरु धमिलो हुँदै गयो भन्दा अतिशयोक्ति नहोला
यसमा कसैले 'बुढाहरुले छोडे त हो नि' भनेर तर्क गर्लान् | तर त्यसकोलागी युवाहरुले संरचनात्मक हस्तक्षेपकारी भूमिका खेल्नपर्यो | यो गुट या त्यो गुट नभनि नितान्त दल र देशको स्वार्थमा निर्लिप्त हुनुपर्यो | अनिमात्र युवाका देशप्रतिको समर्पण सफल हुन्छ | नत्र भने देशप्रतिको ओठेभक्ति र नेताप्रतिको अघोर आशक्तिमात्र देखियो भने यी युवाप्रति 'लज्जा शरणम्!!!' बाहेक भन्ने केहि रहँदैन |
No comments:
Post a Comment