अनुभूति
बासु श्रेष्ठ
हालः काठमाण्डौँ
सामान्य हिसाबले हामी पहाड भनेपछि सबै पहाड एकैनासका या उस्तै हुन्छन् भन्ने आम धारणा बनेको हुन्छ जस्तो मलाई लाग्थ्यो । तर, जसरी मानिसका आकृति सबैको एकनासको भए पनि प्रत्येक मानिसका आआफ्नै पहिचान, रुप, रँग अनि वासना हुने गर्दछ त्यसैगरि पहाडका पनि आआफना भौगोलिकताको हिसाबले फरक फरक हुँदा रहेछन् भन्ने ज्ञान प्राप्त भयो हालैको माथिल्लो मुस्ताङ्गको एक यात्रामा ।
म काठमाण्डौँको उत्तरी भेग बाँसबारीमा जन्मिएको भए पनि घर टोल वरपरका पाखाहरु चढ्नु बाहेक केही किलोमिटर उत्तरमा रहेको शिवपुरी जँगल कहिल्यै उक्लिने मौका जुरेन । तर पाखा चढ्नु र पहाड चढ्नुमा तुलना हुनै सक्दैन ।
जिवनले प्रौढताको बाटो पहिल्याएपछि ६६ बर्षको उमेरमा मैले साँच्चै पहाड चढेँ, पहिलो पटक । त्यो पनि तीन दिनमा ४६५० मिटरको उचाईसम्म पैदल यात्रा गरेर । यो नै मेरोलागी पहिलो पहाड आरोहण थियो । यो २०८२ को दशैँपछि लमजुङ्ग जिल्लाको उत्तरमा रहेको मेमे पोखरीसम्मको सातदिने पैदल यात्रा थियो ।
काठमाण्डौँबाट हिले बजार अनि खिन्चोक हुँदै मेमे पोखरीको यात्रामा तीन रात पालमा बास बस्दै चौथो दिन ४६५० मिटरको उचाईमा पुग्दा बाटोभरि हरियाली, ठुला रुखहरु, जँगली वनस्पति, भफँग तथा जडिबुटीहरु प्रशस्त थिए । लाग्थ्यो यी वनस्पति छन् र त सास लिन पाईयो । नत्र? तर काठमाण्डौँबाट देखिने सम्पूर्ण पहाड एकैनासका लाग्थे । पहाड भनेको जँगल र चट्टान अनि उकाली ओरालीको विशाल थुम्कोमात्र हो भन्ने मनमा गढेको थियो ।
तर पाँच छ महिनामा नै अचानक जुरेको कालीगण्डकीको तीरैतीर हुँदै मुस्ताङ्ग र माथिल्लो मुस्ताङ्गको कोरला नाकासम्मको यात्रामा यो भ्रम भँग भयो । किनभने जोमसोमबाट जतिजति उकालो लाग्यो उतिउति नाङ्गा र उजाड पहाडका थुप्रामात्र देखिन्थे । सम्भवतःः यी पहाड तथा हिमश्रृँखलाहरुको उचाई लो मन्थाङ्गबाट कोरला नाकासम्म लगभग ३५०० मिटरदेखी ४६०० मिटरका हाराहारीमा होलान् । यीनै पहाडका पछाडी सौम्य र शान्त मुद्रामा उभिएका हिमश्रृँखलामध्ये कतिपय हिमश्रृँखलाहरुको नामाकरण र उचाइ मापन नै भएको छैन होला ।
जे होस् यी मुडुला भनौँ या नाङ्गा पहाडमा वनस्पतिको नाममा सानासाना बुटाहरुमात्र देखिन्थे । यी बुटाहरु टाढाका नाङ्गा डाँडाका भीरहरुमा थोप्ला थोप्ला जस्ता या अझ भनौँ काला दागजस्ता देखिन्थे । यीनै बुटाहरु खाएर हुर्किएका यस क्षेत्रका भेँडाच्याँग्राहरु भने हिजोआज अर्ग्यानिकको नाममा काठमाण्डौँमा महँगो भाउमा बिक्रि हुने गरेको छ । मैले थाहा पाएसम्म म सानो हुँदा यो भेँडाच्याँग्रा खसीबोका किन्न नसक्नेकालागी हो भन्ने थियो । समयले ल्याएको स्वास्थ्यका कारणले खानपानमा आएको परिवर्तनको परिणाम हो यो । जसरी स्वस्थ भोजनको नाममा कोदा, मकै या फापरको ढिँडो खानु हिजोआज सोखको विषय बनेको छ ।
जे होस् वनस्पतिको नाममा भुँईबाट एक या दुई फिटमात्र अग्ला यी जडिबुटी मानिने बुटाबाहेक अन्य कुनै वनस्पति देखिएनन् । आँखाले भ्याएसम्म हेर्दा तालुखुईले नाङ्गा पहाडहरुको लर्कोमात्र देखिन्थे । यीनै लर्काका बिच पस्दै निस्कँदै उकाली र ओराली गर्दै हामी गन्तव्यमा पुगेर फर्कियौं।
अर्कोतिर ठुला ठुला वनस्पतिविहीन यी पहाडका आकृति तथा रँगहरु भने उत्तिकै आकर्षक र मनमोहक थिए । कुनै पहाडका ढाडमा धारिला पत्ती झैँ पाता पाताका लहरजस्ता देखिन्थे भने कुनै पहाडमा टोड्काहरुको थुप्रो देखिन्थे । कुनै पहाड नीलो त कुनै रातो या पहेँलो रँगका देखिन्थे । कुनै पहाडका चट्टान तेर्सो परेर तहतह लागेको देखिन्थे भने कुनै पहाडका चट्टान भने ठाडो तहमा लम्बिएर खात लागेकाजस्ता देखिन्थे । कुनै पहाड भने सदियौँदेखि हावा र पानीको चोटले एक प्रकारको धारिलो पाटाजस्तोमा परिणत हुँदै थिए । कालान्तरमा यी पहाडहरुको आकृतिमा कस्तो परिवर्तन आउने होला भन्ने कौतुहलताले मलाई पछ्यायो पनि ।
त्यसैगरि कुनै पहाडहरु खिइएर अजँगका खम्बामा परिणत हुँदै एक खम्बा र अर्को खम्बाका बिच मोटर नै हिँड्न हुने बाटो सरह खाली छ जहाँ गेग्रानबाहेक केही देखिन्न । सम्भवतः बर्षा याममा यहाँ खोला बग्दो हो । त्यसैले यी खाली गेग्रानमा हिँड्दै गर्दा कथम् हुरुरुरु पानी बगेर आयो भने म त कालीगण्डकीमा पो पुग्छु होला भन्ने सानो त्रास मनमा पलाएको थियो । कालीगण्डकी कोरिडोर बनाउने क्रममा खोस्रिएका डाँडाहरुका भित्री तह हेर्दा प्रायशः हातमा अट्ने आकारका ढुँगा र बलौटे माटो देखिन्छ । जुन पानीको तिब्र बहावमा यसमा पहिरो जान सक्ने ठुलो सम्भावना रहन्छ । तर, यस भेगमा अपेक्षाकृत अन्तकोजस्तो ठुलो बर्षा नहुनाले यी बाटा सुरक्षित छन् भन्ने कुरा हाम्रा चालक भाई सरोजले सुनाएर हामीलाई ढुक्याएका थिए ।
अर्को मनोरम विशेषतापूर्ण दृश्य भनेको यी सबै पहाडको पछाडि चाँदीसरह टल्किईरहेका हिमशिखरहरु । मानौ यी पहाडको आडमा हामीसँग लुकामारी खेल्दैछ । कहिले हामीलाई काखैमा राखेजस्तो त कहिले पर पहाडको पछाडि लुकेजस्तो । त्यसैगरि पहाडका खोँचमा तल हेरे श्याउका फूलका मञ्जरीहरुले धरती सेताम्मे । आहा, कस्तो विविधतापूर्ण दृश्यावलोकन हो यो भन्ने लाग्थ्यो । फोटो जति लिए पनि नपुग्ने । उस्तै प्रकारका फोटो त कति खिचियो कति । आम्मै, रीलको युग भएको भए? आङ्ग नै सिरिङ्ग भयो ।
पहाडका यीनै विविधता देखेर र सम्झिएर मनमा अनेक कारणहरु खेल्न थाले । आखिर पहाड त पहाड नै हो । तै पनि लमजुङ्गको पहाड, शिवपुरी पहाड र यो पहाडमा विविधता किन? सम्भवतः यीनको भौगोलिक अवस्थिति बाहेक अन्य कुनै कारण हुन सक्दैन र यो बाहेक अन्य कुनै कारण मेरो मस्तिष्कमा आउन सकेन पनि । शायद भूगर्वविद्हरुलाई जानकारी होला । तर, यति सानो नेपालमा अन्य सामाजिक विविधता जस्तै पहाडको पनि विविधता देख्न पाउँदा आपफ्लुाई भाग्यमानी र गौरवशाली ठानेँ ।
लमजुङ्गबाट पूर्वका डाँडा कस्ता होलान् या मुस्ताङ्गबाट पश्चिमका डाँडा कस्ता होलान्? लमजुङ्ग जस्तै हरियाली र वनस्पतिजन्य होलान् कि मुस्ताङ्गको जस्तै तालुखुईले नाङ्गा होलान्? या यी दुबैजस्ता नभई अन्य कुन रुपमा होलान् भन्ने अर्को कौतुहलता जागेको छ, जसलाई कहिले निमिट्यान्न पार्न सकिन्छ, थाहा छैन ।
तर देशको आर्थिक अबस्था पनि सँगै सम्झिंदा मन विरक्तिएर आयो । आखिर पहाडको ठाउँमा समथर जग्गा भएको भए यहाँ कति बाली अन्न उब्जिने थिए होलान् । देशको आर्थिक विकास हालको भन्दा कैयौँ गुणा समृद्ध हुने थियो होला भन्ने कल्पनामा मन रमाए पनि यथार्थमा मन दुख्यो । तर फेरी यथार्थमा देशको नेतृत्वले यी प्राकृतिक सँरचना र यसमा उत्पादित वस्तुहरुको उचित प्रयोग र सँरक्षण गर्न नजानेकोले यी पहाड ठिँग उभिनु परेको हो भन्ने पनि मनमा लाग्यो । यहाँ पाईने जडीबुटी आधुनिकताले नष्ट गर्दै गएको छ । मूल्य थाहा पाउनेले यसलाई विदेश लगेर खुल्ला रुपमा बिक्री गरिरहेको छ । तर, सरकार आफ्नै कुत्सित स्वार्थकालागी मौन र अन्धो बनेर अज्ञानता प्रदर्शन गरिरहेको छ ।
यसै सन्दर्भमा पहाडी क्षेत्रको रुपमा रहेका अमेरिकाको एरिजोना राज्यमा रहेको द ग्रेट क्यानियोन, कोलोराडोको रकी माउण्टेन तथा भर्जिनियाको सेनेन्दाहो भ्यालीलाई पर्यटकीय थलोको रुपमा विकास गरेको सम्झिएँ पनि । हामीले पनि पहाडका यी विविधताहरुलाई ब्यबस्थित तवरले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सक्छौँ होला । पहाडमा पाइने जडिबुटी, वनस्पतिहरुको सुरक्षा, सम्बर्धन र बजारीकरणमा सशक्त ब्यवस्थापन गरियो भने देशले फड्को मार्ने नै छ भन्ने कुरामा को राजी नहोला?
तर लो मन्थाँग वरपरका यीनै पहाडी क्षेत्रमा भने अति महत्वको खनिज पदार्थ युरेनियमको ठुलो खानी ३० वर्ग किलोमिटरमा फैलिएको छ भन्ने अनुसन्धानले देखाएको पनि रहेछ । यसको गुणस्तर मध्यमदेखि उच्चस्तरको छ भन्ने पनि अनुसन्धाताको भनाई रहेछ । तर यसको उत्खनन र प्रयोग भने कहिले र कसरी हुने हो भविष्यको गर्भमै छ । उत्खननकोलागी नेपालसँग प्रविधि, सामाग्री, पूर्वाधार तथा लागत पुँजीको अभाव छ । अन्यथा यसको प्रयोगले नेपालको आर्थिक अवस्थामा ब्यापक परिवर्तन आउनेमा निश्चित छ। साथै यस परिवर्तनमा जलविद्युतको उत्पादनले समेत टेवा दिने नै छ भन्ने तर्कनाले मनमा केही सन्तोषले ठाउँ पाएको थियो ।
तथापी यी पहाडमा कतै सदियौँ पुराना गुफाका टोड्काहरु देखिन्छन् भने कतै गुम्बा बनाइएको देखिन्छ । त्यसैगरि कुनै पहाडका टुप्पामा किल्लाका भग्नावशेष पनि भेटिन्छन् ।
यस्ता विविधताले भरिएका पहाड चिर्दै कोरला नाका पुगेपछि देखिने त्यहाँको अथाह समथल जग्गा अविस्मरणीय र अविश्वसनीय लाग्छ । यो कति क्षेत्रफलमा फैलिएको छ थाहा छैन । तर नेपालतर्फ जति छ शायद चीनतर्फ पनि त्यति नै या अझ ठुलो हुनुपर्छ । नेपालतर्फ मेरो अनुमानमा १०० टुँडिखेलको आकार होला कि? अनुमान न हो, गरेँ ।
तर, कोरला पुगेपछि कुनै पनि फोनको नेटवर्क चल्दैनन् । फोन आफैँ रिसेट भएर वासिँगटन डिसीको समय देखाउँछ । छैन त अचम्म? तथापी एनसेलको नेटले भने मेरो फोनमा चीनकोलागी रोमिँग सुविधा उपलब्ध छ भन्दै म्यासेज पठाएको थियो । तर एनटिसीमा त्यसो नभएर फोन रिसेट भयो । मेरोमात्र होइन, हामी सबैको । सम्भवतः चीनले आफ्नो सुरक्षाकोलागी अपनाएको नेपालप्रतिको धिँग्न्याइ हो । यसमा नेपाल सरकारले आफ्नो भनाई राख्न सक्नुपर्छ । अहिलेको सँचार युगमा यसरी अनधिकृत कसैको फोनलाई छुन, चलाउन पाईँदैन ।
कोरलाबाट चीन नेपालका बिच हुने ऐतिहासिक व्यापारिक मार्गलाई नै कालीगण्डकी कोरिडोरको रुपमा नेपालको राष्ट्र्रिय गौरवको रुपमा राजमार्ग ४८ निर्माण गरिएको हो । कोरला नाकाबाट गैँडाकोटसम्मको लम्बाई २५४ किमि अर्थात १५८ माइल हुनेछ र यसले विभिन्न १० जिल्लाका दशलाख मानिसलाई प्रत्यक्ष लाभ पुर्याउने अनुमान गरिएको रहेछ । सन् २०२१ मा पुरा हुने लक्ष्य राखिएको यो सडक कहिले पुरा हुन्छ थाहा छैन । यही सडकको आसमा डाँडापारीको जिल्ला डोल्पाबासी पनि बसेका रहेछन् । यो बाटो बनेपछि मुस्ताङ्गबाट डोल्पाको बाटो बन्ने पनि त्रफ्ममा रहेछ अनि डोल्पाको सम्पर्क काठमाण्डौँसँग बर्तमान समयको तुलनामा निकै छोटो हुने आसमा बसेका छन् डोल्पाबासी । तिनका सपना शिघ्र पुरा होउन् ।
माथिल्लो मुस्ताङ्गलाई निषेधित क्षेत्रबाट खुला गरिएको धेरै भएको छैन । तथापी यो अझै पनि सँरक्षित क्षेत्र नै छ र यहाँ जान पूर्व अनुमति लिनुपर्छ जुन प्रक्रिया साह्रै नै फितलो त लाग्यो नै विदेशीकोलागी प्रवेशाज्ञा शुल्क भने महँगो लाग्यो ।
निषेधित तथा सँरक्षित क्षेत्र भएकोले होला, नेपाली बाहेक सबैले पूर्व अनुमति लिनुपर्ने रहेछ । विदेशीकोलागी दैनिक पचास डलर र न्यूनतम दुई व्यक्तिको समुह हुनुपर्ने रहेछ । भारतीय नेपालीहरु पनि नेपाली नै हो भन्दै अनधिकृत भ्रमण गरेको गुनासो जाँचकोलागी बसेका प्रहरीबाट सुन्ने मौका मिल्यो । यो भनाईले मलाई अलिकता झस्कायो । मधेसी नेपालीका नाममा दक्षिण सिमापारका भारतीयले पनि अबैध फाईदा लिईरहेका छन् । उसैगरि आसाम, सिक्किम, दार्जिलिङ्गका नेपालीले पनि अनुहारको दुरुपयोग गरिरहेका रहेछन् । कताकता नरमाईलो लाग्यो । यसबाट देशको सुरक्षामा केकस्तो आँच पुग्ने हो सुरक्षाविद् नै जानुन् । तथापी, यस क्षेत्रमा प्रवेश गर्न अन्नपूर्ण सँरक्षण क्षेत्र आयोजनाको शुल्क पनि अलग्गै तिर्नुपर्ने रहेछ ।
जे होस्, नेपालव्दारा खोलिएको यो नयाँ गन्तव्यको रुपमा खुलेको यस क्षेत्र पुग्ने सडक यथाशिघ्र स्तरोन्नति गरियो भने चीनबाट सामाग्री आयात हुन सहजता त हुने थियो नै भने नेपालले के निर्यात गर्ने भन्ने योजनाकासाथ वस्तु उत्पादनमा अहिले नै लागीपर्नु पर्ने देखिन्छ । अलमल नगरौँ सरकार ।



No comments:
Post a Comment