बासु श्रेष्ठ
भर्जिनीया
झण्डै अठाह्र वर्ष पहिले जतिबेला अमेरिकामा पाईला टेकेँ त्यतिबेला कुनैदिन अमेरिकी नागरिक भएर राष्ट्र्पतिय चुनावमा मतदान गरौँला भन्ने चिताएको थिईनँ । तर सन् २०१२ को नोभेम्बर ६ कादिन त्यो अवसर आयो ।
अमेरिका बसाईको क्रम अनपेक्षित ढँगले लम्बिदै गयो । सोहि अनुसार ग्रीनकार्डको प्रक्रियामा हात हालियो र स्वाभाविकवश अमेरिकी नागरिककोलागीपनि प्रक्रिया थालियो । अनि विगतका दुई वर्षपनि मतदानमा सहभागी हुन पाएको भएता पनि राष्ट्र्पतिय चुनावमा मतदान गर्न चाहिँ यहि वर्ष पहिलो पटक जुर्याे ।
अँगीकृत नागरिकको हैसियतले अमेरिकी व्यवस्था, कानुन आदिको अवलम्बन गर्नु मेरो कत्र्तव्य हो भने यसप्रति अरुलाई जागरुक तथा सजग बनाउनु, आफ्नो हक, हित र अधिकारप्रति सजग हुनु, सरकारले गरेका र गर्ने कार्यहरुप्रति आफुलाई लागे बमोजिम सहमति असहमति जनाउनु मेरो अधिकार र कर्तव्य भएर सहज ढँगले आए । त्यसै कारणले राष्ट्र्पतिय चुनाव मेरोलागी चाख र चासोको विषयमा रुपान्तर हुँदै गयो ।
अमेरिकी नागरिक ग्रहण गरेपछि मतदाता नामावलीमा आफ्नो नाम समावेश गराउनु एक प्रमुख कार्य मानिनुपर्छ जसले आफ्नो मतदानको अधिकार सुरक्षित गर्दछ । जहाँसम्म लाग्छ यहि मतदाता नामावलीमा चुनावमा सहभागी अन्य उम्मेदवार लगायत दुबै प्रमुख दललाई उपलब्ध हुन्छ । त्यसैले जब जब नोभेम्बर ६ नजिक आउँथ्यो, मुख्यतः दुबै दलको तर्फबाट फोन, मेल र स्वयँसेवकहरुको मात्रा बढदै गयो । घरको फोनमा स्वचालित आवाजले भरिएका फोनहरु आउँदा फोन उठाउन नै छोडियो । हुलाकबाट दिनदिनै दुबै पार्टिका प्रचार सामाग्रीहरुका पुलिन्दा हेर्नु र फाल्नुमात्र भएको थियो भने बेला न कुबेला घरको दैलो ढकढक गर्न आउने स्वयँसेवकहरुलाई जवाफ दिँदापनि वाक्क वाक्क भईएको थियो । तर जे भएपनि यि सबले एउटा कुरामा चाहिँ मदत गरेको थियो । त्यो हो चुनावप्रति मेरो चाख दिनदिनै वृद्धि हुँदै थियो ।
डेमोक्र्याटिक पार्टीतर्फ सामान्य झुकाव भएकोले जबजब स्वयँसेवक या फोनमा कुरा हुन्थ्यो मैले राष्ट्र्पति मेरो घर शहर छेउ आउनुपर्छ भन्दै आएको थिएँ । आउने नआउने उनको काम हो तर मैले ति स्वयँसेवकलाई भन्दा राष्ट्र्पतिको कानमा पुग्नेपनि होईन भन्ने मेरो धारणा रहेको थियो । तर अचानक मैले सुनेँ राष्ट्र्पति मेरै घर शहरमा आउँदैछन् भनेर । जुन कुरा मैले कुनै गहनता विना भन्दै आएको थिएँ त्यहि पो हुँदैछ । अनि उनि आउने दिन अफिसमा सिक कल गरेर उनको र्यालीमा सहभागी हुन श्रीमतिसहित गईयो । यसरी यस पार्टीसँग प्रत्यक्ष सम्बन्ध बढ्न थाल्यो । सोहि समयमा त्यस र्यालीमा उपस्थित केहि पत्रकारहरुले मसँग अन्तरवार्तापनि लिए । जसमध्ये स्लेट नामक ब्लगमापनि पढ्न सकिन्छ ।
मैले डेमोक्र्याटिक पार्टी छान्नुको कारण र यसपटक ओबामा मेरो छनौटमा पर्नाको कारण चाहिँ एक) यो दल विशेष गरी आप्रवासीहरुप्रति नरम व्यवहार गर्ने दलको रुपमा लिईन्छ । दुई) यस दलबाट राष्ट्र्पति बन्नेहरुको ईतिहास हेर्ने हो भने प्रायशः सबै मध्यम परिवारबाट नै आएका छन् र यिनले मध्यम परिवारको मार्का र समस्या बुझ्छन् । तीन) ओबामाले राष्ट्र्पतिको पद ग्रहण गर्दा अमेरिकाको आर्थिक अवस्था, घरजग्गाको भाउ र बेरोजगारी ओह्रालो लागी रहेको थियो । ईराक र अफगानिस्तानमा प्रतिदिन थाम्नै नसकिने डलर खर्च भई रहेको थियो । तर ओबामाले त्यसमा रोक लगाए । तिब्र गतिमा गईरहेको गाडिमा ब्रेक लगाएपनि पूर्ण रुपमा रोकिन केहि समय लाग्छ । मलाई लाग्छ त्यो तिब्रगतिको गाडी रोकिएपनि सुधारको गति लिन पाएको छैन र ओबामाले सो मौका पाउनु पर्छ ।
तर प्रतिव्दन्दी रिपब्लिकन पार्टी भने ओबामाले सन् २००९ मा सपथ लिएदेखि नै एक पटकको राष्ट्र्रपति बनाउने वाचा गरेका थिए भने सोहि दिनदेखि ओबामाको विरोधमा लागेको थिए । त्यसकारण प्रतिस्पर्धा कडामात्र होईन कतिपय राज्यमा यसै भन्न सकिने अवस्था थिएन ।
जे होस् अब नोभेम्बर ६ को व्यग्र प्रतिक्षा रह्यो । समाचार विश्लेषण आदि हेर्दा सुन्दा यस पटकको चुनावमा दुबै पक्षविच कडा प्रतिस्पर्धा हुने छ जसको कारणले आफ्नो एक मतको असाध्य महत्व बढेको अनुभवपनि गरियो । त्यसकारण मतदान गर्न झन्झन् दृढ निश्चय हुन थाल्यो ।
अन्तत नोभेम्बर ६ कादिन । नेपालमा जस्तो चुनावको दिन विदा दिने चलन अमेरिकामा छैन । आफुले समय अनुकूल बनाएर मतदान गर्न जानुपर्छ ।
सोहि अनुसार अफिसबाट घर फर्किने क्रममा मतदान गर्ने निधो गरेँ र सोहि अनुसार मतदान केन्द्र पुगेँ । झ्वाट्ट हेर्दा थोरै व्यक्ति देखेपछि यस समयमा मतदान गर्ने आफ्नो निर्णयप्रति गौरव गरेँ र लाईनमा बसेँ । तर जब लाईन केन्द्रको भित्रीभागमा प्रवेश गर्याे, त्यतिबेला पो थाहा भयो म कति गलत रहेछुँ । मैले बाहिर देखेको लाईनको चार गुणा भिड भित्र रहेछ । जे होस् मतदान गर्ने दृढ निश्चय गरेको मेरो विचार अझ तिनमहिनाको बच्चा बोकेकी आमा, व्हिल चेयरमा बसेर आएका विकलाँगहरु, मभन्दा उमेरमा जेठाहरु लाईनमा लागेको देखेपछि मेरो हौसलामा झन बृद्धि भएको थियो ।
झण्डै दुईघण्टा विस मिनेटपछि मेरो हातमा भोटिँग काड हात पर्याे जसलाई भोटिँग मेशिनको कार्ड रिडरमा पसाएपछि स्क्रिनमा मतदान पत्र देखा पर्दाे रहेछ । आफुले चाहेका उम्मेदवारको दायाँतर्फ सानो गोलो चक्का जसलाई औलाले छोएपछि छानिएको ठहरिँदो रहेछ । सोहि अनुसार मतदानमा रहेका अन्य केहि प्रश्नका उत्तर दिँदै अन्त्यमा आफुले छानिएको त्यस मतलाई वैधता दिन स्क्रिन छोएर गर्नुपर्दाे रहेछ । यसरी सकियो लामो समय प्रतिक्षित मतदानको चासो ।
तर अब अर्काे चिन्ता थपियो । कसले जित्ला भनेर । पहिलो पटक आफुले दिएको मत खेर नजाओस् भन्ने चिन्ताकासाथै आफुले चाहेको व्यक्ति या समुह विजयी हुने नहुने चिन्ता र चासो लाग्नु स्वाभाविक हो । समाचारमा धमाधम मतगणनाको परिणाम आउँदैथियो तर अति प्रतिस्पर्धाकासाथ ।
अन्त्यमा “आ, जे सुकै होस्” भनेर सुत्न गएको म एकैपटक भोलिपल्ट आफ्नो सम्पूर्ण मतले विजय पाएको समाचारकासाथ ब्युँझिएँ । मध्यरात नहुँदै विजयीको टुँगो लागीसकेको रहेछ र दुई राष्ट्रपतिका प्रतिव्दन्दीबिच शुभकामना आदान प्रदान भईसकेको रहेछ । यो सबै विउँझिएपछि थाहा भयो र दिन शुभ भयो ।
No comments:
Post a Comment