https://twitter.com/Chirvir

Tweet me @chirvir







Saturday, June 22, 2024

पाहुनासँग खसखस


अमर न्यौपाने 
डा. शङ्करप्रसाद शर्मा
आनी छोइंग डोल्मा
अनुराधा कोइराला
बालकृष्ण पोखरेल
चन्द्रकला नेवा
दयाराम श्रेष्ठ
गङ्गाप्रसाद उप्रेती १
गङ्गाप्रसाद उप्रेती २

गुहनाथ पौडेल
हरि अधिकारी 
हरिबहादुर थापा 
हिरण्यकुमारी पाठक 
इन्द्रबहादुर राई
कालीप्रसाद रिजाल
किशोर पहाडी
कृष्ण धरावासी
कुमारबहादुर जोशी
लीलबहादुर क्षेत्री
माधव घिमिरे
मीरा राना
नगेन्द्र थापा
नयनराज पाण्डे
नीलम निहारिका
ओमवीर सिंह बस्न्यात 
परशु प्रधान
प्रेमध्वज प्रधान
राजेश्वर देवकोटा
रमेश खकुरेल
रत्नशम्शेर थापा
शिव रेग्मी
श्याम तमोट
सोमनाथ घिमिरे
एस्पी कोइराला
सुनिल पोखरेल
ठाकुर पराजुली
तुलसी दिवस
तुलसी घिमिरे

 

Friday, June 14, 2024

बाटो विहीन गन्तव्यहरु

बासु श्रेष्ठ

हाल: काठमाडौँ

नेपालका सडककोलागी नवचालक म आफन्तसहित चर्चामा रहेको सुकुटे बीच 'बाटो राम्रो रहेको' जानकारीको आधारमा सपत्नी गईयो। किनभने नेपालका थुप्रैसडक खण्डहरु या त आँशिक रुपले होस् या पूर्णतया होस् सडकहरु घाईते भएका नै हुन्छन्। प्रायश: मानिसहरुलाई यो दुरावस्था यति सामान्य लागिसकेको छ कि बाटोको अवस्था सोधे 'राम्रो छ, सवारी साधन चल्न सक्छन्' भन्ने जस्ता जवाफ पाइन्छ। तर, कतिपय सडकहरु सवारीसाधन चलाउन योग्य पटक्क हुँदैनन्। सम्भवत: तिनले सद्दे देखेको भोलीपल्ट नै सडक कुरुप बनेको हो कि? त्यो पनि सम्भव छ। खन्न, खोस्रिन कुनै समय नलाग्ने तर बनाउन बर्षौं लगाउने प्रवृत्तिले जरो गाडेको रहेछ।

जे होस् , अन्तरिक पर्यटकले धानेको, कोदारीबाट ४५ किमी वर, बुढानिलकण्ठबाट ७६ किमी पर अनि दोलालघाटबाट २० किमी पर सुनकोशीको तीरमा रहेको यो स्थललाई किन 'बीच' भनियो भन्ने प्रश्न अनुत्तरित नै छ। तर, दुई पहाडको खोंचमा रहेको यो क्षेत्रमा सानाठूला, नयाँ पुराना गरि झण्डै १७ वटा रिसोर्टहरु रहेछन्। नेपाल चीन जोड्ने तथा ऐतिहासिक अनि व्यापारिक दृष्टिले महत्वपूर्ण अरनिको राजमार्गको यो खण्डखण्डमा देखिने र भोगिने दूराबस्था जेजति छ बुझिनसक्नु छ। भक्तपुरसम्म ब्यबस्थित सडक लगभग साॅगाबाट अनावश्यक तथा अर्थहीन तरिकाले असॅख्य स्थानमा खुँडेर खण्डित गरिएको छ। यसकासाथै सडक निर्माण तथा चौडा गर्ने उदेश्यकालागी सडक भताभुङ्ग गरिएका असॅख्य ठाउॅले आवागमनमा प्रत्यक्ष बाधा त पुगेकै छ। यसले समय र अर्थतन्त्रमा अथाह नकारात्मक प्रभाव पनि पारेको छ जुन सरकारको किताबमा कहिल्यै पर्दैन।

अर्थतन्त्रमा पर्ने नकारात्मक सामान्य उदाहरणका रुपमा: सडक दूरावस्थाको कारणले दुई मिनेटको दूरी पार गर्न बीस मिनेट लाग्नसक्छ। यो बीस मिनेटमा गति कम हुनाको कारणले ईन्धनको खपत बढि हुन्छ। खाल्डाखुल्डीमा सवारी साधन ठोक्किने या खसेर भौतिक क्षति हुन्छ र मर्मत आदिकोलागी ईन्धनसरह पार्ट्सहरु बिदेशबाट आयात गरिनुपर्छ। सडक दाॅयाबाँया बसोबास गर्ने बस्तीबासीहरुलाई धूलो र धूॅवाको प्रदूषणले स्वास्थ्यमा पार्ने प्रतिकूल असर लगायत सवारी साधन मर्मत आदिको ज्याला आदि सबैलाई आर्थिक दृष्टिकोणमा परिणत गर्दा परिणाम भयावह र सोचनीय हुन आउॅछ।

जे होस्, धुलिखेलपछि केराघारीसम्म शायद लगभग सात किलोमिटर सडकको अवर्णनीय दूर्दशा छ। उकालीमा रहेको यो खण्ड धूलो, हिलो, खाल्डाखुल्डी बाहेक केही छैन। कुनै खण्डमा छेउतिर निर्माण काम त भैरहेको छ। तर, न अगाडी काम छ, न पछाडी। वैकल्पिक तथा अस्थायी लेन सिर्जना गरेर आवागमनमा सहजता पुर्याउन सहजै सकिन्थ्यो। तर यस्ता सामान्य बिषयमा निर्माण व्यवसायी तथा सम्बन्धित निकायहरुको ध्यान नपुग्नु दुखदायी छ। यसतर्फ तिनका लापरवाहीले तिनका स्तर उजागर गरेको छ। कमसेकम आन्तरिक पर्यटनको भए पनि गन्तव्यको रुपमा स्थापित यस्ता स्थल जोडिने सडकहरु छिटोभन्दाछिटो सम्पन्न गरेर ति पर्यटन व्यवसायीहरूलाई सहयोग गर्नुपर्ने सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार किन अन्धो र बहिरो भएर बसेको छ? यो भन्दा महत्वपुर्ण त चीनसंग जोड्ने मैत्री तथा व्यापारिक राजमार्ग हो। यसको महत्तालाई मात्र ध्यान दिएको भए शायद यो अवस्था आउने थिएन कि?

व्यापारिक तथा आर्थिक दृष्टिले नेपालको अर्को लाइफ लाइन राजमार्ग पूर्व पश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्ड तथा त्रिभुवन राजपथको थानकोट नौबिसे सडक खण्ड जीर्ण र यातायातकोलागी अनुपयुक्त भएको कैयौँ बर्ष भैसकेको छ। यसबाट भैरहेको क्षति अतूलनीय र अवर्णीय छ। तर सरकार मूलत: सङ्घीय सरकारको अकर्मण्यताले आर्थिक नोक्सानकासाथै मानवीय क्षति भोगिरहनु परेको छ। यस सडक खण्डमा गतबर्ष काठमाण्डौॅबाट सौराहा हुॅदै बुटवल, स्याङ्जा, पोखरा काठमाण्डौॅको यात्रामा भोग्नुपरेको सडकीय सजायँले फेरि दोहोर्याएर यात्रा गर्ने बिचार र ऑट पटक्कै आएको छैन।

हुन त, वैकल्पिक साधनमा हवाई यात्रा पनि गर्न सकिन्छ, तर, स्थलमार्गमा पाईने रमणीय दृश्यावलोकन आदिको हवाई यात्रामा सम्भव छैन। र म यिनै दृश्यहरुको लोभी हुॅ। साथै स्थानीय ब्यापारमा सानो तथा झिनो योगदान पुर्याउन सकिन्छ। तर हवाई यात्रा पनि सबै स्थानमा उपलब्ध छैन र उपलब्ध गराउन सम्भव पनि छैन।

यसैगरी गतबर्ष चालकसहित भाडाको गाडीमा नगरकोटको यात्रा गर्दा पनि भक्तपुरको सैनिक इलाकापछि नगरकोटको रिसोर्टसम्म मुश्किलले केही किमी सडकमात्र स्तरीय पाएँ। बाँकि खण्ड खाल्डाखुल्डीले भरिपूर्ण थिए। धुलो र धुवाँका कारणले पहाडी क्षेत्रको स्वच्छ हावा पनि वर्जितसरह थियो। अरु त अरु, मूल सडकबाट छुट्टिएर रिसोर्ट जोड्ने सडक समेत दूर्दशामा थियो । स्वाभाविक रुपले यो सडकको भित्री खण्ड रिसोर्टको स्वामित्वमा देखिन्छ। स्थापनाकोलागी करोडौँ खर्च गर्नसक्ने रिसोर्टले यो सानो सडक खण्ड बिजोग अबस्थामा राख्नुको औचित्य बुझिनसक्नु छ। नगरकोटबाट फर्किएको केही अवधिपछि त्यस भक्तपुर नगरकोट सडकखण्डका वासिन्दाले तत्कालीन मन्त्री नारायणकाजी श्रेष्ठसँग वादविवाद भएको समाचार हेरेको थिएँ। अहिले त्यो खण्डको हालत यथावत छ या आवश्यक मर्मत गरियो थाहा हुनसकेन।

यसैगरि केहि हप्ता पहिले मेरा आत्मीय मित्रसँग ललितपुर जिल्लाको लाँकुरी भन्ज्याङ्ग जाने निधो गरियो। स्वभावत: बाटोको अबस्था राम्रो छ भन्ने जानकारी पाएपछि हुँईकिएर गइयो। उकालो चढ्ने क्रममा हाम्रो गन्तव्य पुग्न झन्डै तीन किमी सवारी साधन चलाउन योग्य थिएन। झन् रातो माटो रहेको खोस्रिएको सडक(?) र त्यसमाथि पानी पर्न थालेपछि त यात्रा खतरापूर्ण हुन थालेको अनुभव गरियो र निर्दिष्ट गन्तव्य नपुगीकनै फर्किन बाध्य भइयो।

यसका अतिरिक्त बाटामा पर्ने कतिपय स्थानमा पर्यटक स्थल तथा धार्मिक स्थल स्थापना त भएका छन् तर, तिनलाई पहुँच दिने सडकको चाहीॅ ब्यबस्था स्तरीय छैन। अझ, ति सडक नै होईनन् जुन फगत डोजरले खनेर रेखाङ्कनमात्र गरिएको हुन्छ। स्थानीय नेता तथा मन्त्री, साॅसदहरु आफ्ना मत सुरक्षित गर्न यस्ता झिनामसिना कामद्वारा 'ल हेर, मैले ल्याएको विकास' भन्ने झुटो, अपूरो र अधुरो योजना ल्याउॅछन्। तर, निर्माण व्यवसायी, स्थानीय सरकार तथा सवारी चालकका मनपरि र लापरवाहीको कारणले ति रेखाङ्कनले सडकको प्रमाणपत्र पाउनु अघि नै सवारी साधन चलाईदिन्छ। फलतः हुने दूर्घटना तथा तिनले हुने मानवीय क्षतिको दुखदायी समाचार सुन्नसमेत हामी अभ्यस्त भएका छौॅ। तसर्थ सरकार तथा निर्माण व्यवसायीहरुले सडकको पूर्णतया निर्माण सम्पन्न नभएसम्म सवारी आवागमन रोकिनुपर्छ।

मैले माथि उल्लेख गरेको विवरण निसन्देह प्रतिनिधि विवरण हुनसक्छ। देशभर यस्तो दुरावस्था असंख्य होलान् भन्न सकिन्छ। यो सबै खुद्रे विकासको सोच, जसलेपनि निर्माण ठेक्का पाउने परिपाटी र हतारमा मत तान्ने स्वार्थको कारणले हो जुन यथाशक्य बन्द गरिनुपर्छ।


Thursday, June 6, 2024

'आफ्नै भूतको कथा' वेबसाइटमा

वरिष्ठ साहित्यकार तथा छन्दकवि Ramesh Khakurel रमेश खकुरेलकृत २०६३ मा प्रकाशित यो 'आफ्नै भूतको कथा' वहाँका फेसबुकका थुप्रै पाठकहरु पढ्न इच्छुक भए ता पनि कृतिको अनुपलब्धताको कारण ति पाठकहरुको पठन भोक मेट्न मैले टाईप गरेर अनलाईनमा उपलब्ध गराउने जमर्को गर्ने क्रममा यो कृति हात पारेर यहाँ प्रकाशित गरेको छु । अपितु, टाइप गर्न नजान्ने र जाने पनि थोरैमात्र जान्ने भएकोले टाइप गरिरहने झन्झट र समय खर्च नगरी कृतिका फोटो पीडीएफमा हालेको छु । फोटो खिच्ने क्रममा केहि हरफहरु नमिलेका हुनसक्छन् , तिनलाई मिलाएर पढ्नुहोला । तपाईंले पढ्नकोलागि राख्नु भएको तीब्र चाहनाको तुलनामा यो 'अमिलाई' केहि होइन भन्ने ठान्नु होला ।

यस कामकोलागी फेसबुकमा कृतिकारको स्विकृती र सहमत रहेको छ र मैले साहित्यकार माणिकरत्न शाक्यसँग यो कृति मागेर यो वेबसाइटमा राख्ने निधो गरेको हुँ । यो कृति नै किन त भन्ने प्रश्नको उत्तरको प्रसङ्ग- नैराश्य र असफल जीवनको कारण आत्महत्या गर्ने सोच बनाएका कुनै एक ब्यक्तिले यो कृति पढेपछि मर्ने बिचार छोडेर बाॅच्ने हिम्मत र हौसला पाएको प्रेरक प्रसङ्ग हो। र खकुरेलका पाठकहरुले यो कृति पढ्न माग गरिरहेका हुन्।

बजारमा अनुपलब्ध कृतिलाई फेसबुकका पाठकको माग बमोजिम यसरी उपलब्ध त गराएँ तर पाठकका तिर्सना मेट्न म कति सफल भएँ भन्न सक्दिन। तर, मैले केही त गरेँ भन्नेमा चाहिँ सन्तुष्ट छु । HAPPY READING !!!


आफ्नै भूतको कथा  
सानो छँदा

Thursday, June 9, 2022

उहिलेका बाँसबारी र अहिलेका बन्चरे डाँडाबासीहरु

 

बासु श्रेष्ठ

उडब्रिज, भर्जिनिया

मेरो जन्मघर महाराजगन्ज, बाँसबारीमा भएको हो | मेरो घरको उत्तरपश्चिममा विसं २०२२ मा छालाजुत्ता कारखाना निर्माण भयो | चीनको सहयोगमा निर्मित उक्त कारखानाले झन्डै ५०० जनालाई रोजगारी दियो | बिहान नौबजे काम शुरु हुने समय नौ बजे, दिउँसो खाजा खाने समय एक बजे र काम समाप्तीको समय पाँच बजे टांगटांग टांगटांग घन्टी बज्थ्यो भने प्रत्येक घण्टा समय जनाउने घन्टी बज्ने गर्थ्यो र टोलबासीकालागी त्यहि घन्टी समयको सूचक हुन्थ्यो | बिहान कारखानाका कर्मचारीहरु मेरो बारीको छेउबाट लाम लागेर काममा जान्थे भने बेलुका त्यसै गरि लाम लागेर फर्कन्थे | घन्टीको आवाज नसुनेकाले या सुन्न नपाएकाले यो लाम देखेर समय खुट्याउँथे | सवारी साधनको सुविधा नहुनेहरु यो बाटो प्रयोग गर्थे भने अर्को दिशाका मजदुरहरु लिनपुर्याउन ट्रकहरु उत्तरमा बुढानिलकण्ठ तथा दक्षिणमा जावलाखेल (शायद) सम्म पुग्थे | बिहान बेलुका यी ट्रकहरु आउनेजाने गर्ने समय शुन्यप्राय: सडक भरिभराउ हुन्थ्यो | अनि खहरे सुके झैं सामसुम्म हुन्थ्यो |

उता बाह्रबजे टुंडिखेलमा मध्यान्हको सूचक तोप पड्किन्थ्यो| त्यो तोपको आवाज बाँसबारीसम्म सुनिन्थ्यो | हामीभन्दा पनि हाम्रा अग्रजहरु सोहि सूचक अनुसार चल्थे | यो लेख्दा अहिले आफैंलाई अचम्म लाग्छ |

सो कारखाना संचालनमा सहयोगार्थ आएका चिनिया कर्मचारीहरुकोलागी कारखानाको ठिक दक्षिणपट्टि झन्डै २५ वटा सानासाना आवासगृह बनाइएका थिए | ति चिनियाहरू जे पनि खाने भएकाले मेरा केहि साथीहरु काग, चिल आदिको शिकार गरेर तिनलाई दिन्थे | सट्टामा माओका हत्केलाजत्रो देखि लिएर सानासाना ब्याज तथा पाउरोटी आदि दिने गर्थे | हामी त्यो खाएर, लगाएर हिँड्ने गर्थ्यौँ | पछि यो वितरण अनि पहिरनमा सरकारले रोक लगाएछ | यतिबेला म जनकपुर गईसकेको थिएँ |

हाल उक्त बाँसबारी छाला तथा जुत्ता कारखाना निजीकरणको नामबाट खोष्टाको मोलमा बिक्री भएर विसं २०५२ बाट शहिद गंगालाल हृदय केन्द्र अस्पतालले विस्थापन गरेपछि ईतिहास भैसकेको छ |

तर, छालाजुत्ता कारखानाले बाँसबारीबासीलाई दिएको परोक्ष दुखको भने सरकारले कुनै वास्ता गरेन | किनभने उक्त कारखानाबाट फालिएका आलो छाला, बेलुका प्रशोधनबाट निस्किएको दुर्गन्धमिश्रित धुँवा तथा प्रशोधन गरि फालिएको रगत मिसिएको रातो पानी नजिकको खहरेमा फालिनाले टोलबासी दिक्क मान्थे | यो खहरेको दुषित पानी मण्डीखाटार हुँदै शायद धोबीखोलामा मिसिन्थ्यो | त्यस खहरे छेउछाउका बालीनाली नष्ट हुन्थे |

विशेष गरि बेलुकाको खाना खान बस्ने बेलामा यो दुर्गन्ध टोलका घरघरमा प्रवेश गर्थ्यो | त्यतिमात्र नभई कारखानाको पछाडि पूर्वपट्टी पर्खालबाहिर प्रशोधनपछि फालिएका आलो छाला तथा अन्य अङ्गहरू जस्तै भुँडी, हाडहरु स्थानीय कुकुर तथा चिल, कागहरू लगायत अन्य चराहरुले बोकेर घरका छाना, पाली, आँगनमा ल्याउने, खसाल्ने गर्नाले थप फोहोर र दुर्गन्धको त्रासमा बस्नुपर्ने हुन्थ्यो |

र त त्यतिबेला कसैले बाँसबारीको नाम लिँदा त्यो छाला गन्हाउने टोल? भनेर हियाउने आशयले भन्थे |

कारखानाकोलागी उतिबेलाको शहर असन, इन्द्रचोक, ठमेल, क्षेत्रपाटी लगायतका भित्री शहरबाट राँगाको मासु ब्यापारीहरुबाट किनिएको कच्चा पदार्थको रुपमा छाला लगायतका अन्य भागहरु ट्रकमा ओसारिन्थ्यो | त्यसबाट चुहिएको रगत सडकमा पनि देख्न पाइन्थ्यो | तर पछि यसलाई छोपेर, प्लाष्टिकमा राखेर ल्याउने व्यवस्था चाहिं गरियो |

कारखानाबाट टोलबासीले पाएको यो दुखको बारेमा कतै गुनासो, उजुरवाजुर गरेको मैले कहिल्यै अनुभव गरिनँ | गरेको भए पनि मैले थाहा नपाएको हुनसक्छ | तर अवस्थामा सुधार नआएकोले त्यस पंचायतकालमा उजुर नसुनिएको वा उजुर गर्ने आँट कसैले नगरेको हुनसक्छ |

तर परिस्थिति ठ्याक्कै उस्तै नभए पनि अहिले सिसडोल र बन्चरे डाँडाका बासिन्दाहरुले फोहोर ब्यबस्थापनप्रति गरेको प्रतिरोधले मलाई त्यो बाल्यकालमा पुर्यायो | ति बासिन्दाहरुको जागरुकतालाई मैले कताकता आफ्नो बाल्यकालको सोहि समस्यासँग जोडेर हेर्दा प्रशंसा गर्न बाध्य भएँ | भलै त्यहाँ डम्पिङ्ग साइटको नाममा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गर्न खोजिएको भएपनि समयमा योजना पुरा नगरेर स्थानीयबासीलाई सरकारले परोक्ष दुख दिएको छ |

अहिलेको यो डम्पिङ्ग साइट र छाला कारखानाको त्यो डम्पिङ्ग साइटमा भने केहि फरक छैन | फरक के भने त्यतिबेला बाँसबारीबासीले सहे | अहिले बन्चरे डाँडाबासीहरु बिरोधमा बन्चरो लिएर उर्लिएका छन् | यसलाई त्यहाँका जनतामा आफ्नो स्वास्थ्य लगायत हक अधिकारकोलागी प्रतिकार गर्न जागरुक भएको मैले ठानेको छु | तथापी, फोहोरमा राजनीति गर्ने किराहरुको प्रवेश भएको समेत पनि हुनसक्छ | यस कुरामा चाहिँ ति बासिन्दाहरु सजग रहनुपर्छ | साथै स्थानीय सरकार, केन्द्रीय सरकार तथा सबै सरोकारवालाहरुपनि यसप्रति चनाखो रहनु पर्छ भन्ने मलाई लाग्छ |

फोहोर व्यवस्थापनकै वाचा गरेर मेयर पदमा विजेता बालेन साहलाई यो चुनौतिको रुपमा पहाड भएर खडा भएको छ | अहिले शायद यो समस्या सोचेजस्तो सहज रहेनछ भन्ने अनुभूति हुँदैहोला | तर, समाधान गर्न असम्भव भने पक्कै होइन | मात्र सम्बन्धित निकाय, जनताको एकापसमा संयोजनको, बुद्धिमत्ताको र प्रतिबद्धताको अति आवश्यक छ |

फोहोरको यो फोहोरी राजनीति यथाशक्य चाँडो सुल्झियोस भन्ने सम्बन्धित सम्पूर्णमा शुभकामना |