https://twitter.com/Chirvir

Tweet me @chirvir







Saturday, May 19, 2012

Beware All Nepalese living in USA

Beware All Nepalese living in US:
If you ever get a call from a so called telephone company Neu Era, regarding their cheap rate to Nepal .04c per minute, do not believe them at all. You may even get a call from a Nepali guy whose name is Yogesh Thapa on behalf of Neu Era Telecom. Do not consider him as well. Just tell them that not to call you again.
They will offer you a 90 minutes free per month, and then .04c per minute charge to Nepal and will ask for a deposit $38.95. Later they will charge you .22c per minute which will rip you off easily.
If you can just slap on them and hang up and have no mercy.
The bellow are some complaints found in the websites. Or you also may find some more.

http://www.consumercomplaints.in/complaints/nuera-telecom-c295717.html

http://www.paklinks.com/gs/all-views/346629-new-era-telecom.html

http://www.complaintsboard.com/complaints/neu-era-telecom-california-c499081.html

http://www.my3cents.com/showReview.cgi?id=57485

Wednesday, May 9, 2012

नोमोफोविया


 
बासु श्रेष्ठ
उडव्रिज, भर्जिनीया

के तपाई नोमोफोवियाबाट ग्रसित हुनुहुन्छ ? अहिले यदि तपाईको खल्तिमा मोबाईल फोन छ भने पक्कैपनि यो रोगबाट ग्रसित हुनुहुन्छ । No Mobile Phone Phobia हो यसको पुरा अर्थ । अर्थात मोबाईल फोन नहोला कि भन्ने डरले त्रसित व्यक्ति नै यस रोगबाट ग्रसित हुनु हो । र यो रोगको रोगीको सँख्या दिनहुँ बढदैछ भन्ने ल्फोरिडामा गरिएको एक अध्ययनले देखाएको छ ।
जहाँ जाँदापनि साथै लग्नु, अझ भनौँ भने बाथरुममा लघुशँका होस् या दीर्घशँका गर्न पसेको होस् उसले मोबाईल फोन बोकेकै हुन्छ । मानौँ उ अत्यन्त जरुरी फोनको प्रतिक्षामा छ या मोबाईल फोन छोड्ने कुनै सुरक्षित ठाउँ नै छैन । मोबाईलमा मसँग कुरा गर्ने अर्को तर्फको व्यक्तिले सौच गरी ल्फस गरेको आवाजपनि मैले सुनेको छुँ । अर्थात ति व्यक्ति सौच र फोन दुबै एकैपटक गरिरहेको पाएको छुँ । कतिजनाले लघुशँका गर्दागर्दै मैले गरेको फोनको उत्तर दिएको अनुभव गरेको छुँ । ति व्यक्ति न त करोडौँको कारोबार गर्ने व्यक्ति हुन् न त छिन् छिनमा फेरिइरहने राजनैतिक दलको नेता या कार्यकर्ता हुन् जसले मोबाईल एकछिन छोडेको खण्डमा पहिरो नै जानेछ । न त ति कुनै शेयर बजारसँग आबद्ध छन् जसले छिन छिनको खबर थाहा पाई राख्न परोस् । तर ति कसैले मोबाईल छोडेका हुन्नन र छोड्न चाहँदैनन् पनि ।
केहि वर्षअघिसम्म म मोबाईल फोनको सौखिन थिइनँ । थुप्रैले मोबाईल बोक्दापनि आफुलाई कहिल्यै रहर लागेन । तर घरको सल्लाह र यसको उपयोगितालाई ध्यानमा राखेर अन्ततोगोत्वा लिएँ । जुन दिन देखि मोबाईल मैले बोकेँ त्यस दिन देखि दिनको पचास पटक खल्तीबाट झिक्दै हेर्दै, खल्तीमा राख्ने गरेको छुँ । कसैको फोन नआए किन कसैको फोन आएन भनेर ओल्टाई पल्टाई कतै रिँगर अफ छ कि भन्दै हेर्नु, त्यसै कतै मिस कल छ कि भनेर हेर्नु, कण्ट्याक्ट व्यक्तिहरुको नामावली स्वार्रररर स्वार्रररर तलमाथी गर्दै हेर्नु, अनि खल्तिमा राख्नु, फेरी झिक्नु आदि मोबाईलप्रतिको आशक्ति हो । कतिपटक कतै जाँदा मोबाईल छुट्यो भने सँसार नै बिते सरह या आफ्नो मुटु नै छोडे सरह यथाशिघ्र फर्केर मोबाईल लिन पुगेको छुँ । आखिर न कसैको फोन आएको हुन्छ न त कसैलाई गर्नु नै परेको हुन्छ । त्यसैले यो शरीरको यस्तो अभिन्न अँग भएको छ कि यो विना अपूर्ण अनुभव गरिन्छ । यसै अनुभवलाई मोनोफोविया भनिन्छ ।
फेरी मोबाईल फोनले हामी सबैलाई व्यक्तिवादीपनि बनाएको छ भन्ने हामीले कत्तिको अनुभव गरेका छौँ कुन्नी । किनभने दुईचार जना बसेर केहि गफ या कुराकानी गरिरहेकोमध्ये अधिकाँशहरु मोबाईल हातमा लिएर स्वार्ररररर स्वार्र्रररर चलाई रहेको हुन्छ । या टेक्स्टिँग गरिरहेको हुन्छ । यो एक प्रकारले सामुन्ने बस्ने व्यक्तिप्रतिको अनुभिरुचीको नमूना हो ।
मोबाईल फोन आफन्तसँग सम्पर्कमा रहिरहने उत्तम साधन भएकोले नै यसो भएको होला । कुनैपनि भिड या सडकमा हेर्नुस्, दुखेको कानमा हात राखेर सञ्चोका अनुभूति गरेझैँ सबैले कानमा हात पुर्याएका हुन्छन् । कसैले जनै झुण्ड्याए झैँ दुबै कानमा एयरपिस घुसाएका हुन्छन् त कसैले निलदन्त (ब्लु टुथ) कानमा मुन्द्रि झैँ घुसारेका हुन्छन् । अनि एक्लै बरबर गरिरहेका हुन्छन् । मानौँ सबैलाई एक्लै बोल्ने रोगले सताएको छ ।
अहिले त झन् स्मार्ट फोनको नाममा आईफोन, विण्डोज फोन, एण्ड्रेइड आदि आदिले झन सबैलाई व्यक्तिवादी बनाएको छ । साथमा कोहि नचाहिने । टाढाकोसँग मोबाईलमा कुरा गर्यो या गीत सँगीत सुन्यो ।
जे भएपनि मोबाईल फोन अहिलेको समयमा सबैको प्रिय र अभिन्न अँग भएको छ । अनि आफ्ना सम्पुर्ण सूचनाहरु, फोटोहरु, गीतसँगीतहरु यसैमा सँचय गरेका हुन्छन् । अनि यस्तो अभिन्न अँग कतै छुट्ला कि या हराउला कि या कसैले चोरी गर्ला कि भन्ने त्रासले सबैलाई सताएको हुन्छ र यहि त्रास नै नोमोफोविया हो

Sunday, May 6, 2012

मागी मागी छोराऽऽऽ बे

बासु श्रेष्ठ, (उडव्रिज, भर्जिनीया)


शिर्षक पढेर तपाईले के अर्थ्याउनु भो कुन्नी मैले चैँ 'नसक्नेले बेमतलबको स्वाँग रचेर ढ्वाँग फुक्नु हो' भन्ने अर्थ्याएको छुँ । गन्हाउने सास हुनेले ल्वांग मुखमा हालेर स्वाँग पार्या झैँ हो | त्यस्तो स्वाँग पारेर के गर्नु ? बेहोर भने भ्वांग पर्या हुन्छ | यस्तो स्वाँग पार्नेलाई त हुने भए टाउकामा ट्वाँग हान्न मन लाग्छ | तर के गर्नु, स्वाँग पार्नेले पारेकै छ | अर्थात हातमा पैसा न कौडी, बजारतिर दौडी । माथीको शिर्षकलेपनि त्यै भन्छ । मागी मागी छोरा बे किन गर्नुपर्यो होला कसैलाई ? बुआरी खुसुक्क भित्र्याए त भैगो नि । ढ्वाँग फुकेरै भित्र्याउनु पर्छ र ? त्यसकोलागी दाम दुमडी नचाहिने भे त हो त नि । दाम दुमडी नि चाहिने, अनि त्यो चैँ छैन तर रहर चैँ पुरा गर्नुपर्ने रे । अनि त्यो पनि मागी मागी । अनि फेरी त्योपनि आफ्नो बे हो र ? छोराको बे । यसैले मैले भनेको हुँ 'स्वाँग रचेर ढ्वाँग फुक्नु ।'

हुन त हामी नेपालीहरु छोराको बेकोलागीमात्र काँ स्वाँग पार्छौं र ? दिव्य दृष्टिले हेर्नुभयो भने उत्तर देखि दख्खिन, पूर्वदेखि पश्चिम नेपालका हामी मनुवाहरुलाई यस्तै यस्तै रहर लागेको हुन्छ । सरकारमा बस्ने हुन् कि सडकमा बस्ने हुन्, महलमा बस्ने हुन् कि सार्वजनिक हलमा बस्ने हुन् सबैले यस्तै काँचो रहर पालेका छन् ।

नपत्याए अहिले ग्यासकै कुरा गरौँ । यो ग्यास भन्ने जिनिस न हामीकाँ बन्छ, न पाईन्छ । तर सोख गर्ने नामाँ हाम्ले ग्यास चुलो जहाजाँ हालेर विदेशबाट शान दे'र मगाउँछौँ, अनि ग्यास चैँ काधाँ बोकेर होस् या डोकोमा बोकेर होस् भित्र्याउँछौँ । यतिन्जेल त ठिकै छ रे लौ । तर जुन दिन 'साहुकाँ ग्यास सिद्ध्यो' भन्ने हल्ला चल्छ त्याँदेखि सबैको कन्त विजोग भा'को मैले देख्या छुँ । रित्तो ग्यासको सिलिण्डर बोकेर यो पसल, त्यो पसल गर्दा कम्ता गारो हुन्न । बल्ल बल्ल पाइहालेपनि राउ जस्तो साउले भन्या दराँ लिनुपर्ने हुन्छ । नलेर के गर्ने, भोकै बस्नु भे', तर खल्तीको क्यास चैँ महँगो ग्यासको नाममा झ्याम । अब, यै ग्यास हाम्रै नेपालाँ ठ्वास्स पाईदे'को भे' कति सजिलो हुन्थ्यो । आफ्नो माल, आफ्नै चाल हुन्थ्यो । आफ्नै मादल, आफ्नै ताल हुन्थ्यो । अनि राष्ट्रको क्यास भनौँ तपाई हाम्रो क्यास अहिल्या̕ ठिटाहरु विदेशीएका झैँ विदेशीने त थिएन । याँ त मागी मागी छोरा बे । तर तपाई भन्नु होला नि 'ति ठिटा त एकदिन फर्किहाल्छन् नि ।' तर म के भन्छु भने 'तिनमा भ'को करेण्ट अ‍ैले देशमा चलाउन पा' पो काम लाग्छ त । ति आउने बेलाँ चाउरेर आउँछन् । हात पाखुराका मासु झोल्लिइ सक्या हुन्छ । त्यतिखेर के काम । रिटायर्ड लाईफ पो विताउँछन् त ।' त्यसकारण तिनमा भ'को करेण्ट र ग्यासमा हालेको पैसा अहिले बाहिर गयो गयो, मरे नि फर्कन्न । अनि भेन मागी मागी छोरा बे ?

हुन त कसैले मलाई 'ए दाउरे, यो ग्यास नभा भे अहिल्या जंगल रहि रहन्थ्यो' भनेर सोध्लान पनि | त्यसरी सोध्नेलाई मेरो जवाफ हुनेछ- कहिलेमात्र जंगल रहेको छ र | ग्यास बालेर जंगलको बचत त भा छ हो तर त्यो तस्कर गर्नेहरुलाईमात्र ठिक्क भा चैं खोइ दिमागमा पस्या नि ?
 नभा क्यास हाली हाली ग्यास किन्यो, जंगल बचायो, तस्करलाई ठिक्क, अनि हुन्न मन दिक्क ?

अर्को कुरा
, मोटराँ हाल्नी प्याट्रोल नि त्यस्तै त हो । तर प्याट्रोल नि हामीकाँ बन्दैन । प्याट्रोल जस्तै पानी त छ नि । दिनरात त्यो प्याट्रोलरुपी पानी कुद्या कुदै छ । तर माल पा'र चाल पा' पो हाम्रा नेताहरुले । लौ है, कुरा भाँडिन थाल्यो । सँविधान बनाउन भाँडिया जस्तो । जे होस् नेता देखि जनता सबैलाई करोडपर्ने मोटर नेपालको थोत्रो र आन्द्राजस्तो मसिनो रोडमा कुदाउनु पर्या छ । त्योपनि बेला बेलाँ प्याट्रोल नपाएर कन्त विजोग । त्यसो त करोड पर्नेमात्र किन हुन्थ्यो र, सलाईको बट्टा जस्तो दुईचार लाखाँ पाउने नि गाडी छन् केरे । जसले करोड बेहोर्न सक्दैनन् तिनले सलाई किन्छन् । तर तिनलाईपनि प्याट्रोल नभै हुन्न । सदा सर्वदा, बाह्रै महिना, बाह्रै काल गण्डकि कोशी बग्या झै प्याट्रोल नि सललल बगे पो सलाई चढे नि जिप चढे नि मज्जा आउँथ्यो । तर ह्याँ पनि मागी मागी छोरा बे । जुनदिन प्याट्रोल भन्ने अमृत सकेको खबर चल्छ, अनि ति प्याट्रोल वाहनलाई चढेर, घचेटेर, घिसारेर विरामीलाई वैद्य वाकाँ लग्या जस्तो अमृत ख्वाउन लैजानु पर्छ । अनि लामको लामो लर्को देखिन्छ । यसमा अर्को थरी पनि मिसिएको हुन्छ भटभटे । यो भट्भटे नभा त घरै छैन । जसरी अहिले नेपालाँ कुनै पनि परिवारमा विदेश नजाने घरै छैन त्यसै गरि धेरैले घराँ भटभटे पाल्या हुन्छन् । जे भे नि यि सब मोटरकार, भटभटेका रहर हुने हाम्लाई प्याट्रोलको चटारोले जतिसुकै पेलेपनि हाम्ले यो रहर छोडेका छैनौ । अनि भेन मागी मागी छोरा' बे ? पितिक्क बिरालोको मूत झैँ अलिकति प्याट्रोल जर्किनमा हालेर घर आउँदा उसले नाक घिरौँला भन्दा नि ठुलो बनाएको हुन्छ मानौँ उ सँसारलाई पछारेर आ'को छ । एकछिन अघिसम्म लाईनमा कतिचोटि पछारियो त्यसको चैँ बाल मतलब छैन ।

त्यसो त ग्यासकोमात्रै के कुरा गरम् र । अब हाम्रा बाउरामले गँडतन्त्र इस्मारक बनाउने रे किर्तिपुराँ । अनि त्यो बनाउन चैँ एक अरब एक्काईस करोड चाहिने रे । तर त्यो पैसा काँबाट आउँछ होला भन्ने हाम्लाई लाई राख्या छ । जे गर्न नि विदेशीको मुखाँ हेर्नुपर्ने हाम्ले यत्रो रकम यस्तो सुइरो झैँ खामो बनाउनलाई खर्च गर्ने रे । व्हाँ गाउँघराँ, पहाडाँ पुल नभेर तुर्लुँगमा तुर्लुँ....ग झुण्डेर मान्छेहरु आउजाउ गरिराख्या छन् । त्यै पैसाले त्याँ पुल बनाई दे कति जाति हुन्थ्यो । नभे, कति स्कूले बच्चाहरु नाममात्रको स्कूलाँ बाहिर चौराँ बसेर पढ्नु परिराख्या छ, तिनलाई त्यै चैने स्कूल बनाई दे' हुन्थ्यो । तर मागी मागी छोरा बे गर्ने हाम्रो बानी भा'कोले त्यतातिर के बुद्धि जान्थ्यो र ? उसमाथी यै स्तम्भ रत्नपार्काँ राख्ने भनेर माकुनेले उद्घाटन गर्दा 'पेरीसको आईफल टावर जस्तै बनाउ है' भनेर आदेश दि बक्स्या 'थ्यो रे । म त्याँ भैद्या भे 'ईस् खा.. पैसा नि पेरीसबाट आउँछ कि' भनेर सोध्ने थेँ । फेरी घरमा खानलाई जाईफल छैन आईफलको नक्कल गर्नुपर्ने । अनि त भनेको नि मागी मागी छोरा बे ।

यै बेलाँ मैले प्रपुले सगरमाथा चढ्ने भनेर हिन्या खबर पनि सुनेँ । बाउरामबाट दुई करोड फुत्काई सक्या 'थ्यो । बाउरामलाई नि के 'थ्यो र? आफ्नो जाने होइन । यामीको जाने होईन । दिएछन् ख्वात्तै 'लाउ, बाउ लाउ' भन्दै । नदिए बाउको बाउबाट खप्की सुन्नु पर्ने 'थ्यो क्यारे । के गर्नु, तपाई हामीले कर बलले तिरेको करको पैसा उसले रहरै रहरमा झण्डै उडाई देको थियो । त्यो त धन्न नेपालीको एकले अर्काको खुट्टा तान्ने बानी भ'को भे'र सब चिच्याएर, कराएर पैसा फिर्ता दिनुपर्यो विचराले । सर्वहारा वर्गकोलागी जिउ ज्यान फालेर लागेका बाउको त्यस्तो छोराको चाला देखेर मन उदेकमात्र होईन झण्डै हुलुक्क नि भाथ्यो मेरो । सरकारसँग लेर, बरु उल्टो सरकारलाई राजस्व नै नतिरी सगरमाथा चढ्न हिँडेका प्रपुको पारापनि मागी मागी छोरा बे भन्या झैँ भाथ्यो । बरु त्यै पैसाले सर्वहारा वर्गलाई यसो बाँड्या भे कति आशिक लाग्ने थ्यो नाई । तर के गर्नु र, बुद्धिमा बिर्को लागेपछि मागी मागी भे नि सगरमाथा चढनै पर्ने । आखिराँ नाकाँ ठोसो बोकेर फर्केछन् । भको नाक नि सिद्ध्याएर । हुन त नाकै भन्न लायकको नाक त काँ थ्यो र ? हेर्दा फुलौरा टाँस्या जस्तो ।

तपाईपनि मागी मागी छोरा बे कत्तिको गर्नुहुन्छ कोनी । गर्ने भे आफ्नो बे मागी मागी गर्नुम नि हाल्दिउँला यस्सो तपाईको ट्वाकाँ एक दुई सिक्का ट्याँगर्याँग खसालेर । तर मागी मागी छोरा बे चैँ कत्ति नगर्नुस है । सुहाउँदैन के, पटक्कै सुहाउँदैन ।

Tuesday, March 20, 2012

फेरी चेरी फुल्यो हजुर

बासु श्रेष्ठ


















फेरि चेरी फुल्यो हजुर डि सी रमाइलो
घुम्न जाऔं त्यता लौ न मौसम घमाइलो
मोनुमोण्टको छेउछाउ जेफर्सन  मेमोरियल्
मलको पारीपट्टि त्यस्तै लिङ्कन मेमोरियल्

टाईडल बेसिन वरपर ढकमक्क चेरी
तस्विर खिचौं प्रकृतिको आसन् फेरी फेरी
चिरीविरी रुखमाथि चेरीसगैं चरी
बेसिनको सिरेटोले हान्छ घरी घरी

जल छुने कोशीस गर्छ चेरी तन्किएर   
जल भने दूर भाग्छ त्यसै मस्किएर
हार खाई चेरी हेर्छ आफ्नो रुप जलमा
पल्लव झारी घुर्क्याउँछ  हर पल पलमा

जल, वायु, चेरी सबै खेल्छन् मिलीजुली
नभपनि साथ दिन्छ तालको जलमा मिली
लाग्छ सानो स्वर्गै हो कि मन मोहित पार्ने
बादलको छाँया पर्दा भिन्न भ्रममा पार्ने

मुक्त भई जाडोबाट स्वागत बसन्तको
मुक्त हाँसो फुट्छ सबको हेर्दा अनन्तको
देह खुल्यो मन खुल्यो खुल्यो नभपनि
रङ्ग चढ्यो बसन्तको चढ्यो नशापनि

फुल्छ चेरी हरेक वर्ष चाड जस्तै आउँछ
शिशिर ऋतु विदा गरी वसन्त बोलाउँछ
फेरि चेरी फुल्यो हजुर डि सी रमाइलो
घुम्न जाऔं त्यता लौ न मौसम घमाइलो…

(२००४ को नेपाली पोष्टमा प्रकाशित)