https://twitter.com/Chirvir

Tweet me @chirvir







Sunday, May 6, 2012

मागी मागी छोराऽऽऽ बे

बासु श्रेष्ठ, (उडव्रिज, भर्जिनीया)


शिर्षक पढेर तपाईले के अर्थ्याउनु भो कुन्नी मैले चैँ 'नसक्नेले बेमतलबको स्वाँग रचेर ढ्वाँग फुक्नु हो' भन्ने अर्थ्याएको छुँ । गन्हाउने सास हुनेले ल्वांग मुखमा हालेर स्वाँग पार्या झैँ हो | त्यस्तो स्वाँग पारेर के गर्नु ? बेहोर भने भ्वांग पर्या हुन्छ | यस्तो स्वाँग पार्नेलाई त हुने भए टाउकामा ट्वाँग हान्न मन लाग्छ | तर के गर्नु, स्वाँग पार्नेले पारेकै छ | अर्थात हातमा पैसा न कौडी, बजारतिर दौडी । माथीको शिर्षकलेपनि त्यै भन्छ । मागी मागी छोरा बे किन गर्नुपर्यो होला कसैलाई ? बुआरी खुसुक्क भित्र्याए त भैगो नि । ढ्वाँग फुकेरै भित्र्याउनु पर्छ र ? त्यसकोलागी दाम दुमडी नचाहिने भे त हो त नि । दाम दुमडी नि चाहिने, अनि त्यो चैँ छैन तर रहर चैँ पुरा गर्नुपर्ने रे । अनि त्यो पनि मागी मागी । अनि फेरी त्योपनि आफ्नो बे हो र ? छोराको बे । यसैले मैले भनेको हुँ 'स्वाँग रचेर ढ्वाँग फुक्नु ।'

हुन त हामी नेपालीहरु छोराको बेकोलागीमात्र काँ स्वाँग पार्छौं र ? दिव्य दृष्टिले हेर्नुभयो भने उत्तर देखि दख्खिन, पूर्वदेखि पश्चिम नेपालका हामी मनुवाहरुलाई यस्तै यस्तै रहर लागेको हुन्छ । सरकारमा बस्ने हुन् कि सडकमा बस्ने हुन्, महलमा बस्ने हुन् कि सार्वजनिक हलमा बस्ने हुन् सबैले यस्तै काँचो रहर पालेका छन् ।

नपत्याए अहिले ग्यासकै कुरा गरौँ । यो ग्यास भन्ने जिनिस न हामीकाँ बन्छ, न पाईन्छ । तर सोख गर्ने नामाँ हाम्ले ग्यास चुलो जहाजाँ हालेर विदेशबाट शान दे'र मगाउँछौँ, अनि ग्यास चैँ काधाँ बोकेर होस् या डोकोमा बोकेर होस् भित्र्याउँछौँ । यतिन्जेल त ठिकै छ रे लौ । तर जुन दिन 'साहुकाँ ग्यास सिद्ध्यो' भन्ने हल्ला चल्छ त्याँदेखि सबैको कन्त विजोग भा'को मैले देख्या छुँ । रित्तो ग्यासको सिलिण्डर बोकेर यो पसल, त्यो पसल गर्दा कम्ता गारो हुन्न । बल्ल बल्ल पाइहालेपनि राउ जस्तो साउले भन्या दराँ लिनुपर्ने हुन्छ । नलेर के गर्ने, भोकै बस्नु भे', तर खल्तीको क्यास चैँ महँगो ग्यासको नाममा झ्याम । अब, यै ग्यास हाम्रै नेपालाँ ठ्वास्स पाईदे'को भे' कति सजिलो हुन्थ्यो । आफ्नो माल, आफ्नै चाल हुन्थ्यो । आफ्नै मादल, आफ्नै ताल हुन्थ्यो । अनि राष्ट्रको क्यास भनौँ तपाई हाम्रो क्यास अहिल्या̕ ठिटाहरु विदेशीएका झैँ विदेशीने त थिएन । याँ त मागी मागी छोरा बे । तर तपाई भन्नु होला नि 'ति ठिटा त एकदिन फर्किहाल्छन् नि ।' तर म के भन्छु भने 'तिनमा भ'को करेण्ट अ‍ैले देशमा चलाउन पा' पो काम लाग्छ त । ति आउने बेलाँ चाउरेर आउँछन् । हात पाखुराका मासु झोल्लिइ सक्या हुन्छ । त्यतिखेर के काम । रिटायर्ड लाईफ पो विताउँछन् त ।' त्यसकारण तिनमा भ'को करेण्ट र ग्यासमा हालेको पैसा अहिले बाहिर गयो गयो, मरे नि फर्कन्न । अनि भेन मागी मागी छोरा बे ?

हुन त कसैले मलाई 'ए दाउरे, यो ग्यास नभा भे अहिल्या जंगल रहि रहन्थ्यो' भनेर सोध्लान पनि | त्यसरी सोध्नेलाई मेरो जवाफ हुनेछ- कहिलेमात्र जंगल रहेको छ र | ग्यास बालेर जंगलको बचत त भा छ हो तर त्यो तस्कर गर्नेहरुलाईमात्र ठिक्क भा चैं खोइ दिमागमा पस्या नि ?
 नभा क्यास हाली हाली ग्यास किन्यो, जंगल बचायो, तस्करलाई ठिक्क, अनि हुन्न मन दिक्क ?

अर्को कुरा
, मोटराँ हाल्नी प्याट्रोल नि त्यस्तै त हो । तर प्याट्रोल नि हामीकाँ बन्दैन । प्याट्रोल जस्तै पानी त छ नि । दिनरात त्यो प्याट्रोलरुपी पानी कुद्या कुदै छ । तर माल पा'र चाल पा' पो हाम्रा नेताहरुले । लौ है, कुरा भाँडिन थाल्यो । सँविधान बनाउन भाँडिया जस्तो । जे होस् नेता देखि जनता सबैलाई करोडपर्ने मोटर नेपालको थोत्रो र आन्द्राजस्तो मसिनो रोडमा कुदाउनु पर्या छ । त्योपनि बेला बेलाँ प्याट्रोल नपाएर कन्त विजोग । त्यसो त करोड पर्नेमात्र किन हुन्थ्यो र, सलाईको बट्टा जस्तो दुईचार लाखाँ पाउने नि गाडी छन् केरे । जसले करोड बेहोर्न सक्दैनन् तिनले सलाई किन्छन् । तर तिनलाईपनि प्याट्रोल नभै हुन्न । सदा सर्वदा, बाह्रै महिना, बाह्रै काल गण्डकि कोशी बग्या झै प्याट्रोल नि सललल बगे पो सलाई चढे नि जिप चढे नि मज्जा आउँथ्यो । तर ह्याँ पनि मागी मागी छोरा बे । जुनदिन प्याट्रोल भन्ने अमृत सकेको खबर चल्छ, अनि ति प्याट्रोल वाहनलाई चढेर, घचेटेर, घिसारेर विरामीलाई वैद्य वाकाँ लग्या जस्तो अमृत ख्वाउन लैजानु पर्छ । अनि लामको लामो लर्को देखिन्छ । यसमा अर्को थरी पनि मिसिएको हुन्छ भटभटे । यो भट्भटे नभा त घरै छैन । जसरी अहिले नेपालाँ कुनै पनि परिवारमा विदेश नजाने घरै छैन त्यसै गरि धेरैले घराँ भटभटे पाल्या हुन्छन् । जे भे नि यि सब मोटरकार, भटभटेका रहर हुने हाम्लाई प्याट्रोलको चटारोले जतिसुकै पेलेपनि हाम्ले यो रहर छोडेका छैनौ । अनि भेन मागी मागी छोरा' बे ? पितिक्क बिरालोको मूत झैँ अलिकति प्याट्रोल जर्किनमा हालेर घर आउँदा उसले नाक घिरौँला भन्दा नि ठुलो बनाएको हुन्छ मानौँ उ सँसारलाई पछारेर आ'को छ । एकछिन अघिसम्म लाईनमा कतिचोटि पछारियो त्यसको चैँ बाल मतलब छैन ।

त्यसो त ग्यासकोमात्रै के कुरा गरम् र । अब हाम्रा बाउरामले गँडतन्त्र इस्मारक बनाउने रे किर्तिपुराँ । अनि त्यो बनाउन चैँ एक अरब एक्काईस करोड चाहिने रे । तर त्यो पैसा काँबाट आउँछ होला भन्ने हाम्लाई लाई राख्या छ । जे गर्न नि विदेशीको मुखाँ हेर्नुपर्ने हाम्ले यत्रो रकम यस्तो सुइरो झैँ खामो बनाउनलाई खर्च गर्ने रे । व्हाँ गाउँघराँ, पहाडाँ पुल नभेर तुर्लुँगमा तुर्लुँ....ग झुण्डेर मान्छेहरु आउजाउ गरिराख्या छन् । त्यै पैसाले त्याँ पुल बनाई दे कति जाति हुन्थ्यो । नभे, कति स्कूले बच्चाहरु नाममात्रको स्कूलाँ बाहिर चौराँ बसेर पढ्नु परिराख्या छ, तिनलाई त्यै चैने स्कूल बनाई दे' हुन्थ्यो । तर मागी मागी छोरा बे गर्ने हाम्रो बानी भा'कोले त्यतातिर के बुद्धि जान्थ्यो र ? उसमाथी यै स्तम्भ रत्नपार्काँ राख्ने भनेर माकुनेले उद्घाटन गर्दा 'पेरीसको आईफल टावर जस्तै बनाउ है' भनेर आदेश दि बक्स्या 'थ्यो रे । म त्याँ भैद्या भे 'ईस् खा.. पैसा नि पेरीसबाट आउँछ कि' भनेर सोध्ने थेँ । फेरी घरमा खानलाई जाईफल छैन आईफलको नक्कल गर्नुपर्ने । अनि त भनेको नि मागी मागी छोरा बे ।

यै बेलाँ मैले प्रपुले सगरमाथा चढ्ने भनेर हिन्या खबर पनि सुनेँ । बाउरामबाट दुई करोड फुत्काई सक्या 'थ्यो । बाउरामलाई नि के 'थ्यो र? आफ्नो जाने होइन । यामीको जाने होईन । दिएछन् ख्वात्तै 'लाउ, बाउ लाउ' भन्दै । नदिए बाउको बाउबाट खप्की सुन्नु पर्ने 'थ्यो क्यारे । के गर्नु, तपाई हामीले कर बलले तिरेको करको पैसा उसले रहरै रहरमा झण्डै उडाई देको थियो । त्यो त धन्न नेपालीको एकले अर्काको खुट्टा तान्ने बानी भ'को भे'र सब चिच्याएर, कराएर पैसा फिर्ता दिनुपर्यो विचराले । सर्वहारा वर्गकोलागी जिउ ज्यान फालेर लागेका बाउको त्यस्तो छोराको चाला देखेर मन उदेकमात्र होईन झण्डै हुलुक्क नि भाथ्यो मेरो । सरकारसँग लेर, बरु उल्टो सरकारलाई राजस्व नै नतिरी सगरमाथा चढ्न हिँडेका प्रपुको पारापनि मागी मागी छोरा बे भन्या झैँ भाथ्यो । बरु त्यै पैसाले सर्वहारा वर्गलाई यसो बाँड्या भे कति आशिक लाग्ने थ्यो नाई । तर के गर्नु र, बुद्धिमा बिर्को लागेपछि मागी मागी भे नि सगरमाथा चढनै पर्ने । आखिराँ नाकाँ ठोसो बोकेर फर्केछन् । भको नाक नि सिद्ध्याएर । हुन त नाकै भन्न लायकको नाक त काँ थ्यो र ? हेर्दा फुलौरा टाँस्या जस्तो ।

तपाईपनि मागी मागी छोरा बे कत्तिको गर्नुहुन्छ कोनी । गर्ने भे आफ्नो बे मागी मागी गर्नुम नि हाल्दिउँला यस्सो तपाईको ट्वाकाँ एक दुई सिक्का ट्याँगर्याँग खसालेर । तर मागी मागी छोरा बे चैँ कत्ति नगर्नुस है । सुहाउँदैन के, पटक्कै सुहाउँदैन ।

Tuesday, March 20, 2012

फेरी चेरी फुल्यो हजुर

बासु श्रेष्ठ


















फेरि चेरी फुल्यो हजुर डि सी रमाइलो
घुम्न जाऔं त्यता लौ न मौसम घमाइलो
मोनुमोण्टको छेउछाउ जेफर्सन  मेमोरियल्
मलको पारीपट्टि त्यस्तै लिङ्कन मेमोरियल्

टाईडल बेसिन वरपर ढकमक्क चेरी
तस्विर खिचौं प्रकृतिको आसन् फेरी फेरी
चिरीविरी रुखमाथि चेरीसगैं चरी
बेसिनको सिरेटोले हान्छ घरी घरी

जल छुने कोशीस गर्छ चेरी तन्किएर   
जल भने दूर भाग्छ त्यसै मस्किएर
हार खाई चेरी हेर्छ आफ्नो रुप जलमा
पल्लव झारी घुर्क्याउँछ  हर पल पलमा

जल, वायु, चेरी सबै खेल्छन् मिलीजुली
नभपनि साथ दिन्छ तालको जलमा मिली
लाग्छ सानो स्वर्गै हो कि मन मोहित पार्ने
बादलको छाँया पर्दा भिन्न भ्रममा पार्ने

मुक्त भई जाडोबाट स्वागत बसन्तको
मुक्त हाँसो फुट्छ सबको हेर्दा अनन्तको
देह खुल्यो मन खुल्यो खुल्यो नभपनि
रङ्ग चढ्यो बसन्तको चढ्यो नशापनि

फुल्छ चेरी हरेक वर्ष चाड जस्तै आउँछ
शिशिर ऋतु विदा गरी वसन्त बोलाउँछ
फेरि चेरी फुल्यो हजुर डि सी रमाइलो
घुम्न जाऔं त्यता लौ न मौसम घमाइलो…

(२००४ को नेपाली पोष्टमा प्रकाशित)

Sunday, March 4, 2012

कुरा के हो ?


विश्वपरिक्रमाको गताँकमा आनन्दराम पौडेलको चिन्तन मनन स्तम्भअन्तर्गत प्रकाशित एक लेख पढदै जाँदा म नराम्ररी झस्किएँ र झस्किएको छुँ र कुरा प्रष्ट नभएसम्म झस्किई रहनेछु । लेखमा भनिएको थियो आनन्दजीका केहि साथीहरु जलेश्वर महात्तरी गएका रहेछन् । र ति जाने साथीहरुले नेपालको भूभागमा रहेको विजुलीका खम्बा खम्बामा भारतीय झण्डा फहराएको देखेछन् । अझ जनकपुर उद्योग वाणिज्य महासँघको कार्यालयमा नै अग्लो झण्डा पोलमा भारतीय झण्डा फहराएको देखेछन् । (यो लेख लेखुन्जेल मैले आनन्दजीसँग सम्पर्क तथा चिनाजान गरेर यसबारेमा बुझ्दा झण्डै दुईमहिना पहिला वहाँका साथी घुम्न गएको बेला देखेका रहेछन् । तर यस्तो सम्वेदनशील विषय किन मिडियामा आएन भन्ने कुराले मलाई घच्घच्याई रहेको छ)
Affiliate Program ”Get Money from your Website” जनकपुरमा मैले सोह्रवर्षसम्मका अधिकाँश भाग बिताएको छुँ । भनौँ म त्यहिँ हुर्केको हुँ । स्कूलकासाथीहरु को कहाँ छन् थाहा छैन तर जनकपुरसँग मेरो आत्मियता रहेको छ । त्यहिँ हुर्केको हुनाले कतिपटक मपनि जनकपुरबाट जलेश्वर हुँदै भारत गएको छुँ । मलाई प्रष्ट नभएपनि अलि अलि त्यस क्षेत्रको सम्झना आयो । दुबैतिर खेतै खेतको विचबाट दुगरेको सडकमा विजुलीका पोलहरु थिए । ति पोलहरु कतिवटा छन् भनेर यात्राको क्रममा गनेकोपनि छुँ । भलै दश एघार पुगेपछि गन्ने काम बन्द हुन्छ । जे होस ति पोलहरुमा अहिले झण्डा त्योपनि भारतको फहराएको छ भन्दा देश साँच्चिकै गैसकेको रहेछ भन्ने लाग्यो यदि यो कुरा साँचो हो भने । अझ सिमाना नजिकका ति बिजुलीका पोलमा फहराईनुको अर्थ के हुन सक्छ ? के यस्तो घटना त्यसै क्षेत्रमामात्र हो या सम्पुर्ण सिमाना क्षेत्रमा यस्तै छ ?
के आनन्दजीले त्यस लेखमा बकवास गर्नुभएको हो ? या वहाँलाई घुमेर आउने ति साथीहरुले बकवास सुनाएका हुन् ? कुरा पत्याई नसक्नु छ तर असम्भवपनि छैन जस्तो लाग्छ बितेका घटनाक्रमहरु हेर्दा । किनभने मधेशवादीहरु भनाउँदाहरुले गरेका बोलेका व्यवहारहरु समाचारमा पढेकै हो, सुनेकै हो । मधेश विरोधमा उठ्ने औला काटिईने धम्की होस् या तीन महिनाभित्र तराई नेपालबाट छुट्टिने भनाईका धम्की होस् । अझ त्योपनि बहालवाला मन्त्रील समेत बोल्नुको पछाडि यिनिहरुको बकवास हो भन्न सकिन्न । कसैको आड या भरोसा नपाए राष्ट्र् विखण्डित गर्ने कुरा यसरी खुलेर बोल्ने हिम्मत गर्ने थिएनन् होला भनेर कसरी आशँका नगर्नु ? त्यसमाथि यस्तैहरुको काँध चढेर बनाएको सरकारले त्यस्ता राष्ट्र् विरोधी वक्ताहरुलाई कारवाहीको कुनै छनक समेत नदिनु जस्ता घटनाले उनिहरुमा हिम्मत बढेको छ भनेर कसरी नभन्नु ?
Affiliate Program ”Get Money from your Website” ईन्दिरा गान्धिले भारतको प्रभाव बढाउन र नेपाललाई कमजोर बनाउन त्यहाँको जातियतामा हात हाल्नुपर्छ भन्ने बुझेर गोर्खा सैनिकका कुनै रिटायर्ड एक गुरुँग र गुरुँगजस्ताहरुलाई दिल्ली बोलाएर मन्त्र पढाएको निकैवर्षपछि माओवादीले जातियतालाई उरालेर अहिले देश मानसिक ढँगबाट विखण्डनमा गई सकेको छैन भनेर कसरी भन्नु ? हेर्नुहोस् http://aa.59.78ae.static.theplanet.com/nepal/article/?id=1263

जस्तोसुकै प्रजातान्त्रिक मुलुक होस् या तानाशाहि मुलुकमा होस् देश विखण्डनको माग पूर्णतया राष्ट्र्घातीको रुपमा लिईन्छ । सँसारकै सबैभन्दा ठुलो प्रजातान्त्रिक मुलुक भारतमै पञ्जावकोलागी छुट्टै राज्यकोे माग होस् या विश्वका अन्य कुनैपनि कुनामा यस्तो माग चलेको होस् लाई निरँकुशताकासाथ दबाइएको छ । यहाँ निरँकुशताको अर्थ रक्षात्मक दृष्टिले भनिएको हो । हुन त नेपालमा छुट्टै राज्यको माग लिएर कुनै हतियार उठेका त छैनन् तर भौगोलिक परिस्थितिले गर्दा हतियार नै नउठाई यसलाई पुरा गर्न नसक्लान् भन्ने पनि छैन ।
मञ्चु्रियामा जापानले आधिपत्य जमाउन दशौँ वर्ष लगाएर जापानी सेना या जासुुसहरु हजामको रुपमा पसे । जब सबै परिस्थिति आफ्नो अनुकूल भयो तब जापानले मञ्चुरिया उपर हमला गर्याे । यथेष्ट सँख्यामा जापानीहरु त्यहाँ भैसकेकोले मञ्चुरियाको केहि लागेन र सजिलै जापानको अधिनमा पुग्यो ।
लेण्डुपहरु छैनन । अहिलेको काल, समय र परिस्थितिले लेण्डुप बन्न र बनाउन सजिलो छैन । तर लेण्डुप प्रवृत्ति भने विभिन्न रुप लिएर हाम्रै वरपर घुमिरहेका छन् भन्ने अनुभुति हुन्छ । कतै यसैको परिणति त होईन नेपालको भूभागमा विदेशी झण्डा विना कारण फरफराई रहेको ? आखिर कुरा के हो ?

Monday, February 20, 2012

यो बाबुराम यस्तै गर्छ !

बासु श्रेष्ठ
उडव्रिज, भर्जिनीया

फेब्रुअरी १३ का दिन वासिँगटन स्थित नेपाली दुतावासबाट महामहिम राजदुत शँकर शर्माको तर्फबाट सदा झैँ निम्ताको एउटा ईमेल आयो । प्रसँग थियो ६२ औँ प्रजातन्त्र दिवसको उपलक्ष्यमा राजदूत निवासमा हरेक वर्ष झैँ प्रजातन्त्र दिवस मनाउने । अघिपछि ईमेलसँगै फोनबाटपनि निम्ता आउँथ्यो आरएसभिपीकोलागी । सदा झैँ यसपाली पनि जाने मनसुवा बनाएको थिएँ । प्रजातन्त्र दिवसको निहुँमा महामहिम राजदुत, साथीभाई लगायत दुतावासका अन्य कर्मचारी मित्रहरुसँगपनि भेटघाट हुने यो राम्रो अवसर थियो । अन्य केहि मित्रहरुसँगपनि त्यतै भेटौँला भन्ने कुरा भएको थियो । सोमवार परेकोले अफिसको काम सकेर सरासर दुतावास जाने योजना मनमनै बनाएको थिएँ । प्रजातन्त्र दिवस मनाउने दिन चाहिँ फेब्रुअरी २० का दिन बेलुकी ६.३० देखि १०.०० सम्म भनिएको थियो ।

ईमेल आएको ठिक सातौँ दिन अर्को ईमेल आयो र भनिएको थियो पूर्व निर्धारित कार्यक्रम रद्ध गरिएको छ । साथै यसबाट पर्न गएको असुविधाप्रति क्षमा याचना पनि गरिएको छ । त्यस्तै फेब्रअरी १९ कादिन झण्डै एक बजे अपरान्ह पनि दुतावासका कर्मचारी मित्र उद्धवजीलेपनि कार्यक्रम रद्ध गरिएको बारे म्यासेज मेरो भ्वाईस मेलबक्समा छोड्नु भएको रहेछ । उद्धवजीलाई मौखिक रुपमा म्यासेजकोलागी धन्यवाद भन्न नपाएकोले यहाँ 'धन्यवाद' भन्न चाहन्छु ।

जे होस् अचानक मनमा केहि प्रश्नहरु उठे । के कारण परेछ त्यस्तो पूर्व निर्धारित कार्यक्रम रद्ध गरिनुपर्ने ? 'पक्कै महामहिमको अमेरिकी सरकारका पदाधिकारीहरुसँग कुनै महत्वपूर्ण बैठकको टुँगो लाग्यो होला' मनमनै सोचेँ । त्यसका अलावा स्थानिय सँस्थाका कार्यक्रमहरुमा आँखा घुमाउँदै जाँदा सोहि दिन बेलुका ल्यानहयाम मेरील्याण्ड स्थित नेपालीहरुको मन्दिरमा महाशिवरात्रीको अवसरमा पुजा आजाको कार्यक्रम राखिएको रहेछ । मेरो घैँटोमा छ्याँग घाम लाग्यो । ए...यो पो कारण रहेछ । मलाई दुतावासप्रति अपार थप श्रद्धा जाग्यो । महामहिमलाई मनमनै धन्यवाद दिएँ । स्थानिय समुदायसँग कत्रो प्रेम र अनुराग । महामहिमको समुदायमा हुने र भैरहेका विभिन्न सक्रिय सँलग्नतालाई यसले थप बल दियो भन्ने ठानेँ ।

Affiliate Program ”Get Money from your Website” तर यो भ्रम धेरै बेर टिकेन । कुरा अर्कै रहेछ । यो कार्यक्रम त नेपाल सरकारको निर्देशनमा पो रोकिएको रहेछ । ६१ वर्षदेखि निरन्तर मनाईँदै आएको प्रजातन्त्र दिवस हठात रोकिएको रहेछ । न कुनै योजना, न कुनै पूर्व सूचना । जब जब यसबारेमा थप समाचार पढ्न सुन्न पाईयो मनमा अनेक प्रश्नहरु उब्जिए स्वभावतः । यसैक्रममा प्रधानमन्त्रीले प्रतिपक्षी दलहरुलाई जवाफ समेत दिनुपरेको भन्ने समाचारपनि पढियो । प्रधानमन्त्रीले ति दलहरुलाई “कुन दिनलाई राष्ट्रिय दिवस मनाउने भन्ने बारे विवाद रहेको र त्यसको निर्क्यौल नभएसम्मकोलागी प्रजातन्त्र दिवस नमनाएको” भन्ने जवाफ दिए रे ।

Affiliate Program ”Get Money from your Website” विवादित कतिपय कुरालाई स्थगन गरिनु पर्छ भन्ने सोच रहेको मेरो मस्तिष्कले समेत यस कुरामा सकारात्मक बन्न सकेन । त्यो के भने यो प्रजातन्त्र हिजो या पोहोर या परारमात्र मनाउन थालिएको होईन । यो त विगत ६१ वर्षदेखि निरन्तर चल्दै आएको परम्परा हो । राष्ट्रिय दिवसको बारेमा विवाद छ- हो । प्रजातन्त्र दिवस र यसभन्दा निकै कान्छो लोकतन्त्र तथा गणतन्त्र दिवसका विच कुनलाई राष्ट्रिय दिवस मान्ने भन्ने कुरामा निर्क्यौल भएको छैन । तर विवाद छ भन्दैमा यति लामो परम्परालाई ठुनुक्कै पार्नुहुँदैन थियो भन्ने यो मेरो सानो मगजमा खेलिरह्यो । 'यो बाबुराम यस्तै गर्छ' भन्दै यिनि अर्थमन्त्री रहँदाको सँस्कृति र चाल चलनप्रतिको व्यवहार सम्झन पुगेँ । तर तिनि त्यतिखेर असफल भएका थिए । ति निर्णयहरु फिर्ता लिइएको थियो । तर यसपटक त्यस्तो केहि हुन पाएन । प्रजातन्त्र दिवस नमनाउने आकस्मिक निर्णय गरियो, प्रतिपक्षीहरुले विरोध गरे । खत्तम । त्यसो भए के अब प्रजातन्त्र दिवसको अवसान भएकै हो त ? आउँदो वर्ष के हुन्छ? तर यसो नगरी पूर्व नियोजित ढँगबाट र सर्व सम्मत ढंगबाट रोकिएको भए बाबुराम भट्टराईले विरोध खप्नु पर्ने थिएन कि ? यसैगरी विदेशमा रहेका सम्पूर्ण दुतावासहरुले गरेका निम्ताह रद्ध गर्दै निम्तालुहरुसँग परेको असुविधाप्रति क्षमा याचना गर्नु पर्ने थिएन कि ? अनि मन मनै भनें " यो बाबुराम यस्तै गर्छ |"