बासु श्रेष्ठ
अमेरिका
अनेक शँका उपशँकाको बावजुद देश आखिर चुनावमय नै भएको छ । सारा नेता देखि कार्यकर्ता हेलिकप्टर, मोटर, मोटरसाईकल, साईकल अनि रिक्सा चढेर भोट मागेपछि अहिले देश विशाल यात्रा थाल्नुअघि मनग्गे आराम गरेजस्तो शान्त रहेको छ । यस्तो अवस्थामा अब चुनाव रोकिँदैन भनेर सबै ढुक्क भएका छन् । अब यो चुनाव भएरै छोड्छ र देशले तिब्र गति लिनेछ भन्ने बलियो आशा सबैमा पलाएको हुनुपर्छ । सँविधान सभाको चुनाव आफैँमा अपूर्व हो तर झन दोश्रो पटक चुनाव हुने भनेको त आश्चर्यकै रुपमा लिईनु पर्छ ।
तर अलिअलि शँका उपशँका अझै बाँकि नै छन् । विरोधको कारणले अन्तिम घडीमा चुनाव रोकियो भन्ने मात्र सूचना जारी गरियो भने के होला? देश कतातिर जाला? भन्ने प्रश्नले कतिलाई दिग्भ्रमितपनि बनाई रहेको होला । किनभने बैद्य बा अझैपनि बम आतँकमा लागीरहेका छन् र निरपराध व्यक्तिहरुको हत्या गर्न या घाइते बनाएर चुनाव विथोल्न उद्यत भएकाछन् । तर जनता, दल र सरकारको मुडचाहिँ चुनावोन्मुख नै भईसकेको छ भन्ने कुरा छर्लँग देखिन्छ । अर्को कुरा देश आस्थाको बन्दि बनेको धेरै भईसक्यो । यसरी देश कहिल्यै अगाडि बढ्दैन भन्नेमा नेपाली जनताले राम्रोसँग बुझिसकेका छन् र कुनै एकदलको विरोधमा अब देशलाई रोक्न तयार छैनन् । अपितु शतप्रतिशत दलहरुलाई साथ लिएर चुनाव भएको भए त्यो अझ सुखद हुनेथियो । यो दुखद पक्ष हो । तर बसमा एक दुई सिट खाली छ भन्दैमा लामो दुरीको बस रोकी राखे गन्तव्यमा कहिल्यै पुगिँदैन । अहिलेको अवस्थालाई यसैगरी बुझे हुन्छ ।
२००७ सालमा त्रिभुवनले वचन दिएको सँविधान सभाको सपना २०१७ मा नै तुहिएको थियो । त्यसपछिका विभिन्न आन्दोलनहरु हुँदै माओवादी आन्दोलन र ठुलो रक्तपातपछि नेपालीले परिवर्तनको रुपमा पाएको पहिलो सँविधान सभाको चुनावमा बडो उल्लासकासाथ सहभागी भएका थिए । पहिलो चुनाव २०६४ चैत्र २८ मा भएको थियो । तर दुर्भाग्य माल पाएर चाल नपाएका दलका नेताहरुले त्यस अपूर्व सँविधान सभाको उदेश्य पुरा नै नगरी आपसी कलहमा त्यसको विसर्जन गरिदिए । त्यसैले केहि व्यक्तिहरुमा पहिलेकोजस्तै हुने हो कि भन्ने सँशय र निराशाको केहि पाटोले छोपेकोपनि पाईन्छ । त्यसमाथि बैद्य दलहरुको आतँकको एकपाटोलेपनि सर्वसाधारणलाई शँकाको बादलले छोपेको पाईएको छ । तापनि विरलै हुने सँविधान सभाको चुनाव त्योपनि दोश्रोमा सहभागी हुन अधिकाँश नेपालीहरु हौसिएका नै देखिएको छ । त्यसकारण यस चुनावकोलागी देखिएको जागरुकताको तुलनामा नैराश्यता न्यून नै छ भन्दापनि हुन्छ ।
केहि त्रास र व्दिविधामा रहेका मतदाताहरुलाई मतदानको पक्षमा ल्याउन विरोधीपक्षहरुलाई कारवाहि गरेर सरकारले आफ्नो उपस्थिति देखाउनै पर्छ । त्यस्तै अन्य दलहरुलेपनि त्यस्तो विरोधको प्रतिकार गरेर मतदाताहरुको मनोबल बढाउने काम गरे सहभागितामा सजिलै वृद्धि हुनेछ ।
हुन त यो सँविधान सभाको चुनाव रोक्न बैद्य दलहरुमात्र होईन अन्य वादहरुपनि चाहन्छन् भन्ने पाईएको छ । अनलाईनमा भेटिएको एक विद्वान व्यक्ति यो सँविधान सभा भारतको डिजाईन अनुसार भएकोले ’यो चुनाव रोकिनु पर्छ’ भन्ने तर्क गर्दैथिए । मैले उसो भए बैद्यहरुले गरेको विरोध ठिक हो त भनेर सोद्धा उनले कुरा अन्तै मोड्दै तिनका कुरा अर्कै हो भन्थे । फेरी भारतले यो सँविधान सभा मार्फत एक तराईको मुद्धा बनाएर नेपाललाई टुक्र्याउने योजना रहेकोपनि बताए । मैले फेरी त्यसो त सबै मधेसी दलहरुले दुई मधेसको घोषणा पत्र ल्याएका छन् त (मैले जानेबुझे अनुसार) भनेर उल्लेख गर्दा उनले तिनिहरुलाई विश्वास गर्न नसकिने भन्ने बताए र च्याटबाट अलप भए ।
भनाईको तात्पर्य सँविधान सभाको चुनाव नहोस् भन्नेमा नेकपा माओवादीमात्र होईन अन्य केहि अन्य वादीहरुपनि चाहन्छन् । तर यो अभिष्ट पुरा हुने चाहिँ देखिन्न । अब मुलुकले चुनावको बाटोमा गाडि राखिसक्यो र त्यसका यात्रु नेपाली जनता तथा दलहरुका नेता र कार्यकर्ताहरु त्यस गाडिमा सवार भईसकेका छन् र ईन्जिन स्टार्टपनि भैसक्यो । अब स्टियरिँग समातेर एक्स्लेटर थिच्नमात्र बाँकि छ जुन भोली मँसिर ४ मा हुँदैछ ।
अब को निचोड के हो भने सँविधान सभाको यो निर्वाचनमा कुन दलले हार्यो या कुन दलले जित्यो भन्ने होईन कि राष्ट्र्ले हार्यो कि जित्यो भन्ने प्रश्नलाई मूल मुद्धा बनाएर सँविधान निर्माण गर्नेतर्फ लाग्नु सबै दलको बुद्धिमत्ता ठहरिने छ । कुरा के पक्का छ भने जनताले कुनैपनि दललाई बहुमत नदिई सबै मिलेर समस्या समाधान गर्नु भन्ने सन्देश दिनेछन् र यसैलाई सबै दलहरुले शिरोधार्य गरेर देशलाई अगाडि बढाउन् भन्ने हाम्रो कामना छ ।
https://twitter.com/Chirvir
Tweet me @chirvir
Monday, November 18, 2013
Wednesday, September 18, 2013
Monday, September 16, 2013
अमेरिकी राजनितिमा नेपाली?
बासु श्रेष्ठ
उडव्रिज, भर्जिनीया
प्रसँग हो सेप्टेम्बर १५ कादिन स्थानिय एक रेष्टुराँमा भर्जिनीया राज्यको वर्तमान महान्याधिवक्ता तथा रिपब्लिकन पार्टीतर्फका भर्जिनीयाको गभर्नर पदका प्रत्यासी केन कुचिनेली तथा नेपाली समुदायको भेटघाट । अमेरिकामा नेपालीहरुको बसोबासमा उल्लेखनीय वृद्धि भएसँगै माथि भनिएजस्तै आकाँक्षाहरुलाई सम्बोधन गर्ने क्रममा भएको यो भेटघाट उल्लेखनीय तथा महत्वपूर्ण रहेको यस पँक्तिकारले अनुभव गरेको छ ।
श्रीधर कँडेलको सक्रियतामा रिपब्लिकन पार्टीका केन कुचिनेलीलाई नेपाली समुदायको विच परिचय गराउने तथा उनको चुनावको प्रचार प्रसारकोलागी ल्याउने काम भयो । यो असाध्य महत्वपूर्ण कार्य हो । गभर्नर पद राज्यकोलागी एक प्रमुख पद हो भने महान्यायधिवक्ता पदपनि उत्तिकै शक्तिशाली तथा महत्वपूर्ण हुन्छ । त्यसकारण यस्तो महत्वपूर्ण पदमा रहेका तथा त्यसभन्दा माथिको पद गवर्नर पदका प्रत्यासी केन कुचिनेली अल्पसँख्यक नेपाली समुदायमा आउनु दुबैकोलागी 'विन विन' अवस्था हो भन्दा अतिशयोक्ति नहोला ।
माथि नै भनिए झैँ दिनदिनै बृद्धि हुँदै गएको नेपालीको सँख्याले अब अमेरिकाको राजनितिमा आफ्नो स्थान खोज्ने अवस्था आईसकेकको छ पनि । अब कुनै न कुनै राजनैतिक दलहरुसँग सम्बन्ध राखेर आफ्नो अस्तित्वको जगेर्ना र पहिचान जमाउने बेला आईसकेको छ । अर्थात नेपालीहरुलेपनि अमेरिकी राजनितिमा आफुलाई एक्स्पोज गर्ने बेला आईसकेको छ । त्यसै अनुरुप रिपब्लिकन दलसँग आबद्धता जनाई त्यस दलका केन कुचनेलीलाई नेपाली समुदाय माझ ल्याइएको हो । कसैले यहाँ यो दल र त्यो दल भनेर नाक खुम्च्याउनु पर्ने या फुलाउनु पर्नेपनि म देख्दिन । मूलतः आफ्नो सामुदायिक स्वार्थलाई अगाडि बढाउन सके त्यो नै फलदायी ठहरिन्छ । चाहे त्यो अमेरिकाको जुनसुकै दल होस् ।
त्यसो त दलप्रतिको आस्था व्यक्ति व्यक्तिमा भरपर्छ । तरपनि मलाई के लाग्छ भने केहि औंलामा गन्न सकिने बाहेकका नेपालीहरु स्विँग भोटर हुन् र तिनलाई यसैका रुपमा मैले हेर्ने गरेको छुँ । त्यसकारण कुनै विशेष दलको सदस्यता नलिई जुन दलको एजेण्डा राम्रो र भरपर्दो छ र विश्वासिलो छ उसैलाई भोट दिनेमा नेपालीहरु पर्छन् भन्ने मैले अनुमान गरेँ भने मैले गल्ति गरेको छुँ भन्ने बोध नहोला । त्यसैगरी डेमोक्र्याटिक पार्टीको सदस्यता लिएर या नलिएरपनि त्यस दलकोलागी स्वयँसेवक कार्य गर्ने नेपालीपनि यस भेग लगायत अन्य राज्यमापनि नदेखिएका होईनन् । यसै परिप्रेक्ष्यमा अमेरिकी राजनीतिमा होमिएका नेपाली मूलका दर्शन रौनियार एक ज्वलन्त उदाहरण हुन् |
आजको यस कार्यक्रममा केन कुचिनेलीले नेपाली समुदायप्रति देखाएको सद्भाव र उनले भोटकोलागी गरेको आशा नेपाली समुदाय अमेरिकी राजनितिमा परिचित बन्दै गएको लक्षण हो । यो हाम्रोलागी खुशीको कुरा हो । त्यसो त हालसालै डेमोक्र्याटिक दलका केहि उम्मेदवारहरुपनि नेपाली समुदायमा आएर केहि कार्यक्रम गरेको फेसबुकका केहि पेजमा नदेखिएको होईन । तर सार्वजनिक पदमा बहाल रहेका र गवर्नर पदकै प्रत्यासी नेपाली समुदायमा आउनु मैले कोशे ढुँगाको रुपमा लिएको छुँ । यो कोशेढुँगा पार गर्दा अबका हाम्रा सन्ततीहरुकोलागी आफ्नो परिचय सहित यहाँको मूल धारमा प्रवेश गर्न सजिलो भएको छ या भविष्यको बाटो सुगम हुनेछ भन्ने आशा गर्न सकिन्छ ।
भेटघाट कार्यक्रममा आफ्ना मन्तव्यपछि भर्जिनीयालाई आईटि क्षेत्रमा कसरी अगाडी बढाउने सम्बन्धमा, कडा बन्दुक कानुन तथा भर्जिनीया सरकारले नेपाली जस्तो अल्पसँख्यक समुदायलाई रोजगारी तथा व्यवशायकोलागी कसरी सहयोग गर्नेछ भन्ने सम्बन्धमा, शिक्षा सम्बन्धमा, नेपालको राजनितिमा उनको हुनसक्ने भूमिकाका सम्बन्धमा, यातायात सम्बन्धमा, अबैध आप्रवासीहरुलाई प्रदान गरिने भनिएको एम्नेष्टिका सम्बन्धमा लगायतका प्रश्नका जवाफ दिएका थिए ।
गोविन्द गिरी, बासु श्रेष्ठ, रामप्रसाद बस्याल, मेदिनी अधिकारी लगायत अन्यहरुबाट सोधिएका प्रश्नको जवाफ दिएका थिए । यसैगरी केन कुचिनेलीको चुनावी कार्यक्रमलाई केहि व्यक्तिले आर्थिक सहयोगपनि गरेका थिए ।
Subscribe to:
Posts (Atom)

