https://twitter.com/Chirvir

Tweet me @chirvir







Thursday, November 1, 2012

स्याण्डीले ल्याएको बाढी र गौरको बाढी

basu
बासु श्रेष्ठ
टिभीमा स्याण्डी हरिकेनको कारणले हेर्दा हेर्दै पानीको सतह बढेको देख्दा २०३६ सालमा आफैंले भोगेको एउटा घटनाको सम्झना भयो |
गौर, रौतहट, २०३६ आषाढ मसान्तको दिन | राष्ट्रिय वाणिज्य बैंकको खाताबन्दिको दिन | बेलुका सम्पूर्ण कर्मचारीहरु खातावंदिको काम सकेर पार्टी हुने गर्छ | त्यसदिन पकाउने जिम्मा लिनेहरु पकाई रहेका हुन्थे भने हामी खातावंदी सम्पन्न गरेर पार्टीकोलागी तयारीमा थियौं | दिनभर पानी परि रहेको थियो मूसलधार | वार्षिक नाफा नोक्सानको काम सकेर हामी बाहिरका निम्तालुहरु सहित मिलेर बेलुका पार्टीको रमाइलो गर्न थाल्यौं | बाहिर मूसलधार पानी | भित्र भोज, भतेर र जाँड पानीको रमाइलो | तर अतिवृष्टि र बाढीको आशंकामा पार्टी छोट्याईयो | तै पनि रातको ११ बजि सकेको थियो | अफिसबाट बाहिर सडकमा निस्कँदा पानी कुर्कुच्चा डुबाउने भइ सकेको थियो | संधै हिंड्ने बाटो भएकोले पानीमाथि पनि सजिलै टेक्दै घर पुग्दा सबै जना सुति सकेका थिए | त्यसैले एउटा तन्ना लिएर पिंडीमा भएको खाटमा सुत्ने तरखर गरेँ | तर अविरल वर्षात र आसन्न बाढीको आशंकाले तुरुन्तै निदाउन भने सकेको थिइनँ | पानीको सतह भने कुर्कुच्चा माथि पुगी सकेको थियो | स्मरण रहोस् तराइमा गर्मी हुने भएकोले सबैको घरमा एउटा न एउटा खाट राखिएको हुन्छ ताकि साँझ बिहान त्यसमा बसेर भलाकुसारी गर्न सकियोस |
गौर बजारको एकातिर बागमती नदि र अर्को तर्फ बकैया नदि छ | अनि ति दुवै नदीमा भारतले आफ्नो तर्फ बाँध बनाएको र आफु खुशी पानी छोड्ने/नछोड्ने गर्ने गरेकोले त्यहाँ वर्षेनी वर्षातको समयमा बाढी आउने भएकोले गौरका घरहरु (हुने खानेहरुको) प्रायश अग्लो बनाइएको हुन्छ | जमिनको सतहबाट झन्डै ४-५ फिट अग्लो हुन्छ | त्यस्तै म बसेको यो घरपनि अग्लो थियो |
तन्नाको भरमा खाटमा एकछिन निदाए पनि बिउँझेर हेर्दा पानीको सतह अलिकति माथि बढेको थाहा हुन्थ्यो | यो भन्दा बढी नभए हुन्थ्यो भन्ने कामना गर्दै आँखा झिमिक्क लागेपनि फेरी बिउँझदा सतह पहिलेको भन्दा माथि भइ सकेको हुन्थ्यो | अहिले टिभीमा प्रत्यक्ष प्रसारण हेरे जस्तो | मन ढक ढक गर्थ्यो | रोक्ने उपाय केहि थिएन सिवाय चिताउनु बाहेक | तर रातभर अविरल पानी पर्दै रह्यो | पानी पर्दै रह्यो, बाग्मती र बकैयामा पानीको मात्रा बढ्दै रह्यो र त्यो पोखिएर गौर बजारमा फैलँदै गयो र म बसेको घरको पिंडिमा पनि पस्न दुइ इन्च बाँकी रह्यो |
त्यस रीतले परेको पानी विहानी पख रोकियो | गौर बजारको सडक जलमग्न भइ सकेको थियो | वरपर रहेका पोखरी र बाटो सरावर भयो | कता बाटो, कता पोखरी, कता खाल्डो कता खुल्डी | ट्युववेल धाराको टुप्पी मात्र देखिन्थ्यो | तल्लो तहमा बनेका घरहरुको आधा पर्खाल पानीले भिजाई सकेको थियो | आँखाले भ्याएर देखेसम्म जताततै जलमग्न देखिन्थे | घरका छाना, अग्ला वस्तुहरु सामुद्रिक टापु जस्ता देखिन्थे |
बिहान भए पछि अफिस त जानै पर्यो | सानो ठाउँ भएकोले दश पन्ध्र मिनेट हिंडे पुगिने ठाउंमा अफिस थियो | तर सधैं हिंडी रहेको बाटो पानीले छोपिएर जलमग्न भए पनि पानीमा हेलिँदै बाटो हिँड्न कुनै समस्या भने परेन | पानीको सतह भने छाति सम्म आउने थियो | सधैं पाइन्ट शर्टमा अफिस जाने बबुरोले तराईमा चल्तीमा रहेको लुंगी र गन्जी लगाएर हातमा एउटा लठ्ठी लिएर पानीमा हेलिँदै अन्दाजको भरमा पाइला चाल्दै अफिसतिर लागियो | दुलो दुलोमा पानी छिरे पछि सर्प, भ्यागुताहरुपनि ज्यान रक्षाकोलागि पानी पानी दौडी रहेका देखिन्थे भने कति पटक त्यस्ता सर्पहरु सुलुलुल्लु बगेर आफ्नै अगाडी आइ पुग्थे | त्यसैबेला हातमा भएको लठ्टीले सर्पको टाउकोमा स्वाँ…ट हिर्काएर धपाईन्थ्यो | जस्तो सुकै विषालु सर्पले पनि पानीमा टोक्न सक्दैन भन्ने भनाइ सुनेकोले डर मान्नु पर्दैनथ्यो | तरपनि सर्प भनेको सर्प नै हो | लट्ठीको चोटले पानी भित्र पसेको सर्प भित्रभित्रै खुट्टामा बेरिन आउने हो कि भन्ने डरले जिउ सिरिंग हुन्थ्यो | त्यसमाथि पानीको चिसोले परेको असर त छँदै थियो |
जे होस बल्ल बल्ल अफिस पुग्दा बैंकको ढुकुटीमापनि पानी पसी सकेको रहेछ | ढुकुटी भित्र रहेको सेफमा राखिएको नोटका बिटाहरू पानीमा भिजि सकेका रहेछन लफ्रक्क | धरौटीमा राखिएका सुन चाँदीका गहनाहरुपनि भिजेका | धन्न त्यो दिन घाम लागेको थियो | असाध्य पानी परेपछि घाम लाग्ने प्रकृतिको नियम हो शायद | शोधभर्नाको रुपमा |
त्यसैले भिजेका ति नोटहरूलाई पंजीकृत गर्दै कौशीमा दिनभर सुकायौं धान सुकाए झैँ | वल्टाई पल्टाई गर्दै, मन्द मन्द चलेको हावाले नोट उडाउला कि भनेर सावधान हुँदै, या कुनै नोट यता उति होला कि भनेर सावधान हुँदै बेलुका बटुलेर ढुकुटी दाखिला गर्यौं |
त्यो वर्ष गौरका व्यापारीले नोक्सान सहनु पर्यो | सोहि मुताबिक बैंकलेपनि नोक्सान वेहोर्नु पर्यो | किनभने बैंकमा धितो राखिएको गोदामका अन्नहरु जस्तै धान, चामल, रहर, मुसुरो, आलस आदि सब बाढीमा डुबेको थियो | व्यापारीको ति अन्न डुबे पछि बैंक
को डुबे सरह नै थियो | विमाबाट शोधभर्ना लिने भनेको बेग्लै कुरा हो |
यो बाढीको असर आउँदो निकै वर्षसम्म रहे पनि दुर्भाग्यवश गौरले प्रत्येक वर्ष यस्तै दुर्दशा भोग्नु पर्थ्यो | तर अन्य वर्षहरुमा चाहिं यो सालको बाढी जस्तो थिएन | अर्थात् अहिले सम्मको ठुलो बाढी |
अहिले कतै बाढी आएको या वर्षातले ल्याएको आपति देख्न सुन्नासाथ मलाई यो गौरको घटनाको सम्झना आइ हाल्छ | तर आज चाहिं तपाईंहरुसँग यो सम्झना बाँड्न मन लागेर बाँडेको हुँ |

Friday, October 26, 2012

फेरी अनेसो र फेरी चुनाव


बासु श्रेष्ठ
उडव्रिज, भर्जिनीया

ठिक दुई वर्षपहिले अर्थात सन् २०१० मा गठित अमेरिका नेपाल सोसाइटि (अनेसो)को कार्यकारी पदाधिकारीको अवधि समाप्त हुने क्रममा यस पटकपनि सो कार्यकारी पदाधिकारीको चुनाव हुने बेला आईपुगेको छ । अर्थात चुनाव यहि अक्टोबर २७ का दिन बेल्सभिल, मेरील्याण्ड स्थित नेपालीहरुको आफ्नै मन्दिरको हातामा हुने भएको छ । त्यसपटक अक्टोबर ३१ का दिन चुनाव भएको थियो भने यस पटक अक्टोबर २७ कादिन हुँदैछ ।

तर त्यसबेलाको चुनावभन्दा यस पटकको चुनावको वातावरण तातेको अनुभव गरिएको छ । किनभने त्यस बेला अनेसोका सभापतिकोलागी दुई प्रत्यासी थिए भने यस पटक तीन प्रत्यासी देखिएका छन् । हालका तीन मध्येका एक प्रत्यासी अनेसोको सँचार प्रमुख रहिसकेका प्रकाश नेपाललाई नाजा (नेपाल अमेरिका जर्नलिष्ट एशोसिएसन)को तत्कालिन अध्यक्षबाट राजिनामा दिएर सभापतिका प्रत्यासी बनेका नगेन्द्र पौडेलले विगतको चुनावमा पराजित गरेका थिए भने अर्का एक प्रत्यासी श्रीधर कँडेल कोषाध्यक्ष पदमा पराजयी भएका थिए । तेश्रो प्रत्यासी हुन वर्तमान कार्यकारीका उपसभापति ठाकुर पुडासैनी ।

यसैगरी द्वितीय उपसभापति तथा महासचिव पदकालागी पनि निर्वाचन हुने भन्ने सूचना अनेसो चुनाव समितिले जनाएको छ । जसमा उपसभापतिकोलागी सीता पाण्डे तथा अभिप्राय सुवेदी र महाससचिव पदकालागी श्याम लिम्बु तथा विनय अर्याल प्रत्यासी रहेको सो सूचनाले जनाएको छ ।

स्थापना कालदेखि अर्थात सन १९६७ देखि सन् २००८ सम्मको कार्यकारी पदमा एक न एकजना अमेरिकीको उपस्थिति रहने गरेको प्रथा सन् २०१० देखि रोकियो । तथापी बेन्जामिल डेभिस सल्लाहकारको रुपमा रहेको अनेसोको वेबसाईटमा उल्लेख छ । स्मरणीय रहोस् अमेरिका नेपाल सोसाईटिको स्थापना नेपालबाट विभिन्न योगदान दिएर फर्किएका अमेरिकीहरुको तदारुकता तथा सद्भावनामा स्थापना भएको हो । तर यसपटकपनि स्थानिय अमेरिकीहरुको कुनै सँलग्नता देखिएको छैन । कारण हामी नेपालीहरुले उनिहरुलाई सँलग्न गराउन नसकेको हो या उनिहरुको चासोमा कमी आएको हो या अनेसो अब आफैँ सक्षम भईसकेको छ भनेर आफ्नो सँलग्नता जनाउन छाडेका हुन् त्यो भने स्पष्ट भएको छैन । तर दुई देशका नागरिक विच आपसी सहयोग, सद्भाव र भाईचारालाई निरन्तरता दिन र कायम राख्ने हो भने उनिहरुको सँलग्नताको खाँचो छ र यो आगामी पदाधिकारीहरुले बुझ्नु पर्ने विषय हो ।

विगतको चुनावताकापनि मैले एक सुझात्मक लेख लेखेको थिएँ । त्यसकोलागी यहाँ क्लिक गर्नुहोला । त्यस लेखमा मैले सँस्थाको सदस्यताको विषयमा चर्चा गरेको थिएँ । झण्डै तीस पैतिस हजार नेपालीको बसोबासको अनुमान गरिएको यस क्षेत्रमा नेपालीहरुकै सबैभन्दा पुरानो सँस्थाको आजिवन सदस्य हाल १३४ मात्र हुनु अति उदेक लाग्दो विषय भएको छ । विगतको चुनावमा १२२ सँख्या रहेकोमा दुईवर्षभित्र मात्र १२ जनाको वृद्धि हुनु अनेसोका पदाधिकारीहरुकोलागी शोचनीय विषय हो । हेर्नुहोस् http://americanepalsociety.org/id5.html | यसले के जनाउँछ भने यस सँस्थाप्रति सबैले देखाउनु पर्ने चासो देखाएका छैनन् । कारण अनेक मध्ये एक) सँस्थाका पदाधिकारीहरु चाहिनेमात्रामा सक्रिय नहुनु २) सँस्थाको क्रियाकलापमा जनमुखी र जनचासो नसमेटिनु ३)सँस्थामा नेपाली शैलीको राजनिती हावी हुनु आदि हुनसक्छन् । तथापी सोहि वेबसाईटमा (हेर्नुहोस् http://americanepalsociety.org/sitebuildercontent/sitebuilderfiles/ans_combined_membership_2012_pdf.pdf) सन् २०११ २०१२ को सदस्य सँख्या भने ५८८ देखाईएको छ । यो आजिवन सदस्य सँख्या नभई आवधिक सदस्य सँख्यामात्र भएकोले के अनुमान गर्न सकिन्छ भने चुनावमा आफ्नो पक्षको मत बटुल्न आफन्तजनहरुलाई सदस्य बनाउन प्रत्यासीहरु कम्मर कसेर लागेकोले यसो भएको हो । तर कारण जे भएपनि आर्थिक हेराईले अनेसोलाई नै फाईदा पुगेकोमा अन्यथा लिनु हुँदैन भन्ने यस पँक्तिकारको राय छ ।

तरपनि यो चुनावको तापकक्रम किन बढ्यो त भन्ने प्रश्न सजिलै उठ्नसक्छ । यि पदाधिकारीहरुलाई सँस्थाको तर्फबाट न कुनै आय छ, न कुनै प्रत्यक्ष फाईदा छ । नितान्त आफ्नो समय खर्चिनु पर्ने थाहा हुँदाहुँदै किन केहि सिमित व्यक्तिहरुको चासोमा वृद्धि भएको छ त भन्ने प्रश्नको उत्तरमा के चाहिँ अनुमान गर्न सकिन्छ भने सँस्था आफैँ पुरानो भएकोले यसको आफ्नै प्रकारको गरिमा छ । अनि यस्तो सँस्थाको पदाधिकारी भएमा अलिकति नामपनि चल्छ, अलिकति चर्चाको विषय भईन्छ भन्ने बाहेक अन्य सटिक र गतिलो उत्तर भेट्न गाहारो हुन्छ । यसै सन्दर्भमा अहिलेका वर्तमान प्रत्यासीहरुबाटपनि अनेसोलाई अझ कसरी सँगठित र प्रभावकारी बनाउने, कसरी बढिभन्दा बढि जनसहभागिता जुटाउने, कसरी यस क्षेत्रमा रहेका झण्डै ६० सँस्थैसँस्थाहरुको माझ सक्रिय समन्वय गराउने भन्ने कसैको एजेण्डा सुनिएको छैन ।

तर दुईवर्ष पछाडी फर्केर अनेसोको मूल्याँकन गर्न निवर्तमान सचिव मुक्ति दवाडीलाई अनुरोध गर्दा उनले यस कार्यकालमा पहिलो पटक उच्च माध्यमिक विद्यालयका नेपाली विद्यार्थीहरुविच नेपाल सम्बन्धि हाजिर जवाफ प्रतियोगिता, नेपाली वर्णमालाको क्यालेण्डर प्रकाशन, अनेसो र राजदुतावासविच पहिलो पटक फुटबल प्रतियोगिताको आयोजना गर्नुका साथै नियमित समर पटलक पिकनीक र नेपालबाट आएका राजनैति व्यक्ति तथा मन्त्रीहरुसँगको एकाध राजनैतिक छलफल गरेको उल्लेखनीय उपलब्धिको रुपमा बताए । यस बाहेक अमेरिकी सरकारबाट कर दर्ताबाट खारेजीमा परेको यस सँस्थालाई पुनर्दर्ता गरिएको, कर विभागमा सन् २०१० तथा २०११ को आय विवरण प्रस्तुत गरिएको जस्ता उल्लेखनीय कार्य सम्पादन गरेको उनले बताए । स्मरण रहोस् अनुप पहाडीको कार्यकालदेखी हुँदै आएको दशैँ तिहार मेला जहाँ नेपाली परम्पराका नाचगान, सेल, रोटी अचार आदि उपलब्ध गराएर विदेशमा एक दिन र एकछिन भएपनि घरदेशको सम्झना विर्साईदिने कार्यक्रम सबैमाझ लोकप्रिय भएको थियो । तर यसपटक भने नेपालीहरुको उल्लेखित मन्दिरको प्राँगणमा निशुल्क समोसा, सेल रोटी अचार उपलब्ध गराउनुकासाथै यस लेखको चर्चाको विषय बनेको चुनावपनि सम्पन्न हुँदैछ ।

जे होस् अमेरिका नेपाल सोसाईटि (अनेसो) हामी नेपालीहरुको विदेशमा स्थापित सबैभन्दा पुरानो सँस्था हो । यो हाम्रो नासो हो । यदि यसको नेतृत्व सबल र सक्षम व्यक्तिको हातमा गए यसले हाम्रो घरदेशसँग परदेशमा बसेका हामीलाई जोड्ने राम्रो र बलियो पूलको काम गर्न सक्छ । स्थापनाकालदेखी अहिलेसम्म विभिन्न कारणले यसप्रति सिमित बाहेक बहु जनचासोमा कमी आएतापनि यसको ठिक उल्टो अनेसोप्रति जनचासोमा अभिवृद्धि होस्, आगामी नेतृत्वले कौशलता र सक्षमताकासाथ सँस्थालाई सबैको बनाउन सकोस् र यो सँस्था विदेशमा बस्ने नेपालीहरुकोलागी एक गौरवको विषय होस् भन्ने कामना गर्दै भर्खर वितेको दशैँ र आउँदो तिहारकालागी शुभकामना । अनि आगामी पदाधिकारीहरुलाई कार्यकालको सफलताको कामनापनि ।
(यो लेख तयार गर्दा गर्दै सभापतिका प्रत्यासी प्रकाश नेपाल तथा महासचिवका प्रत्यासी बिनय अर्यालले आफ्नो नाम मतदानपत्रबाट झिक्न निर्वाचन आयुक्त कृष्ण सबलाइ अनुरोध गरेको थाहा हुन आएको छ | यस सम्बन्धमा पुष्टि गर्ने क्रममा आयुक्त कृष्ण सबका अनुसार ति दुवै प्रत्यासीले समाजमा मतैक्यताकोलागि यसो गरेको भन्ने अनुरोध आफुलाई प्राप्त भएको जानकारी यस पंक्तिकारलाइ दिए |)

Saturday, October 20, 2012

एउटा रमाईलो दशैँ साँझ

बासु श्रेष्ठ
उडव्रिज

वासिँगटन डिसि क्षेत्रमा बस्ने कलाकारको सँस्था युनाईटेड नेपालले सन् २००९ देखि दशैँको पूर्व सन्ध्यामा  गर्दै आएको दशैँ ईभ कार्यक्रम यस पटकपनि जर्ज मेसन युनिभर्सिटीको एक भव्य प्रेक्ष्यालयमा सफलतापूर्वक सम्पन्न गर्यो । सन् २०११ मा सो कार्यक्रम कारणवश नगरेपनि सन् २०१२ अर्थात यस पटक भने राम्रो तयारी र बन्दोबस्तकासाथ प्रस्तुत भएको थियो ।

लगभग सोह्रवर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका तथा नेपालका चर्चित कलाकार सरोज खनालको सभापतित्वमा गठित सो युनाईटेड नेपालले दशैँ अगाडि यस्तो रमाईलो साँझ प्रस्तुत गर्दै आएको छ । यसका अन्य पदाधिकारीहरुमा कलाकार किरणप्रताप केसी, सुनिल उप्रेती, नाट्यकार नविन केसी, नृत्याँगना सारँगा श्रेष्ठ आदि रहेका छन् ।

तिनचार महिनाको तयारीपछि प्रस्तुत सो दशैँ ईभ कार्यक्रम सफल रहेको थियो । सबै कलाकारहरुले आफ्नो कामबाट विदा लिएर होस या फुर्सतको समयमा होस् नाट्य प्रस्तुतीकोलागी कडा मेहनत गरेका थिए ।

दुई भागमा बाँडिएको सो कार्यक्रमको पहिलो भाग दर्शक दिर्घाबाट लाखे नाचको प्रवेश गर्दै कुमारी पुजाबाट आरम्भ भएको थियो भने लगत्तै गौरी मल्लव्दारा दुर्गा वन्दना नृत्य, सुनिल उप्रेती, रतन सुवेदी, कर्ण दासको गीत, किशोर क्षेत्री, सुजिता, गीता तथा कृष्णको सँयुक्त नृत्य, मरिना लेपर्टको बेली नृत्य, लुना तथा नविन केसीको नृत्य प्रस्तुत गरिएको थियो भने यस साँझको मुख्य आकर्षणको रुपमा रहेको “प्रेयसीका यादहरु” दर्शकहरुले विशेष मन पराएका थिए । स्व. नारायण गोपालव्दारा गाइएका विभिन्न गीतका टुक्राहरुको सँयोजनमा गीती नाटकको रुपमा प्रस्तुत गरिएको यो नौलो प्रकारको प्रस्तुतीमा सरोज खनाल अभिनयमा अझै चुकेका छैनन् र चुक्ने छैनन् भन्ने सन्देश दिन सफल भएका थिए । सरोज खनालकै अवधारणामा निर्मित २० मिनेटको सो गीती नाटकमा उनका पार्टनर असिमाको नाट्य अनुभवको कमी प्रष्ट झल्किन्थ्यो भने सोहि कारणले सरोज खनाललाई प्रस्तुती धान्न असजिलो भएको भएपनि सरोजले कुशलतापूर्वक सो प्रस्तुती पुरा गरेको अनुभव गर्न सकिन्थ्यो । र मध्यान्तरको घोषणा गरिएको थियो ।

मध्यान्तरपछि प्रस्तुत गरिएका कार्यक्रममा महामहिम राजदुत डा. शँकरप्रसाद शर्माव्दारा राजेश हमाललाई सम्मान गरिनुका साथै अन्य कलाकारलाईपनि सम्मान गरिएको थियो । त्यसपछि अगाडि बढेको कार्यक्रममा लोकगीत गायक रामप्रसाद खनालको हास्य लोकगीत, गौरी मल्ल, लुना, नविन केसी र सारँगा श्रेष्ठ अनि राजेश हमाल र करिश्मा मानन्धर तथा आस्थाको नृत्य प्रस्तुत भएको थियो भने गोपाल नेपालको प्रहसनबाट कार्यक्रम अन्त्य भएको थियो

नेपालबाट विशेष निम्तामा आएका महानायक राजेश हमालको उल्लेखित दुई नृत्य प्रस्तुतीमा हमाल खासै जम्न नसकेको अनुभव दर्शकले गरेका थिए । नृत्यको क्रममा खासै अनुहारमा हावभावको अभिव्यक्ति दिन असफल रहेका महानायक यसरी मँचमा कहिल्यै प्रस्तुती नगरेको भन्ने थाहा हुन आयो । तर यसको सट्टा उनलाई सुहाउने एकाँकीको अभिनय गर्न लगाएको भए कार्यक्रममा निखार आउँथ्यो होला भन्ने यो पँक्तिकारलाई लागेको छ । तरपनि ति दुई नृत्यको तयारीकोलागी राजेशले तिन दिन अर्थात नेपालबाट आउने वित्तिकै विहान देखी बेलुकासम्म अभ्यास गरेको जानकारी कोरियोग्राफर नविन केसीले दिएका थिए ।

कार्यक्रमलाई निर्वाध र सफलतापूर्वक सँचालन गर्न उध्घोषकको कुशलतामापनि निर्भर गर्दछ । र यो कुशलता कार्यक्रम उध्घोषिका सुनिता सन्ज्यालमा प्रष्ट देखियो ।

मैले तिमीलाई माया गरेँ, तिमीले अरुलाई माया गर्यौ
तर उसले तिमीलाई होईन अरुलाई नै माया गर्यौ,
त्यसैले तिमीलाई.......... खुच्चिँग"

कहिले उल्लेखित हास्य मुक्तक तथा कहिले शायरी त कहिले जोकहरु सुनाएर दर्शकहरुलाई मनोरँजन दिन सफल रहेकी सँचालिका सुनिता सन्ज्याल एक पेशेवर एमसी झैँ अनुभुत हुन्थ्यो । पर्दा खुल्ने र बन्द हुने तारतम्य बिग्रन लागेको समयमापनि चलाखीपूर्ण दर्शकको ध्यान अन्त मोडेर स्थितिलाई नियन्त्रणमा लिन सफल देखिन्थिन् ।

गौरी मल्लको नृत्य तथा अन्य केहि नृत्यलाई छोडेर अधिकाँश नृत्यमा नविन केसीको कोरियोग्राफि रहेको थियो जसमा नविनको नविनता देख्न पाईन्थ्यो । नीर शाह लगायत थुप्रै कलाकारहरुको कोरियोग्राफि गरिसकेको नविन यस क्षेत्रमा सफल देखिन्छन् ।

विना आर्थिक लाभको लोभमा यि सारा कलाकारहरुले सँयुक्त रुपमा उल्लेखित कार्यक्रमहरु दशैँको पूर्व सन्ध्यामा प्रस्तुत गरेर विदेशको यस क्षेत्रमा बसेका नेपालीहरुलाई आफ्नो घर आँगनको तिर्सना मेटाई दिने प्रयास गरेकोमा ति सबै कलाकारहरु तथा आयोजक प्रशँसाको पात्र बनेका छन् ।

समग्रमा यस भेगका नेपालीहरुलाई युनाईटेड नेपालको यो कार्यक्रम दशैँ ईभले दशैँ आयो भन्ने अनुभुती दिन सफल भएको मान्नुपर्छ र आगामी वर्षहरुमापनि यस्तै र अझ राम्रा कार्यक्रमकासाथ प्रस्तुत हुन सकोस् भन्ने कामना निर्धक्क यो पँक्तिकार गर्दछ ।

Sunday, September 2, 2012

.....छ भने अमेरिका जाउँ


बासु श्रेष्ठ
उडव्रिज, भर्जिनीया


रोजगारी तथा शिक्षाकोलागी जन्मथलोबाट सदरमुकाम हुँदै राजधानी र विदेश जानु नयाँ कुरा होईन न त यो हामी नेपालीकोमात्र चलन हो । यस्तो चलन अविकसित तथा विकासोन्मुख राष्ट्र्वासीकोमात्र होइन कि विकसति राष्ट्र्का व्यक्तिहरुपनि वैदेशिक रोजगारकोलागी बाहिर गएका छन् । नभए बेलायत या जर्मनी या फ्रान्सका मानिस किन अमेरिका आउँथे या कोहि अमेरिकाबाट ति देशमा किन जान्थे? र यो प्रथा निकै पुरानोपनि हो । वैदेशिक रोजगारकोलागी प्रत्येक मुलुकबाट प्रत्येक मुलुकमा मानिसहरु गई रहेका हुन्छन । या त आफ्नो थलोमा अवसरको कमी देखेर या साँच्चै नै अवसरको अभाव भएको देखेर । उदाहरणकोलागी भारतीयहरु रोजगारकोलागी हाम्रो देशमा दिनहुँ आई रहेका छन् । त्यसको ठिक उल्टो हामी नेपालीहरु दिनहुँ विदेशतर्फ लागीरहेका छौँ । मलाई एकजना साथीको भनाई यहाँ राख्न मन लाग्योः एकपटक कलकत्ताबाट काठमाण्डौँ आउने हवाईजहाजमा कलकत्ताका एकजना वासिन्दा उनिसँगै परेछन् । कुराकानीको क्रममा ति वासिन्दाले नेपालमा बसोबास गर्ने र कारोवार गर्ने मनसुवाले नेपाल जान लागेका बताएछन् । मेरा ति साथी (जो नेपालमा केहि छैन, केहि गर्न सकिन्न भन्ने हामी जस्तै मनस्थिति भएका)ले सोधेछन् नेपालमा तिमिले त्यस्तो के देख्यौ र ?” ति कलकतियाले नेपालमा चारैतिर पैसै पैसा छ, मात्र त्यसलाई टिप्न जान्नुपर्छ र कसरी टिप्ने त्यो मलाई थाहा छ भनेछन् । र यो कुरा एकदम ठिकपनि हो । अवसर र उपायको अन्त नेपालमा कदापी भएको छैन । तर हामी अल्छि, अनुद्योगी र हतारमा धनी हुने मनशाय भएकोले ति अवसर र उपाय हाम्रालागी अदृश्य या दृष्टिगोचर भई दिन्छन् । फलतः हामी आफ्नै वीनाको खोजीमा विदेश विदेश चाहार्ने जमर्को गर्छौं अनि मानवतस्करको धन्दालाई विकसित तुल्याउँदै, उनिहरुलाई पोस्ने अनि आफु र आफन्तलाई मारिरहेका छौ ।

प्रसँग हो हालसालै प्रकाशित भएको समाचार जसमा २५-३० लाख रुपैँया भन्दा बढि दलालमार्फत खर्च गरेर अमेरिकाको कठिनपूर्ण यात्रा गर्ने मृगतृष्णित नेपालीहरुको जसले अमेरिकाको सपनाको बोझले बाटोमा आईपर्ने कष्ट, दुख र जेलयात्राको कुनै परिकल्पना गर्दैनन् । अमेरिकी सपनाले तिनका आँखामा या त ति आसन्न कठिनहरुको बारेमा सोच्न मस्तिष्कलाई पारालाईज गरिदिन्छन् या त त्यसतर्फ निस्फिक्रि जानाजान बेवास्ता गरिदिन्छन् । किनभने मानवतस्करको लोभ लाग्दा र आशलाग्दा भनाईहरुले उनिहरुको आँखामा रँगीन सपना यसरी पोतिदिएका हुन्छन् कि ति जाबो २५-३० लाख रुपैँया केहि होईन र शुरु हुन्छ कठिन यात्रा । अनि जब कुनै विरानो मुलुकमा दलालको बेईमानी अथवा त्यस देशको कानुनी पञ्जामा पर्छन अनिमात्र तिनको चेत खुल्छ । अनिमात्र २५-३० लाखको मूल्य थाहा हुन्छ । अनिमात्र जिउ र ज्यानकोमाया लाग्ने हुन्छ । तर त्यतिबेला समय घर्किई सकेको हुन्छ । सिवाय रुने, कराउने या आत्महत्या गर्ने बाहेक अरु उपाय हुन्न । यस्तो अवस्थामा देशमा रहेको आफ्नो परिवारले थाहा नपाएसम्म उनिहरुपनि रँगीन सपनामा नै डुबीरहेका हुन्छन् र जब यो विपतको बारेमा थाहा पाउँछन् उनिहरुमापनि अफसोच र आपतको पहाड खस्छ । एकछिन्को लोभ र अन्धताले परिवारका कतिजनामा आपत आईलाग्छ त्यो बेहोर्नेलाई नै थाहा हुन्छ । ऋण लिने त डुब्यो डुब्यो, ऋण दिनेपनि मानसिक तनावमा डुब्छ । ऋण दिएको ठुलो रकम डुबेपछि उसको परिवारमापनि हलचल र तरँग उत्पन्न हुन्छ ।

मानवतस्करलाई पैसा खुवाएर अमेरिका पस्ने सपना बोकेकाहरुको यात्रा अमेरिकामा नै आएर टुँगिएपनि सुखका दिन शुरु हुन्छ भन्ने ग्यारेण्टि हुँदैन । एक त यस्तो अवैध बाटोबाट सबैजना अमेरिका पस्छन् भन्ने नै ग्यारेण्टि छैन । किनभने एक त अमेरिका आउने बाटोमा पर्ने विभिन्न दक्षिणी मुलुकहरुमा नै समातिने सम्भावना हुन्छ तर कथम ति सम्भावना पार भएपनि अमेरिकाको सिमानामा चौविसै घण्टा अमेरिकी अध्यागमनका प्रहरीहरु अत्याधुनिक हतियारका साथ स्थल र आकाशबाट पहरा दिई रहेका हुन्छन् । यसको बारेमा यहाँ हेर्नुहोलार योपनि हेर्नुहोला । तर कथम यि पहरालाईपनि छलेर अमेरिका पस्न सफल भई हालियो भनेपनि डलर खेति त्यसै शुरु हुँदैन । मेरो एकजना मित्र समुद्रिबाटोमा छ महिनाको अवधि लगाएर क्यानाडाबाट ट्र्कको पँजाबी ड्र्राईभरको सिटमुनी गुन्द्रुक खाँदिए झै खाँदिएर अमेरिका त पसे । यसकोलागी तिनले झण्डै दशवर्ष अगाडि छ लाख रुपैँया खर्च गरेका रहेछन् । अमेरिकामा आफुले सोचेभन्दा तल्लो स्तरको काम गर्नुपर्ने र भनेजति आम्दानी नहुने अनि भएको आम्दानीले खान र बस्न नै नपुग भएपछि उनको ठुलो गुनासो सुनिन्थ्यो । उनलाई अमेरिका आउनुअघि त्यो छलाख जति सानो लागेको थियो अमेरिका पसेपछि त्यो छलाख त्यति नै ठुलो र बोझ बनेको थियो । अहिले उनि देश फर्की सकेका छन् |

सबैजना ति मित्रजस्तो भाग्यमानी हुँदैनन् । अमेरिकास्थित नेपाली दूतावासमा कामगर्ने मेरा एक मित्र यसरी विभिन्न दक्षिणी अमेरिकी मुलुकमा समातिएका नेपालीहरुलाई ति समातिएका मुलुकबाट नेपाल डिपोर्टेशनकोलागी कागजात बनाउने काममा अति व्यस्त भएको देखेको छुँ । अर्थात जति अवैध ढँगबाट अमेरिका पस्नेको सँख्या बढ्दो छ त्यति नै पक्राउ पर्ने र डिपोर्टेशनको सँख्यापनि बढ्दो छ । त्यसकारण यसतर्फ सोच्दै नसोचेको राम्रो र फलदायी र आनन्ददायी हुन्छ भन्ने मलाई लाग्छ । अमेरिका मेरो अर्थमा बम्बईको लड्डु हो जो खान्छ, पछुताउँछ, जो खाँदैन उपनि पछुताउँछ । तर दुख खाएर पछुताउनु भन्दा आरामकासाथ नै पछुताउनु बेश होला भन्ने मलाई लाग्छ ।

माथी नै भने झैँ अमेरिका पसि हालियो भनेपनि डलरको खेती शुरु हुँदैन । किनभने तपाईमा जस्तोसुकै शीप छ भनेपनि एक) स्थापित ठुला साना कुनैपनि कम्पनिहरुले कसैलाई यहाँको वर्कपरमिट बिना काम दिँदैन । त्यस्ता कम्पनिहरुमा कामगर्न शुरुमानै दुई कुराको आवश्यक पर्छ त्यो हो यहाँको सोसल सेक्युरिटी नम्बर जो कसैको कसैसँग मेल खाँदैन । दोश्रो) वर्क परमिट । यि दुबै उपलब्ध गराउने भिन्दा भिन्दै निकाय हुन् । वर्कपरमिट उपलब्ध गराउने अध्यागमन कार्यालयको पत्रको आधारमा सोसल सेक्युरिटी नम्बर उपलब्ध हुन्छ । तर अध्यागमन कार्यालयबाट त्यस्तो पत्र पाउनकोलागी सो व्यक्ति अमेरिकी सरकारबाट बसोबासको स्विकृति पाएर अमेरिका आएको हुनुपर्छ । अर्थात डिभी परेर या पारिवारिक स्पोन्सरबाट आएको हुनुपर्छ । तर माथिको बाटोबाट आउनेले त बाटोमा नै पासपोर्ट फालेर आफु परिचय विहिन भैसकेको अवस्थामा यि केहि पनि पाउने सम्भावन नै रहन्न ।

त्यसकारण अमेरिका पस्ने ति भाग्यमानीले या त भारतीय या पाकिस्तानी या बँगाली या चाईनिज या मूलतः अन्य आप्रवासीको रेष्टुराँ या ग्यास स्टेशन या यस्तै कुनै सानोतिनो व्यवशायमा काम गर्ने बाहेक अरु उपाय हुन्न । र यि कामदाताहरुलाई काम खोज्ने व्यक्तिको कमजोरी थाहा पाएको आधारमा चाहे जति प्रतिघण्टाको अर्थात् कम भन्दा कम प्रतिघण्टाको हिसाबले काममा लगाउँछन् अनि चाहेको घण्टाजति अर्थात् बढी भन्दा बढी । अमेरिकी केन्द्रिय सरकारको निर्णय अनुसार अहिले न्यूनतम प्रतिघण्टा ज्याला ७.२५ डलर हो र हप्ताको ४० घन्टा बढी काम गर्नेलाई डेढी ओभरटाइम दिनु पर्ने प्रावधान छ | तरपनि अक्सर जहाँपनि ७.२५ भन्दा बढि नै मानिसले पाई रहेका हुन्छन् । तर यसको ठिक उल्टो अवैधहरुलाई काम दिने र कमजोरी थाहा पाउने माथिका कामदाताहरुले भने यसभन्दा कम र दिनको चौध पन्ध्रघण्टासम्म काममा लगाउँछन् । यो सिधै मानव शोषण हो तर यसको बाटो खोलिदिनेपनि हामी नै हौँ । त्यसकारण मानौँ कसैले दिनको १४ घण्टा काम गरेपनि दिनको १०१ डलर हुन्छ र सातैदिन काम गर्यो भने हप्ताको ७१० र महिनाको २८४० डलर कमाउँछ । यदि आय कर नकटाउने हो भने । कारिन्दाको कमजोरी बुझेर काम दिने ति कामदाताले आयकर भनेर करको रकम कटायो भने झण्डै १९८९ डलर महिनाको हात पर्ने हुन्छ । किन मेरो कर काटेको भनि विरोध गर्ने हिम्मत शायदै कसैले गर्ला किनभने बल्ल बल्ल पाएको कामपनि गुम्ला भन्ने डर हुन्छ । त्यस आम्दानीबाट खाना लगायत वासकोलागी खर्च हुँदा बचतको खासै बाटो देखिन्न । किनभने आम्दानीको सबैभन्दा ठुलो भाग नै कोठाको भाडामा पर्ने हुन्छ । जस्तै सस्तो र समूहमा बसेपनि कोठाको भाडा महिनाको कम्तिमा ५ देखि ६ शयसम्म पर्नेहुन्छ । तर यो बेस्ट सिनारियोको आधारमा कल्पना गरिएको हो । सबैमा यो कल्पना लागु हुनसक्छ भन्ने छैन । तरपनि सातैदिन, दिनको १४ १५ घण्टा त्योपनि शारिरिक काम गर्दा शरीरले कति मानसिक यातना पाउने गर्छ सहजै कल्पना गर्नसकिन्छ । कल्पना नगरेको काम, लामो घण्टाको कामपछि घर पुग्दा छुट्टिएको परिवारको सम्झनाले जोपनि चाँडै विक्षिप्त बन्न सक्छ ।

तर दलाललाई दिईने त्यो २४-२५ लाखको सट्टा त्यस रकमको पाँचभागको एकभागजतिमात्र खर्च गरेर कुनै सानोतिनो पसल या उद्यम गरेर बसे यि सब झण्झटबाट मुक्त भइने कुरा कसैले सोचिदिए हुनेथियो ।

यि त भए दलालमार्फत चोरीको बाटो अमेरिका पस्ने या पस्ने सपना देख्नेहरुको कुरा । अर्कोथरी पनि छन् जो कानुनी प्रक्रिया पुरा गरेर ठुलै सपनाकासाथ भिसा लगाएर अमेरिका पुग्छन् । टुरिष्ट या अन्य कुनैपनि भिसा (जसले अमेरिकामा काम गर्न प्रतिबन्ध लगाएको हुन्छ) लिएर यतै बस्ने विचारले आउनेकोपनि हालत झण्डै झण्डै उस्तै हुन्छ । तर यस्तो भिसामा आउनेहरुकोलागी भने केहि वैधबाटो खुलेका हुन्छन् । जस्तै कलेज भर्ना हुने र बसाईको अवधि लम्ब्याउने र ग्रीनकार्डकोलागी प्रक्रिया शुरु गर्ने । तर ग्रीनकार्डको प्रक्रिया शुरु गरेर हात नपरुन्जेल उसले आफुलाई वैध नै बनाई राखेको हुनुपर्छ । जसकोलागी कलेजको नियमित र पूर्णकालीन विद्यार्थी भई रहनुपर्यो, कलेजकोलागी फिको जोहो गर्नुपर्यो, त्यसकोलागी काम गर्नुपर्यो । उता स्पोन्सर गर्ने कामदाताले आफुकहाँ बढि भन्दा बढि घण्टा र कम भन्दा कम तलबमा काम गरोस् भन्ने चाहेको हुन्छ । अनि पूर्णकालीन कलेज, लामो समयको काम गर्दा गर्दै उ चाँडै नै थाकिसकेको हुन्छ ।

तर यसलाई नकारात्मक ढँगले नलिई यो सँघर्ष हो पनि भन्न सकिन्छ । अमेरिका मौकाको देश हो । शीप, प्रविधि र बुद्धि छ भने उ तुरुन्तै विक्छ र रातारात प्रख्यात हुनपुग्छ । यसका थुप्रै उदाहरणहरु छन् । तर सबैभन्दा पहिले उ वैध हुनुपर्यो ।

कोहि अमेरिका आउन चाहनु कसैको अधिकार र स्वेच्छाको कुरा हो । तर कसरी र किन आउने भन्ने कुरा चाहिँ अहम् प्रश्न हो । जसरी भएपनि अमेरिका पस्ने भन्ने मनशाय भन्दापनि वैध तरिकाले आएको खण्डमा परिणाम राम्रै हुन्छ यदि माथि भनिएको सँघर्ष गर्ने क्षमता छ भने । त्यसैले त्यस्ता मानिस वैध तरिकाले आउन जो कम्युटरमा राम्रो ज्ञान भएको होस्, जसको बोलाई र लेखाईमा अँग्रेजी राम्रो होस् र परिआएको खण्डमा सँघर्ष गर्नसक्ने होस् । अनि यस्तो सँघर्ष २० देखि ३५ वर्षसम्मकाले सजिलै गर्न सक्ने भएकोले यी उमेरकाहरुलाई अलि सजिलो हुनसक्छ । तर बाँकिकोलागी भने कठिनमात्र होईन महाकठिन नै हुन्छ । आफु बसेको देशमा व्यक्ति डाक्टर, इन्जिनियर या कुशल प्रशासक या प्रख्यात कलाकार आदि जे भएपनि उसले यहाँ आएर सँघर्ष गर्नैपर्छ । अहिलेको समयमा विश्वव्यापी मान्यता पाएको विद्या भनेको कम्प्युटर नै हो र यसमा राम्रो ज्ञान हुने र वैध तरिकाले आउनेलाई भने त्यति सँघर्ष गर्नु नपर्ला । USA को बारेमा एउटा भनाई छ You Start Again.

केहि सूचनामूलक वेबसाईटहरुः

(यो लेख कुनै कानुनी उपचार या कानुनी सल्लाह नभई एउटा सोचनीय र जागृतिमूलक लेखमात्र हो । यसलाई नितान्त अनौपचारिक सल्लाहको रुपमा लिनुहोला र ठिक लागे आफ्ना आफन्तहरुलाई सजग गर्नु गराउनु होला भन्ने अनुरोध छ | आशा छ अमेरिकी सपना बोक्नेहरुकोलागि यो लेखले नकारात्मक नभई सकारात्मक भूमिका खेल्ने छ |)

basushrestha@gmail.com