https://twitter.com/Chirvir

Tweet me @chirvir







Friday, August 12, 2011

सँस्था बोक्ने कि चढ्ने?


कुनै पनि सामुहिक कार्य सफलता पुर्वक सम्पन्न या सँचालन गर्न सँस्थाको स्थापना गर्न जरुरी हुन्छ यसै प्रयोजनको लागी हामीले कतिपय सँस्थाहरु स्थापना भएको देखेका छौ कुनै सँस्था दिर्घकालीन हुन्छ कुनै अल्पकालीन सँस्थाको अवधि जति भएपनि उद्देश्य एउटै हो सामाजिक स्वार्थकोलागी सामुहिक रुपमा काम गर्नु सम्पन्न गर्नु सामान्यतयाः नितिगत कुरा गर्दा सँस्था स्थापनाको कारण माथि भने झै भएपनि व्यक्तिगत स्वार्थ या आफ्नो व्यक्तिगत अभिष्ट पुरा गर्न पनि सँस्थाको स्थापना गरिएको पनि पाईन्छ
सँस्था मार्फत सामाजिक कामहरु गर्दै जाँदा कामगर्ने व्यक्ति सँस्था दुबै चर्चित हुँदैजान्छ समाजले सँस्था या व्यक्तिलाई कुनै कुनै दिन पुरस्कृत गर्छ यसमा समय भने अवश्य लाग्न सक्छ तर निस्वार्थ भावनाले प्रेरित भएर गरेको कामको मूल्याङ्कन कुनै कुनै दिन अवश्य हुन्छ यस मूल्याङ्कन पुरस्कारको लोभ काम गर्ने व्पक्तिमा पटक्कै हुनुहुँदैन यदि भयो भने त्यसलाई निस्वार्थपरक समाज सेवा भन्न मिल्दैन कर्म गर्नु फलको आशा नगर्नु भन्ने गीताको सारलाई मनन गर्ने हो भने यो भनाई यस लेखको आशयमा लागु हुन्छ अर्थात परिणाम या पुरस्कारको मोहमा गरिएको काम दुखदायी हुन्छ किनभने कसैले फलको आशा गरेको यदि त्यस्तो आशातीत फल प्राप्त नभएमा त्यस व्यक्तिमा निराशा बढ्छ निराशा बढेपछि त्यसको कारणहरु खुट्याउन तिर लाग्छ अनि अनुमानको आधारमा फलानो या ढिस्कानोले गर्दा यसो भएको हो भन्ने तर्क चल्न सक्छ फलानो ढिस्कानो सँगको दूरी बढ्न सक्छ फलत एक्लिएको महशुस गर्न थाल्छ या एक्लो पर्न थाल्छ परिणाम फलको आशामा गरेको कामले फल नदिएपछि या नपाए पछि विभिन्न समस्या दुःखहरु आईपर्न सक्छ
माथि नै भने झैं निस्वार्थपरक कार्यको एक एकदिन मूल्याङ्कन हुन्छ त्यस्तो समाजसेवी एक एकदिन पुरस्कृत हुन्छ हुनुपनि पर्छ
तर समाजमा यस्ता मानिस या समुह पनि देखिन्छ जो सँस्थाको नाममा आफ्नो मात्र स्वार्थ हेर्ने गर्छन आफ्नो स्वार्थ वा प्रयोजनकोलागी सँस्थाको नाम अगाडि बढाएर स्वार्थसिद्ध गर्न खोज्छन् त्यसै सँस्था मार्फत आफुलाई समाजमा अगाडि ल्याउने या आउने धृष्टता गर्छन् यो साह्रै निकृष्ट कार्य हो भन्नुमा अत्युक्ति नहोला चाडै नाम कमाउने या चाँडै प्रसिद्ध हुन चाहनेले सँस्था काँधमा बोक्ने काम नगरी सँस्थाको काँध चढेर लोकपियता कमाउन खोज्छन् यस्तो लोकपि्रयता क्षणिक हो भन्ने कुरामा यस्ता व्यक्तिहरु अन्धा हुन्छन्

यसै प्रसङ्गमा मैले सुनेको कुरा यहाँ उल्लेख नगरी रहन सकिएन कुरा कत्तिको सत्य हो त्यो मलाई थाहा भएन तर हावा नचली पात हल्लिदैन भन्ने उखान सम्झेर भन्न लागेको हुँ

आफुले आफुलाई नै पुरस्कृत गराएर चर्चामा आउनकोलागी अहिले काठमाण्डौमा बतासे सँस्थाको सहारा लिने प्रवृत्ति चलेको भन्ने मैले सुनेको छुँ तपाई त्यस सँस्थासँग सम्पर्क गरेर आफैलाई पुरस्कृत गराउने मनशाय भन्नहोस् त्यस सँस्थाले मागेको भनेको जति खर्च दिनुहोस् अनि त्यस सँस्थाले एक समारोहको आयोजना गरि कुनै मन्त्री या चर्चित व्यक्तिबाट तपाईलाई सम्मानित या पुरस्कृत गरिदिन्छ तपाई रातारात चर्चित व्यक्ति बन्नुहुन्छ अर्थात कोहि कोहि व्यक्ति नामको यति भोका हुन्छन् कि खोक्रो मानपदवी आफैंले आफलाई दिएर चर्चामा आउन चाहन्छन्
भनाईको तात्पर्य सँस्था स्थापनाको मुलभूत उद्देश्य सामाजिक कार्य भएपनि यस उद्देश्यमा विकृति आएको पाईन्छ व्यक्तिगत स्वार्थ व्यक्तिगत चर्चाको मोहमा सँस्थाको आड लिएर आफ्नॊ अभिष्ट पुरा गर्ने प्रवृत्ति बढेको पाईन्छ एकथरि निस्वार्थ भावनाले सँस्थालाई काँधमा बोकेर सामाजिक कार्य गर्छन् भने अर्काेथरि सँस्थाको काँध चढेर रातारात चर्चित बन्ने मोहमा डुबेका हुन्छन्
यस लेखले कसलाई निर्दिष्ट गरेको होला भन्ने तपाईलाई खसखस लागेको भने आफ्ना मित्रहरुसँग खासखुस गर्नुहोला खसखस मेटिन सक्छ

Friday, July 22, 2011

क्रुज यात्रा

बासु श्रेष्ठ
उडव्रिज, भर्जिनीया




कि वेष्टबाट देखिएको पानी जहाज
  
काम काम काम, कति काम, आराम पाउन जानुपर्यो कुनै धाम । धाम भन्नाले कुनै तिर्थ धाम नभई कतै नयाँ ठाउँमा गएर भ्रमण विशेषको आशय थियो । अनि यसै आशयले यस वर्षको गृष्मकालीन सप्ताहान्त समुद्रमा मनाउने निधो गरियो । आकाशमा उडेकै हो, भुँइमा गुडेकै हो । बाँकि एउटा पानी जहाजमा समुद्रको यात्रा गर्ने रहर थियो । यो रहरपनि पुर्याउने रहर जागेर आयो यस पटक र जुर्यो पनि । तसर्थ क्रुजमा जाने निधो गरि कार्निभल कम्पनीको ईमेजिनेशन नामक पानी जहाजमा मायामीबाट शुरु हुने जुलाई ४ देखि जुलाई ८ सम्मको क्रुज यात्रा अनलाईनबाट बुक गरियो र सोहि अनुसार जुलाई ४ तारिखका दिन बिहान अमेरिकन एयरलाईन्सको हवाई जहाज मार्फत ल्फोरिडाको मायामीमा ओर्लिएपछि एयरपोर्टबाट सि पोर्टसम्मको यात्रा बसबाट गरियो | अनि अध्यागमनको प्रक्रियापछि सिधै पानी जहाजमा अवतरण गरियो । अध्यागमनको कार्यालय रहेको भवनसँगै भर्याँगको माध्यमले पानी जहाजसँग जोडिएको हुँदो रहेछ । घुमाउरो भर्याँग पछि जहाजमा प्रवेश गरियो । अध्यागमनको प्रक्रिया पुरा गर्न बसेको लाईन हेर्दा मानौ कुनै कुम्भ मेला भर्न जम्मा भएका हुन् कि भन्ने भान पर्थ्यो । अध्यागमन तथा सुरक्षा पार गर्नेहरु एकनासले माथि गई रहेका छन् भने त्यहि प्रकार झुण्डका झुण्ड सो प्रक्रियाकोलागी लाईनमा थपिँईदै छन् । ओहो यत्तिका विध्न मानिस, एउटै जहाजमा त हो ? तर हो रहेछ । जहाजमा यात्रीमात्र २६०० हुँदा रहेछन् भने जहाजका कर्मचारीमात्र ९२० रहेछन् । विशालकाय जहाजमा ति कर्मचारी झण्डै २४ सै घण्टा अनवरत चलायमान देखिन्थे ।
अध्यागमन तथा सुरक्षाको प्रक्रियापछि जहाजको कोठाको साँचो अर्थात कार्ड कि लिनकोलागी कम्तीमा ५० डलर प्रतिव्यक्ति धरौटि राख्न पर्ने रहेछ । यसरी लिएको कार्ड कि पचास डलर भएको क्रेडिट कार्डपनि हुँदो रहेछ । अनि जहाजमा कोशेलीको रुपमा कुनै सामान किन्नु परेमा या केहि रुपमा खर्च गर्नुपरेमा यहि कार्ड चलाउनु पर्ने रहेछ । जहाजमा नगद कारोबार नहुने रहेछ । सो कार्ड चलाएपछि रहेको बाँकि पैसा यात्राको अन्तिम दिन फिर्ता दिईने रहेछ । कार्ड किबाट धरौटि राखिएको पैसा भन्दा बढि खर्च भएमा अन्तिम दिन हिसाब किताव फर्छ्यौट गर्नुपर्ने रहेछ । अन्यथा बाहिर निस्कन समस्या पर्ने रहेछ ।
हामीले श्रीमान श्रीमतिलाई पुग्दो धरौटि एटिएम मेशिनमार्फत राखेर पाएको कार्ड लिँदै जहाजमा प्रवेश गर्यौं । ठुलो सुटकेश कोठामा नै आउने भएकोले हाते सुटकेशमात्र लिएर कोठामा प्रवेश गर्यौं । कोठा नँ यु २५ । अर्थात अपर डेकको रुम नँ. २५ । कोठामा प्रवेश गर्ने वित्तिकै हाते सुटकेश त्यतिकै छोडेर खाना (लँच)कोलागी दशौँ तल्लामा पुग्यौँ । मेरी बास्सै, कति मानिस रहेछन् यहाँ त । फेरि स्विमिँग पूलपनि रहेछ । हट बाथ लिने पनि रहेछ । ओहो....यहाँ त सानो तिनो मेला पो रहेछ । बाजाको धुनमा एकथरि नाचि रहेका छन, अर्काथरि खाई रहेका छन्, कोहि त्यहिँको बारमा बसेर वाईन, लिकर या मार्गरिटा घुट्क्याउँदै मुखबाट धुँवा उडाईरहेका छन् । स्विमिँग पूलको पानीमा आनन्द लिईरहेका लगायत पूलबाट निस्केर छेवैको लामो मेचमा छोप्नै पर्ने मात्र छोपेर घाममा लम्पसार परेर कोहि उत्तानो, कोहि घोप्टो पल्टेका छन् । यो आफ्नै र अलग प्रकारको सँसार लाग्यो । यो रमिता देखेर लागेको भोकपनि कम पो हुँदै गयो । कता हेरौं कता हेरौं । आँखा अलि बढि चाहिँ स्विमिँग पूल या यसको छेउछाउ नै बढि दौडिन्थ्यो । कालो चश्मा थियो मेरो आँखामा । जता हेरेपनि एकातिर हेरेको जस्तो गरे हुने । तर साथमा श्रीमतिपनि थिइन् । अलि होस् त पुर्याउनै पर्यो । श्रीमतिको मर्यादापनि त राख्नु पर्यो नि । तर कहाँबाट आए त यि सब ? के यि सबै मायामीबाटै चढेका हुन् त ? त्यसो भए कसरी यति चाँडै यि सबै गर्न भ्याए ? तर होईन रहेछ । पछि कुरा बुझ्दा यिनिहरु त बहामाजबाट आएका रहेछन् । यो जहाज बहामाज, मायामी, की वेष्ट अनि कोजुमल (मेक्सिकोको सबै भन्दा ठुलो पूर्वी सामुद्रिक टापु) को बिच ओहोर दोहोर गर्दो रहेछ । कोजुमललाई मेक्सिकोकै हालको पर्यटन क्षेत्र क्यानकुनले प्रतिस्थापन गरेको रहेछ । नत्र अहिले जति क्यानकून प्रसिद्ध छ त्यति नै प्रसिद्ध कोजुमल रहेछ । अर्थात क्यानकून कोजुमलको सौता । गल्फ अफ मेक्सिकोमा पर्ने क्यानकून उत्तरी भागमा पर्दो रहेछ भने कोजुमल भने ६० किमी दक्षिणी भागमा पर्दो रहेछ । तर क्यानकून मेक्सिकोको मूख्य भूभागसँग आबद्ध छ भने मुख्य भूभागबाट २० किमी टाढा कोजुमल टापु रहेछ । कोजुमल ४८ किमी लामो अनि १६ किमी चौडाइमा फैलिएको रहेछ । हाम्रो क्रुजको अन्तिम पुग्ने विन्दुपनि कोजुमल नै हो ।
जे होस् बफेको लाईनबाट आफुलाई चाहिने खाना लिएर टन्न भएपछि अर्को एकतल्ला माथि गइयो । ओहो, यो त बाल सँसार रहेछ । बाल बालिकाहरुलाई हुने गरि पानीका विभिन्न खेल तथा मनोरँजनका साधनहरु जुटाईएका थिए । बालकहरुको हाँसो र खितखितले यस तल्लाको वातावरण गुँजिएको थियो । अभिभावकहरु भने आफ्नो सन्तानको मुहारमा हाँसो र खुशी अनि चँचलता देखेर मख्ख परेर मुसुक्क हाँस्दै हातमा जे छ त्यहि खाई रहेका थिए । सन्तानको मुहारमा हाँसो र चँचलता देखेपछि अभिभावकहरु सँसारको सबैभन्दा ठुलो सुख अनुभूति गर्छन शायद ।
त्यहाँबाट भएका भर्याँग पछ्याउँदै जाँदा अर्को तल्लामा पुगियो । यो चैँ ओलम्पिक ट्रयाक रहेको ठाउँ रहेछ । झण्डै ओलम्पिक ट्र्याकको आकारमा अण्डाकार धावन मार्ग बनाईएको रहेछ । कूल लम्बाई १४९ मीटर । यस ट्रयाकमा दौडिएपनि वाक गरेपनि हुने रहेछ । यो चाहिँ जहाजको अघिल्लो भागपट्टि पर्दो रहेछ ।
यहाँबाट जहाज अगाडि बढेको त देखिन्छ तर कुन दिशामा गईरहेको छ भन्ने भेउ पाउन गाहारो । किनभने गोलाकारको रुपमा देखिने क्षितिजको विचमा आफु भएको अनुभव हुँदो रहेछ । त्यसकारण नक्सा नहेरी जहाजको दिशा निर्देश थाहापाउन गाहारो हुने रहेछ । आकाश नीलो, पानी नीलो अनि यि दुई विशाल नीलोको बीचमा एक सानो बिन्दुको रुपमा आफुलाई पाउँदा मन रोमाञ्चित हुँदो रहेछ । विशाल क्षितिजको कारणले गोलाकारको रुपमा देखिने क्षितिजको यस्तो दृश्य जमिनबाट शायदै देखिन्छ ।
८५५ फिट लामो तथा १०३ फिट चौडाईको जहाज २१ नट्स प्रतिघण्टाको दरले अगाडि बढ्ने रहेछ । २१ नट्स सामुद्रिक गति हो भने यसलाई पृथ्वीमा नापिने गतिमा परिवर्तन गर्दा झण्डै २४.१७ माईल प्रति घण्टा हुने रहेछ । यसरी १५९ माईल लामो की वेष्टसम्मको यात्रा यहाँको विहान ७.३० बजे पुगीयो । मायामीबाट अघिल्लो दिन बेलुका ४ बजे प्रस्थान गरेको हाम्रो पानी जहाजलाई १५.३० घण्टा लागेको थियो । की वेष्ट घुम्नकोलागी जहाजमा नै पाईने विभिन्न प्रकारका प्याकेजहरु पाईएपनि हामी भने उपलब्ध गराइएको ट्र्लीबाट शहर घुम्न गयौँ । क्यूबाबाट ९० माईल उत्तरमा पर्ने यस टापुलाईपनि पर्यटकिय दृष्टिले हेरिँदो रहेछ । क्यूबाबाट अमेरिका पस्ने नजिकको अमेरिकी भूभाग यहि भएकोले होला शायद क्यूबाबाट अमेरिकी सपना बोकेर हिँडेकाहरुको पहिलो गन्तव्य नै यहि स्थान हुँदो रहेछ । तर अमेरिकी अध्यागमन तथा सामुद्रिक सुरक्षा अँगहरुको कडा निगरानीले कतिपय डुँगाहरु विच समुद्रबाट नै क्युबातर्फ फर्किन बाध्य हुँदा रहेछन् ।
अर्काे कुरा अमेरिकाको सबैभन्दा पुरानो राजमार्ग जसलाई सँख्याको आधारमा रुट १ को नामले चिनिन्छ (र  जुन अमेरिकी राज्यहरु दक्षिणमा ल्फोरिडा, जर्जिया, साउथ क्यारोलाईना, नर्थ क्यारोलाईना,  भर्जिनीया, वासिँगटन डीसी, मेरिल्याण्ड, पेन्सिल्भेनिया, न्यु जर्सी, न्यु योर्क, कनेक्टिकट, रोड आईल्याण्ड, म्यासाच्युसेट्स, न्यु ह्याम्सायर तथा उत्तरी राज्य मेनमा गएर टुँगिन्छ) पनि यहिँबाट शुरु हुने रहेछ र यस स्थानलाई जिरो माईल नामले चिनिँदो रहेछ । सन् १९२६ मा पुरा भएको यो सडकको कूल लम्बाई २३७७ माईल अर्थात ३८२५ किमी रहेछ । हेक्का रहोस् विभिन्न राज्यका भूभागमा यहि सडकलाई अन्य कुनै नँबर या नामलेपनि चिनिन्छ । यससँग अलि बढि चासो भएको कारण के पनि हो भने आफु बसेको घरसँगै यो बाटो रहेकोले पनि हो र यसको ऐतिहासिक कारणपनि हो । बिजोर नम्बरको उत्तर दक्षिण लम्पसार भएर सुतेको यस सडकको आर्थिक तथा सामाजिक योगदान निकै ठुलो रहेको छ । अमेरिकामा सबै राजमार्गहरुलाई मूलतः दुईभागमा विभाजन गरिएको हुन्छ । पहिलो जोर नम्बरका राजमार्ग जुन पूर्व पश्चिम फैलिएका हुन्छन्् भने विजोर नम्बरका राजमार्गहरु उत्तर दक्षिण फैलिएका हुन्छन् । जसले गर्दा दिशा निर्देशकोलागी सजिलो हुने गर्दछ ।
यसरी की वेष्टको स्वभ्रमणपछि फेरि ट्र्लीमा बसेर जहाज फर्कियौँ । कार्ड कि र सुरक्षा अधिकारी मार्फत प्रवेशकोलागी अनुमति प्राप्त भएपछि अस्थायी सँसारमा पुनः प्रवेश गर्यौँ । अब जहाज कोजुमलकोलागी ठिक दुईबजे यहाँबाट प्रस्थान गर्यो । झण्डै ११ घण्टाको यात्रा हो यो । आन्ध्र महासागरको एक हिस्साको रुपमा रहेको गल्फ अफ मेक्सिकोमा यात्रा गर्दा यो ११ घण्टाको यात्रा नपत्याउने किसिमले बित्यो । किनभने जहाजमा विभिन्न मनोरँजनात्मक कार्यक्रमहरु, किनमेलकालागी करमुक्त पसलहरु, क्यासीनो, बार, स्विमिँग पूल या कोठामा बसेर टिभी कार्यक्रमहरु हेरेर समय गएको पत्तै नपाईने रहेछ । कोठामा आएर सुत्ने भनेको असाध्य थाकेपछि या रातीको १२ १ बजेतिरमात्र हो । यसरी कोजुमलमा जहाजले दिनको १ बजे डक गर्याे र कोजुमल भ्रमणमा जाने ईच्छुकहरुलाई रातको नौबजेसम्म जहाज प्रवेश गर्ने सूचना जारी गर्याे । कोजुमलमा विभिन्न प्रकारका भ्रमण प्याकेज पाईने भएपनि हामीले स्नोरल्किँग, विच पार्टि र सेल अवे प्याकेज लियौँ । मेक्सिकोको कर मुक्त पसलको माझ हुँदै एउटा सानो डुँगा जसमा ६० देखि ७० मानिस अटाउँथेमा चढ्यौँ र स्नोल्र्किँगकोलागी बढ्यौ । स्नोरल्किँग भनेको आँखामा पानी चश्मा, मुखमा सास फेर्ने नली, खुट््टामा पौडने पँजा लगाएर पानीमा पौडिने रहेछ । १५ देखि २० फिट गहिरो तर पिँध देखिने नीलो पानीमा पौडि खेल्दा विभिन्न प्रकारका माछा तथा सामुद्रिक जीवहरु देखिने रहेछ । आफु र श्रीमति पौडी खेल्न नजान्ने भएकोले यसकोलागी आँट गरिएन । बरु डुँगामा नै बसेर अरुले गरेका रमितामा ताली बजाएर बसियो । तिरेको पैसाको तिन भागमा एक भाग यसरी डर छेरुवा भएर खेर फालियो । तर यो हाम्रो आफ्नै छनौट थियो । कसैसँग केहि गुनासो थिएन र रहेन । मैले त्यहिँ एउटा जोक बनाएँ र भनेँ “वी अलवेज स्नोर अन द बेड । सो वी डण्ट वाण्ट द स्नोरल्किँग ।” सबै गललल हाँसे ।
स्नोरल्किँगपछि डुँगामा रहेको सँगीत बज्न थाल्यो अँगे्जी । अनि बियर, मार्गरिटा, जुस, सोडा पिउँदै गीतको धुनमा नाच्न र गाउन थाले । झण्डै १५ मिनेटपछि डुँगाले किनार लियो । अर्थात बीचमा रोक्यो । हामी सबै ओर्लिएर स्विम सुट लगाएर नीलो र कँचन पानीमा हाम्फाल्दै, छेउ आउँदै बियरका गिलास समाउँदै गर्न थाल्यौँ । यो क्रम एक घण्टाकोलागी थियो र टोली नेताले समाप्तिको घोषणा गरेपछि सबै डुँगामा बस्यौँ र अस्थायी निवास पानी जहाजतर्फ फर्कियौँ ।

क्रुजको जाने र आउने सामुद्रिक बाटो
 जहाजमा केहि सोधपुछको क्रममा मैले त्यहाँका कर्मचारीलाई जहाज चलाउने क्याप्टेनको केबिन हेर्न पाइन्छ कि पाईदैन भनेर सोधेको थिएँ । मैले सोधेको व्यक्ति फिलिपिनो रहेछ । उसले भन्यो 'लास्सी डे, लास्सी डे, यु गो कस्टमर सर्भिस, राइट योर नेम ।' अरु त बुझियो तर 'यो लास्सी डे' भनेको बुझिनँ । सातै डेका नाम मलाई थाहा छ । त्यसबाहेक टुडे र यस्टरडे पनि थाहा छ । । यो कुन अर्को नयाँ डे आयो समुद्रको बीचमा ? फेरी दही, मठ्ठा जस्तै कतै लस्सी त भनेको होइन ? यो त झन् अप्रासाँगीक कुरा भयो । रनभूल्ल पर्दै फेरि कोट्याएर सोधेँ । बल्ल बुझियो । लास्ट डे भनेको रहेछ । अर्थात क्रुजको अन्तिम दिन मैले चाहेको हेर्न पाईने रहेछ । दँग पर्दै कस्टमर सर्भिस डेस्कमा अरुले पालो उछिन्लान भनेर हतार हतार गयौँ र आफुले चाहेको अनुरोध गरेँ । हुन त लास्सी डे नै रहेछ, नामपनि लेखाउनै पर्ने रहेछ तर.....प्रतिव्यक्ति ५५ डलरपनि बुझाउनु पर्ने रहेछ । जम्मा जम्मी आधा घण्टाको जहाजको भित्री क्रियाकलाप हेर्न महँगो पर्ने भयो । यो प्याकेजलाई 'विहाइण्ड द टुर' भन्दा रहेछन् । आ...होस् को गई रहोस् । गइएन । दुईजनाको ११० डलर बचाईयो । तर क्याप्टेनको केबिनबाट सामुद्रिक दृश्य र केबिन हेर्ने रहर भने काँचै फिर्ता आयो ।
यसैगरि अर्को दिन जहाजको सेतो रँगको ड्रेसमा रहेको एकजनालाई जहाजको तत्काल अवस्थिति, जहाजको गतिका बारेमा केहि सोधपूछ गरेँ । जानेको भन्यो र नजानेकोमा फलानोसँग सोध्नु भन्यो । यो पनि फिलिपिनो नै हुनुपर्छ भन्ने अन्दाज गर्दै 'व्हेर आर यु फ्रम ?' भनेर सोधेँ । उ चाहिँ 'नट इण्डिया' भन्छ । मैले तिमी इण्डियाको हौ ? भनेर सोधेकै छैन । किन नट इण्डिया भन्छ यो भन्दै म जिल्ल परेँ र भनेँ 'आई एम नट सेयिँग यु आर फ्रम इण्डिया, बट आइ एम आस्किँग यु व्हेर आर यु फ्रम ।' उसले यस यस भन्दै 'यु नो दार्जिलिँग, असम, सिलिगुढि, भुटान भन्दै उत्तरी पूर्वी भारतको भौगोलिक नामहरु लिँदै त्यतातर्फ लग्यो र भन्यो मिजोरम । मैले अब बल्ल बुझेँ । उसले नर्थ इण्डिया भनेको रहेछ । अर्थात उ भारतको मिजोरम राज्यबाट आएको रहेछ । एकछिनको भलाकुसारी पछि उसको हातमा भएको फोनको घण्टी बज्यो र 'आइ हेभ टु गो, नाईस टकिँग टु यु' भनेर कामतर्फ लाग्यो । आफु भने नट र नर्थको कथा सम्झँदै ब्रेकफास्टको बफेतर्फ लागियो ।
जहाजमा सबै प्रकारका मानिस । बच्चा, बुढा, बुढि युवा, तरुना तरुनी । मोटा, पातला । काला, गोरा, स्पानिस, एशिएन, अफ्रिकन, अमेरिकन सबै । नेपालीमा हामीमात्र थियौँ कि ? कोहि क्यानाडाबाट आएका, कोहि अमेरिकाकै विभिन्न भागबाट आएका । त्यसैगरि जहाजका कर्मचारीहरु अधिकाँश फिलिपिनो, अनि भारतीयहरुको बाहुल्यता देखियो । डिनरमा लिएको फोटो आफुलाई मन परेकोले अर्डर गर्दा सँजय नामक भारतीयसँग कुरा गर्न पुगियो । सोधिहाल्यो उसलेपनि अनुहार एउटै क्षेत्रको देखेर । 'व्हेर आर यु फ्रम ?' मैले सगौरव 'वि आर फ्रम डिसी' भनेँ । उसले 'नो नो ओरिजीनल्ली' भनेर सोध्यो । मलाई उसको ध्येय थाहा थियो र मैले जानी जानी त्यहि उत्तर दिएको थिएँ । तर यस पटक चाहिँ 'ओरिजीनल्ली फ्रम नेपाल' भनेपछि 'ओ वि हयाभ ए नेपाली टू हु वर्कस् हियर । कम आफ्टर थर्टी मिनेट टु पिकअप द फोटो, हि विल अल्सो बि हियर ।' ओके भनेर आधा घण्टापछि फर्किदा फोटोपनि लियौँ र भेट्यौँ योगेशजीलाई जो यस जहाजमा फोटोग्राफर रहेछन् । चार वर्ष भएछ उनले काम गरेको । प्रत्यक ८ महिनामा नेपाल जाने र दुई तीन महिनापछि फेरि ८ महिनाकोलागी जहाजमा फकिर्ने गर्दा रहेछन् । क्रुजमा काम गर्ने सबैको नियम नै यहि रहेछ । नित्य नै यहि रहेछ ।
जहाजभित्र खानपिनसहित मनोरँजनकोलागी झण्डै पाँचशय मानिस अटाउने एउटा छुट्टै रँगमँच तथा प्रेक्षालय हुँदो रहेछ । त्यस्तै विहान ७.३० मा खुलेर चार बजे विहान बन्द हुने क्यासिनो, विहान दश बजेदेखि राती दुईबजेसम्म चल्ने पाँचवटा बार, वयस्कहरुकोलागीमात्र अलग्गै स्विमिँग पूल, तीनवटा विशाल बफे बार जहाँ ब्रेकफास्ट, लँच अनि डिनर एकनासले उपलव्ध भईरहन्छन् । कर मुक्त पसल, लुगा फाटो तथा गहना पसल, गिफ्ट शपपनि रहेछन् । वयस्ककोलागीमात्र एकल व्यक्तिको हास्य कार्यक्रम दिनमा तीनपटकसम्म प्रस्तुत हुँदो रहेछ । डान्स ल्फोर, क्याफे, अन्य रेष्टुरेण्ट आदिपनि उपलव्ध रहेछन् । अर्काे अर्थमा एउटा सानोतिनो बजार जुन समुद्रमाथि चलायमान भई रहन्छ ।

माथि उल्लेखित रमाईला प्रसँगहरु बाहेक एउटा मन छुने प्रसँगः— सामान्यतयाः अभिभावकहरुले आफ्ना छोराछोरीहरुलाई बाटोघाटो हिँडदा पोशाकमा कोहि सैनिक भेट्यो भने ‘थ्याँक यु फर योर सर्भिस’ भन्न सिकाएका हुन्छन् । यो देशप्रेम र सेवकप्रतिको आदरको एक उदाहरण हो । यो देशप्रेम र देश सेवकहरुप्रतिको सम्मान जहाजभित्र पनि अनुभव गरिँदा मेरो मन छोयो । कमेडी शो (वयस्ककोलागीमात्र) होस् या अन्य मनोरँजनात्मक कार्यक्रम होस् तिनको अन्त्यमा कार्यक्रम सँचालकले दर्शकहरुलाई लक्षित गरेर ‘सैनिक सेवामा कार्यरत या कार्यरत भै सकेको कोहि दर्शकहरु यदि यहाँ हुनुहुन्छ भने तपाईले देशकोलागी गर्नुभएको सेवाकोलागी धन्यवाद भनेर’ उद्घोष गर्ने गर्दछ । अझ कहिले कहिले ति सेनाहरुलाई आआफ्नो ठाउँमा उठ्न लगाएर बाँकि अन्य दर्शकहरुबाट ताली बजाई अभिवादन गर्न लगाउने गरेको पनि पाइयो । देश सेवाकोलागी ज्यान हत्केलामा राख्न चाहने वर्तमान या भूतपूर्व सैनिकहरुकोलागी गरिएको यो सामुहिक सम्मान आफैँमा गौरवशाली अनुभव गरेँ । यसरी साधारण जनताबाट सामान्य अवस्थामापनि आफुले गरेको सेवाको कदर भएको पाउँदा ति सेनाहरुको छाति ठुलो भएको म आफैले अनुभव गरेँ । यस्तो सम्मानले ति सैनिकहरुले आफुले गरेको कामप्रति कति गौरव गर्दाहुन् सहजै अनुमान गर्न सकिन्छ ।

क्रुजको चौथो दिन जहाज मायामी फर्कने उपक्रममा उत्तरतर्फ हान्निई सकेको थियो । गल्फ अफ मेक्सिकोबाट सिधा उत्तर नभइ घुमाउरो बाटो लिएर मायामीकोलागी रातको दश बजे प्रस्थान गर्यो । अब भने यो जहाज कहिँ रोकिईने छैन । बुधबार राती हिँडेको यो जहाज अब शुक्रबार विहान ८ बजेमात्र रोकिने छ । कोठामा टिभि हेर्दा जहाज बाँकटे हान्दै कि वेष्ट र क्युबाको राजधानी हवानाको बीचमा पर्ने सामुद्रिक मार्ग समातेर हिँडेको देखिन्छ । गति उहि हो २१ नट्स प्रतिघण्टा । अर्थात जमीनको भन्दा ढिला । जहाजबाट ओर्लिएर घचेटौँ जस्तो । तर अब निस्कनकोलागी तयारी पनि गर्नुपर्यो नि भन्दै धमाधम सुटकेसहरु तयार गर्नपट्टि लागियो र सुतियो ।
मायामी पुगेपछि मायामी एक्सकर्सन प्याकेज किन्न पाईने रहेछ । आफ्नो ल्फाईट बेलुका चार बजेमात्र भएकोले झण्डै आठ घण्टा कसरी विताउने होला भन्ने विचारले मायामीपनि घुमिने, समयपनि विताईने भन्ने सोचेर सो प्याकेज लिन खोजेको त अप्ठ्योरोमा फलेको फर्सी झै पो रहेछ । सो प्याकेज आठ बजे शुरु हुने तर आफुभने ८ बजे मायामी पुगिने । लौ भएन । अब एयरपोर्टमा बस्ने कि त आफ्नै हिसाबले मायामी घुम्ने विचार गरियो । पानी जहाजले ८ बजे मायामीमा डक गरेपछि जहाजबाट निस्कन आफ्नो समुहको नाम नबोलाएसम्म कुरी रहनुपर्ने रहेछ । राम्रो व्यवस्थापनको कारणले निस्कँदा धक्कम धक्का नहोस् र निकास सुचारु होस् भन्ने हेतुले यसो गरिएको रहेछ । आफ्नो समुहको पालो आएपछि सहजै ढँगले सुरक्षा र अध्यागमनको बिन्दु पार गरेर एयरपोर्ट जाने बस चढेर एयरपोर्ट पुग्यौँ ।
एयरपोर्ट पुगेर चेक इन गर्न खोज्दा 'टू अर्लि' भन्यो । उडानको पाँचघण्टा अगाडि मात्र हुन्छ रे । अब के गर्ने ? मायामी त घुम्नै पर्यो । तर यो सामान के गर्ने र कहाँ राख्ने भन्ने प्रश्नले छोडेन । यहि सोचलाई एकछिन थाति राखेर वेष्ट पाम बीचमा बस्ने मेरा मित्र सुन्दर जोशीलाई आफु एयरपोर्टमा भएको कुरा भनेँ । (नभनुँ पनि कसरी ? पछि मित्रले थाहा पाए पछि 'फ्लोरिडासम्म आएर मलाई फोन नगर्ने ?' भन्ने वहाँको घुर्की सुन्नु पर्थ्यो | हुन त वहाँ वेष्ट पाम वीच अर्थात मायामीबाट दुइ घण्टा उत्तर बस्नु हुन्छ |)  कुराकानीको बिचमा वहाँले म एकजना भाईलाई सोध्छु, यदि उनको फुर्सद छ भने उनले तपाईलाई मायामी शहर घुमाईदिनु हुनेछ । मैले अप्ठ्यारो मान्दै होइन, अब नचिनेको मानिसलाई किन दुख दिईरहनु भनेँ । साथीले एकछिनपछि फोन गर्छु भन्नु भयो र एकछिनपछि वहाँको फोन आयो । वहाँले चुडामणि खनाल नामको भाई आउनुहुन्छ । वहाँले तपाईलाई घुमाईदिनु हुन्छ भन्नुभयो । हस् भनेर चुडाजीको फोन नम्बर लिएको मात्र थिएँ चुडामणिजीको फोन आइ हाल्यो । ओहो अतिथि सत्कारकोलागि कत्रो अग्रसरता | वहाँले 'म आउँदै छुँ' भन्नु भयो र आधा घण्टामा हामीलाई लिन एयरपोर्ट आईपुग्नु भयो । अनि मायामीको बे साईड तिर घुमाउन लग्नुभयो भने घरमा लन्चकोपनि व्यवस्था गर्नुभयो । पाँचदिनपछि नेपाली मसला र स्वादको खाना खाईएको थियो । खसीको मासु र भात अनि चरेसको थालमा । स्टिलका भाँडाहरुले प्रतिस्थापन गरिसकेको चरेसको थालमा खाना नखाएको एक युग भैसकेको थियो । आफ्नो बाल्यकाल सम्झेँ । गहिरो र गह्रौ अनि सुनौलो टल्किने चरेसको थाल । एकदम रमाईलो मानी खायौँ । मायामीको त्यस क्षेत्रमा बस्ने नेपाली जम्मा ८ ९ परिवार रहेछन् । धेरैजसो विद्यार्थी । अनि चुडाजी चाहिँ वहाँ सबैलाई चाहिएको सहयोग गर्दै हिँडने । सोहि दिनपनि कसैलाई अपार्टमेण्टकोलागी वहाँको सहयोगकोलागी चुडाजीकै घरमा आएका दुई भाईसँग मेरो भेट भएको यिथो । त्यसैगरि कसैलाई एकबाट अर्को अपार्टमेण्ट सर्न वहाँको मदतकोलागी फोनमा कुरा भई रहेको मैले सुनेको थिएँ । समाजसेवी मन र उदारताको उदाहरण थियो ।
लँच खाईसकेपछि एकछिन आरामकासाथ गफ गरेपछि हामी एयरपोर्टकोलागी प्रस्थान गर्यौँ । ४.४० को अमेरिकन एयरलाईन्सको हवाई जहाज चढेर भर्जिनीया तर्फ लागेपछि 'ला...भ्याकेशन त सिद्धियो पो' भन्ने सोचले झल्याँस्स पार्यो । तर मीठा सम्झनाले डोर्याई रह्यो र रहेको छ |
 

Friday, May 27, 2011

सँचार र दायित्व


सँचारको विकास र यसको महत्तामाथि केहि भनिरहनु पर्दैन । यो सबैले बुझेको कुरा हो । छोटो शब्दमा भन्ने हो भने सँचार विना अहिलेको सँसार कल्पना गर्न सकिन्न । त्यसैले सँचारलाई सरकारदेखि व्यापारी, उपभोक्ता लगायत उत्पादक सबैले आफ्नो गन्तव्य पहुँचको माध्यम बनाएका छन् । अनि सरकारको गन्तव्य जनता हुन्, व्यापारी तथा उत्पादकको गन्तव्य उपभोक्ता अर्थात जनता हुन् त्यस्तै राजनैतिक दलको गन्तव्यपनि जनता नै हुन् । सबैको गन्तव्य आखिर जनता नै हुन् र त्थस्तै सँचार माध्यमको गन्तव्यपनि जनता नै हुन् । हरेक कुराको बटम लाईन जनता नै हुन् । तर प्रश्न उठ्छ कसले जनताको बारेमा कति सोचेको छ ?
यस लेखमा हलसालै घटित केहि घटनाहरुको आधारमा सँचारप्रति लक्ष्य गरिएको छ । माथि नै भनिए झैँ सँचार, उत्पादक अनि व्यापारीका गन्तव्य एउटै हुन् अर्थात जनता भनौ पाठक । उत्पादक तथा व्यापारीका आफ्ना सेवा तथा उत्पादन जनतासम्म पुर्याउने प्रमुख माध्यम हो सँचार । तर दुबैथरिले आफ्ना गन्तव्यप्रति के कस्तो उत्तरदायित्व निर्वाह गरेको छ भन्ने ठुलो प्रश्न छ । दुखको कुरा मूलतः नेपालका सँचार र उत्पादक अनि व्यापारीहरुले यस उत्तरदायित्वप्रति केहि बढि नै उदासिनता देखाएका छन् । यसको विपरित सबैले जनतालाई नै दुहुनो गाई या सिल्ली बनाएका छन् ।
बिना पिँधका समाचार
उदाहरणकोलागी सँचारमा प्रकाशित हुने कतिपय विज्ञापनहरु झुटो तथा भ्रामक हुन्छन् । त्यहि विज्ञापनको आधारमा पाठकहरु ठगिन्छन् । हालै चावहिलमा एक नक्कली कार्यालयमा आवश्यकताको विज्ञापन गरेर रोजगारीको अवसरको खोजिमा रहेका बेरोजगारहरुबाट शुल्क लिएर ठग्ने काम भई रहेको पाईयो । यदि सो विज्ञापन प्रकाशन गर्ने सँचारले प्रकाशन गर्नु अघि त्यस विज्ञापनको आधिकारिकता बुझेर प्रकाशन गरेको भए सोहि पत्रिकाको आफ्नै बेरोजगार पाठक ठगिनबाट बञ्चित हुने थिए होला । तर यहाँ त पैसाको कुरा छ । जस्तो विज्ञापन आएपनि छापिदिने पत्रिकालाई पैसा आए पुग्यो । आफ्नै पाठक ठगिए ठगिउन् । ठगिका विज्ञापन प्रकाशन गरेर आफ्नै पाठकहरुप्रति घात गरेको ठहरिन्छ । यस्तै विज्ञापन धेरै छापिएर पाठकहरु ठगिइन थाले भने सँचारको साखमा नै आँच आउने या विश्वसनियतामाथि प्रश्न उठ्न सक्छ भनेर सँचार आफै सजग नहुनु राज्यको चौथो अँगको उपाधिको उपहास गर्नुमात्र हो भन्दा अत्युक्ति नहोला ।
त्यस्तै वैदेशिक रोजगारीको अवसरको लालसा दिएर छापिने कतिपय विज्ञापनबाट बेरोजगारबाट ग्रसित थुपै्र युवाहरु ठगको पँजामा परेर अझ बढि आपतमा परेको समाचार हामीले सुन्दै पढदै आएकै छौ । यसमापनि सँचारले त्यसरी प्रकाशनकोलागी आएको विज्ञापन कत्तिको विश्वसनिय छ, विज्ञापनदाता आधिकारिक हो कि होईन, त्यस्तो कारोबार गर्न ईजाजत प्राप्त छ छैन आदिको खोजखबर नगरी आएको विज्ञापन प्रकाशन गरेर पैसा सोहोर्न हतार गर्दा आफ्नै पाठक ठगिनमा सहयोग गरेको छ । सँचार माध्यममा नैतिकता छ भने त्यस ठगीको उत्तरदायित्व उसलेपनि लिन जान्नुपर्छ । यदि आफ्नो पाठकप्रति उत्तरदायित्व वहन गर्ने नैतिक सोच छ भने उसले आत्मालोचना गर्नुपर्छ । किनभने उसकै कारणले उसमाथि विश्वास गरेर पढने कुनै एक पाठक ठगीको शिकार भयो । यो नैतिकताको शिक्षा कहिले लिने र विज्ञापन प्रकाशनमा सावधानी कहिलेदेखि अपनाउने ?
हलै प्रकाशित अनुजा बानियाको समाचारले नैतिकतामाथि विश्वास गर्ने सम्पूर्ण पाठकहरुले एक सुखद सास फेरे । विश्वासै गर्न गाहारो भएपनि प्रकाशनमा आएको विषयलाई आधारमा राष्ट्र्पति तथा प्रधान न्यायधिश समेत शिकार भए । हर्ष सुब्बाको नाममा प्रकाशित समाचार आखिर नक्कली ठहरियो । सँचारले क्षमा माग्नु पर्याे । तर क्षमा मागे पनि त्यस समाचारबाट प्रभावित कतिपय घटनाहरुलाई फिर्ता गर्न सकिँदैन । यदि यसप्रति पहिले नै सजगता, सतर्कता अनि अनुसन्धान र खोजविन गरेको भए यो अवस्था आउने नै थिएन । यसबाट सम्पूर्ण पाठकहरुमा परेको नकारात्मक असरले पत्रिकाको आधिकारिकतामाथि सजिलै आँच आउँछ ।
यस्ता पिँधबिनाका समाचार छापिएर देशमा आँधि बेहरी आएर जन धनको क्षति भएको उदाहरणपनि थुप्रै छन् । ह्रितिक रोशनको काण्ड होस् एक प्रमुख उदाहरण हो । बतासे पत्रिकाले चलाएको बतासको भरमा केहि मानिस अकालमा मरे, सार्वजनिक सम्पत्तिको नाश भयो, सरकारले क्षतिपूर्ति व्यहोर्नु पर्याे । रोशनको नाममा दिनभर भारत विरोधि उग्र नारा लगाउनेहरु बेलुकि घरमा गएर हिन्दि सिरियल हेरेर या गीत सुनेर सुते । यो हाँसो लाग्दो राष्ट्र्रवाद थियो जसको न कुनै आधार थियो न कुनै कारण । तर बतासे पत्रिकाले गर्नु क्षति गरेरै छोड्यो । यदि पत्रिकाले जनता, देश तथा सरकारप्रति जिम्मेवारको बोध गरेको भए यो अवस्था आउने नै थिएन । मलाई थाहा छैन यदि त्यस पत्रिकाले आम माफि मागेर चोखिने काम गर्याे कि गरेन ।
हुन त सँसारका केहि नाम चलेका पत्र पत्रिकाहरुपनि यस्तो झुटो समाचारको शिकार भएको पाईएको छ । ति पत्रिकाका सम्वाददाता या लेखक पत्रिकाकोलागी एक भरपर्दाे सूत्रको रुपमा स्थापित भैसकेपछि कहिले काहिँ उप्रतिको विश्वासको आधारमा बतासे खबर छापिने हो । तर त्यसैलाई नजीर या उदाहरण बनाएर आफ्नो गल्ति ढाकछोप गर्ने या न्यूनीकरण गर्नु लाजमर्दाे कुरा हो । अरुलेपनि त गल्ति गरेकै छ भनेर आफु बच्न चाहनुपनि निर्लज्जताको द्योतक हो ।
विज्ञापन होस या समाचार होस् या सँचारमा प्रकाशन हुने कुनैपनि सामाग्रीले पाठक उपभोक्तामा कस्तो असर पर्न जान्छ भन्ने पुर्व सोच बनाउनै पर्छ र त्यसरी प्रकाशन भएको सामाग्रीले पर्ने कुनैपनि नकारात्मक असर या परिणामको सँचारले नैतिक जिम्मेवारी लिनैपर्छ भन्ने आचार सँहितामा उल्लेख गरिनु आवश्यक भईसकेको छ जस्तो लाग्छ ।
किन यस्तो हुन्छ र यसको रोकथाम के ?
२०४६ सालपछि सँचारमा आएको विकासको लहर नेपालकोलागी एक उपब्धिको रुपमा हेरिएपनि माथि भनेजस्तै देखिएका लापरवाहीले सँचारको गुणस्तरमा साँचो विकास भएको पाईदैन । सहस्र खुलेका सँचार माध्यमहरुमा कार्यरत सम्पादक, पत्रकार, समाचारदाता, समाचारवाचक लगायतका सबैमा उचित र आवश्यक शिक्षा, तालिम तथा प्रयोगात्मक व्यवहारको कमी पाईन्छ । ति मध्ये धेरै थोरै विश्वविद्यालयबाट शिक्षा हासिल गरेका होलान् । अन्यथा धेरैजसो कुनै एक ईन्स्टिच्युटबाट छ महिने या यस्तै आवधिक कोर्स पुरा गरेर सँचारसँग आबद्ध हुनपुग्छन् । तिनले समाचार कसरी बनाउने भन्ने त सिके होलान् तर कस्तो, किन, के होला भन्ने जस्ता आदि प्रश्नका जवाफ भने हुँदैन । परिणामतः जेपनि प्रकाशित या गर्ने या लापरवाहिकासाथ समाचार प्रकाशन हुन्छ ।
सरकारले सँचार माध्यम स्थापनाकोलागी कडा तथा जिम्मेवार बनाउने नियमको व्यवस्था गर्नुपर्ने हुन्छ । अनि निश्चित स्तरको शिक्षा मापदण्ड तय गरि त्यसभित्र पर्नेहरुहरुलाईमात्र सँचारसँग आबद्ध हुन पाउने व्यवस्था गर्नुपर्ने देखिन्छ ।