https://twitter.com/Chirvir

Tweet me @chirvir







Friday, May 27, 2011

सँचार र दायित्व


सँचारको विकास र यसको महत्तामाथि केहि भनिरहनु पर्दैन । यो सबैले बुझेको कुरा हो । छोटो शब्दमा भन्ने हो भने सँचार विना अहिलेको सँसार कल्पना गर्न सकिन्न । त्यसैले सँचारलाई सरकारदेखि व्यापारी, उपभोक्ता लगायत उत्पादक सबैले आफ्नो गन्तव्य पहुँचको माध्यम बनाएका छन् । अनि सरकारको गन्तव्य जनता हुन्, व्यापारी तथा उत्पादकको गन्तव्य उपभोक्ता अर्थात जनता हुन् त्यस्तै राजनैतिक दलको गन्तव्यपनि जनता नै हुन् । सबैको गन्तव्य आखिर जनता नै हुन् र त्थस्तै सँचार माध्यमको गन्तव्यपनि जनता नै हुन् । हरेक कुराको बटम लाईन जनता नै हुन् । तर प्रश्न उठ्छ कसले जनताको बारेमा कति सोचेको छ ?
यस लेखमा हलसालै घटित केहि घटनाहरुको आधारमा सँचारप्रति लक्ष्य गरिएको छ । माथि नै भनिए झैँ सँचार, उत्पादक अनि व्यापारीका गन्तव्य एउटै हुन् अर्थात जनता भनौ पाठक । उत्पादक तथा व्यापारीका आफ्ना सेवा तथा उत्पादन जनतासम्म पुर्याउने प्रमुख माध्यम हो सँचार । तर दुबैथरिले आफ्ना गन्तव्यप्रति के कस्तो उत्तरदायित्व निर्वाह गरेको छ भन्ने ठुलो प्रश्न छ । दुखको कुरा मूलतः नेपालका सँचार र उत्पादक अनि व्यापारीहरुले यस उत्तरदायित्वप्रति केहि बढि नै उदासिनता देखाएका छन् । यसको विपरित सबैले जनतालाई नै दुहुनो गाई या सिल्ली बनाएका छन् ।
बिना पिँधका समाचार
उदाहरणकोलागी सँचारमा प्रकाशित हुने कतिपय विज्ञापनहरु झुटो तथा भ्रामक हुन्छन् । त्यहि विज्ञापनको आधारमा पाठकहरु ठगिन्छन् । हालै चावहिलमा एक नक्कली कार्यालयमा आवश्यकताको विज्ञापन गरेर रोजगारीको अवसरको खोजिमा रहेका बेरोजगारहरुबाट शुल्क लिएर ठग्ने काम भई रहेको पाईयो । यदि सो विज्ञापन प्रकाशन गर्ने सँचारले प्रकाशन गर्नु अघि त्यस विज्ञापनको आधिकारिकता बुझेर प्रकाशन गरेको भए सोहि पत्रिकाको आफ्नै बेरोजगार पाठक ठगिनबाट बञ्चित हुने थिए होला । तर यहाँ त पैसाको कुरा छ । जस्तो विज्ञापन आएपनि छापिदिने पत्रिकालाई पैसा आए पुग्यो । आफ्नै पाठक ठगिए ठगिउन् । ठगिका विज्ञापन प्रकाशन गरेर आफ्नै पाठकहरुप्रति घात गरेको ठहरिन्छ । यस्तै विज्ञापन धेरै छापिएर पाठकहरु ठगिइन थाले भने सँचारको साखमा नै आँच आउने या विश्वसनियतामाथि प्रश्न उठ्न सक्छ भनेर सँचार आफै सजग नहुनु राज्यको चौथो अँगको उपाधिको उपहास गर्नुमात्र हो भन्दा अत्युक्ति नहोला ।
त्यस्तै वैदेशिक रोजगारीको अवसरको लालसा दिएर छापिने कतिपय विज्ञापनबाट बेरोजगारबाट ग्रसित थुपै्र युवाहरु ठगको पँजामा परेर अझ बढि आपतमा परेको समाचार हामीले सुन्दै पढदै आएकै छौ । यसमापनि सँचारले त्यसरी प्रकाशनकोलागी आएको विज्ञापन कत्तिको विश्वसनिय छ, विज्ञापनदाता आधिकारिक हो कि होईन, त्यस्तो कारोबार गर्न ईजाजत प्राप्त छ छैन आदिको खोजखबर नगरी आएको विज्ञापन प्रकाशन गरेर पैसा सोहोर्न हतार गर्दा आफ्नै पाठक ठगिनमा सहयोग गरेको छ । सँचार माध्यममा नैतिकता छ भने त्यस ठगीको उत्तरदायित्व उसलेपनि लिन जान्नुपर्छ । यदि आफ्नो पाठकप्रति उत्तरदायित्व वहन गर्ने नैतिक सोच छ भने उसले आत्मालोचना गर्नुपर्छ । किनभने उसकै कारणले उसमाथि विश्वास गरेर पढने कुनै एक पाठक ठगीको शिकार भयो । यो नैतिकताको शिक्षा कहिले लिने र विज्ञापन प्रकाशनमा सावधानी कहिलेदेखि अपनाउने ?
हलै प्रकाशित अनुजा बानियाको समाचारले नैतिकतामाथि विश्वास गर्ने सम्पूर्ण पाठकहरुले एक सुखद सास फेरे । विश्वासै गर्न गाहारो भएपनि प्रकाशनमा आएको विषयलाई आधारमा राष्ट्र्पति तथा प्रधान न्यायधिश समेत शिकार भए । हर्ष सुब्बाको नाममा प्रकाशित समाचार आखिर नक्कली ठहरियो । सँचारले क्षमा माग्नु पर्याे । तर क्षमा मागे पनि त्यस समाचारबाट प्रभावित कतिपय घटनाहरुलाई फिर्ता गर्न सकिँदैन । यदि यसप्रति पहिले नै सजगता, सतर्कता अनि अनुसन्धान र खोजविन गरेको भए यो अवस्था आउने नै थिएन । यसबाट सम्पूर्ण पाठकहरुमा परेको नकारात्मक असरले पत्रिकाको आधिकारिकतामाथि सजिलै आँच आउँछ ।
यस्ता पिँधबिनाका समाचार छापिएर देशमा आँधि बेहरी आएर जन धनको क्षति भएको उदाहरणपनि थुप्रै छन् । ह्रितिक रोशनको काण्ड होस् एक प्रमुख उदाहरण हो । बतासे पत्रिकाले चलाएको बतासको भरमा केहि मानिस अकालमा मरे, सार्वजनिक सम्पत्तिको नाश भयो, सरकारले क्षतिपूर्ति व्यहोर्नु पर्याे । रोशनको नाममा दिनभर भारत विरोधि उग्र नारा लगाउनेहरु बेलुकि घरमा गएर हिन्दि सिरियल हेरेर या गीत सुनेर सुते । यो हाँसो लाग्दो राष्ट्र्रवाद थियो जसको न कुनै आधार थियो न कुनै कारण । तर बतासे पत्रिकाले गर्नु क्षति गरेरै छोड्यो । यदि पत्रिकाले जनता, देश तथा सरकारप्रति जिम्मेवारको बोध गरेको भए यो अवस्था आउने नै थिएन । मलाई थाहा छैन यदि त्यस पत्रिकाले आम माफि मागेर चोखिने काम गर्याे कि गरेन ।
हुन त सँसारका केहि नाम चलेका पत्र पत्रिकाहरुपनि यस्तो झुटो समाचारको शिकार भएको पाईएको छ । ति पत्रिकाका सम्वाददाता या लेखक पत्रिकाकोलागी एक भरपर्दाे सूत्रको रुपमा स्थापित भैसकेपछि कहिले काहिँ उप्रतिको विश्वासको आधारमा बतासे खबर छापिने हो । तर त्यसैलाई नजीर या उदाहरण बनाएर आफ्नो गल्ति ढाकछोप गर्ने या न्यूनीकरण गर्नु लाजमर्दाे कुरा हो । अरुलेपनि त गल्ति गरेकै छ भनेर आफु बच्न चाहनुपनि निर्लज्जताको द्योतक हो ।
विज्ञापन होस या समाचार होस् या सँचारमा प्रकाशन हुने कुनैपनि सामाग्रीले पाठक उपभोक्तामा कस्तो असर पर्न जान्छ भन्ने पुर्व सोच बनाउनै पर्छ र त्यसरी प्रकाशन भएको सामाग्रीले पर्ने कुनैपनि नकारात्मक असर या परिणामको सँचारले नैतिक जिम्मेवारी लिनैपर्छ भन्ने आचार सँहितामा उल्लेख गरिनु आवश्यक भईसकेको छ जस्तो लाग्छ ।
किन यस्तो हुन्छ र यसको रोकथाम के ?
२०४६ सालपछि सँचारमा आएको विकासको लहर नेपालकोलागी एक उपब्धिको रुपमा हेरिएपनि माथि भनेजस्तै देखिएका लापरवाहीले सँचारको गुणस्तरमा साँचो विकास भएको पाईदैन । सहस्र खुलेका सँचार माध्यमहरुमा कार्यरत सम्पादक, पत्रकार, समाचारदाता, समाचारवाचक लगायतका सबैमा उचित र आवश्यक शिक्षा, तालिम तथा प्रयोगात्मक व्यवहारको कमी पाईन्छ । ति मध्ये धेरै थोरै विश्वविद्यालयबाट शिक्षा हासिल गरेका होलान् । अन्यथा धेरैजसो कुनै एक ईन्स्टिच्युटबाट छ महिने या यस्तै आवधिक कोर्स पुरा गरेर सँचारसँग आबद्ध हुनपुग्छन् । तिनले समाचार कसरी बनाउने भन्ने त सिके होलान् तर कस्तो, किन, के होला भन्ने जस्ता आदि प्रश्नका जवाफ भने हुँदैन । परिणामतः जेपनि प्रकाशित या गर्ने या लापरवाहिकासाथ समाचार प्रकाशन हुन्छ ।
सरकारले सँचार माध्यम स्थापनाकोलागी कडा तथा जिम्मेवार बनाउने नियमको व्यवस्था गर्नुपर्ने हुन्छ । अनि निश्चित स्तरको शिक्षा मापदण्ड तय गरि त्यसभित्र पर्नेहरुहरुलाईमात्र सँचारसँग आबद्ध हुन पाउने व्यवस्था गर्नुपर्ने देखिन्छ ।

Friday, February 25, 2011

देश भोकाहरुको रोटी होइन

(यो शीर्षक कवि हेमन्त श्रेष्ठव्दारा २०५३ सालमा लेखिएको कविताको शीर्षकबाट सापटी लिएको हुँ। मेरो यस ब्लगको लागि योभन्दा अरु कुनै शीर्षक जुरेन, भनौँ अरु कुनै पनि उचित लागेन। शीर्षक तथा कविताँश प्रयोग गर्न स्वीकृति दिनुहुने कविलाई धन्यवाद।)
राजतन्त्रको अवसानपछि सत्ताको लागि दलहरुविच देखिएको लुछाचुँडीले यहि कुरा जनाउँछ कि देश एक रोटी हो अनि दल र दलका नेता उपनेताहरु भोका हुन्। भोकाहरुको विच एक रोटीकोलागी ङयारङयार ङुरङुर अनन्त चलिरहेको छ। सबैलाई थाहा छ एकआपसमा मिलेको खण्डमा देशले तुरुन्त तिब्र गति लिनेछ। तर त्यो तिव्रता दिनकोलागी भने कुनै दलपनि तयार छैनन्। सबैले आआफ्नो डम्फु बजाइ रहेका छन्। आफुले गरेको र बोलेको मात्र असल या ठिक, अरुले गरेका, बोलेका सबै गलत भन्ने गलत निर्क्यौलले देश अनिर्णयको बन्दि भइरहेको छ। जनताहरुले आन्दोलनमा साथ दिएर आफ्नो धनजनको सुरक्षा, आय आर्जनको निश्चिन्तता अनि शान्ति, सुरक्षाको मनोकाँक्षा राखेका थिए। तर यो सपना र चाहनामै सिमित हुन पुगेको छ।
पुष्पकमलको राजीनामापछि धक्कमधक्का, घुर्काघुर्कि र किनबेचको फोहोरी खेल खेलियो। देशलाई मुक्ति दिन एकसाथ लडेका यि दलहरुमा आपसी समझदारी हुनुको साटो एउटा मेचकोलागी राष्ट्र् र जनतालाई बन्दि बनाए। देश र जनता हिजोको एउटा समस्याबाट मुक्त त भयो तर अर्काे थुप्रै समस्याका बीच घेरिए। समस्यामात्र होइन नैराश्य र अस्थिरता अनि असुरक्षापनि बढ्यो। नेपाल देश हाँसोको विषय बन्यो। नेपालीहरु हास्यका पात्र बने। अनि सभासद्मा हारेका व्यक्ति माधव नेपाल प्रधानमन्त्री भए। तर जनताले यसलाईपनि सहजताकासाथ लिए। किनभने देशले सँविधान पाउँछ भने, देशले शान्ति र विकासको मार्ग अवलम्बन गर्ने मौका पाउँछ भने यो हाँसोको पात्र बन्नु कुनै ठुलो विषय होइन। तर आशा गरेका यि कुनैपनि पुरा भएनन्। पुरा त के बरु सँविधान सभाकोलागी म्याद थपियो। शान्ति र विकास होइन यसको ठिक विपरितका क्रियाकलाप गरियो। देशको स्वार्थलाई छोडेर आफ्नो स्वार्थ नदेखे समर्थन नगर्ने प्रवृत्ति भएका दलहरुले आखिर माधव नेपाललाईपनि राजिनामा गर्न बाध्य त बनाए। तर उनै व्यक्ति राजिनामा दिएपनि सात महिनाभन्दा बढि प्रधानमन्त्री नै भैरहे। अर्काे हाँसो र लाज मर्नुको विषय।
राजिनामा दिएपछि सात महिना भन्दा बढि सोहि पदमा रहिरहनुको कारण हो फेरि उहि एकआपसमा पदकोलागी खिचलो। न त दलहरुले आपसी सद्भाव नै देखाए। न त विपक्षलाई सम्मान या अवसर दिन कसैले जाने। सत्र पटकसम्म प्रधानमन्त्री पदकोलागी चुनाव गरियो। बिना कुनै लाज या विना कुनै हिच्किचाहटका साथ देशलाई बन्दि बनाइ राख्नुमै रमाए। एउटा प्रधानमन्त्री पदकोलागी दलहरु र दलहरुभित्रको उपदलहरुको फोहोरी खेलले प्रष्ट गरेको छ त्यो मेच एउटा रोटि हो भने यि नेता उपनेता भनाउँदाहरु भोका हुन्।
अठारौँ पटकको निर्वाचनमा बल्ल प्रधानमन्त्रीको टुँगो लागेको सुन्दा देशले केहि सुखको सास फेरेको थियो। तर त्यो दुइजनाकोमात्र विचार र सल्लाहबाट भएको रहेछ। सातबुँदे सम्झौताले स्पष्ट के देखाउँछ भने सत्ताकोलागी एकापसमा गुप्ती सम्झौता पनि गर्न पछि नपर्ने रहेछन् यि नेताहरु। सत्ताकोलागी लुछाचुँडिको अर्काे रुप हो यो। यदि साँच्चिकै सद्भाव र सहयोगको भावनाले एकर्कालाई समर्थन गरिएको भए त अहिलेसम्म मन्त्रीमण्डलले पूर्णता पाइसक्ने थियो। तर त्यो सम्झौता काँचो र नरम सतहमा बसेर सत्ता मोहको परिवेशमा बाँधिएर गरिएकोले त्यसको नकारात्मक परिणाम त आउनु नै थियो जुन हामी अहिले देख्दैछौ। आखिर निर्क्यौल के हो भने सत्ताकोलागी जेपनि गर्न चाहेर या गरेर देश भोकाहरुको रोटी भएको छ।
त्यसैगरी आफ्नै पार्टीका सदस्यहरुले मन्त्री पद नपाए घुर्क्याउने तथा धम्क्याउने प्रचलन बढेको छ। के हो मन्त्री पद? पार्टीमा कसैको चाकरी र साथ दिएको भरमा मन्त्री हुने या कुनै दक्षता, कुशलताको आधारमा मन्त्री बन्ने? देशलाई अग्रगामी दिशातर्फ उन्मुख गराउन विकासका योजनाहरु ल्याउन सक्ने व्यक्ति मन्त्री बन्ने कि पार्टीभित्र इतर या वितर पक्षमा लागेको आधारमा मन्त्री बन्ने? खोइ नेताहरुमा हुनुपर्ने निश्वार्थता? खोइ नेताहरुमा हुनुपर्ने सौहार्द्रता? खोइ नेतामा हुनुपर्ने त्याग र बलिदानको उदाहरण? नेतामा देखिएको चरित्रले हामी जनताहरुलाई लाज मान्दा मान्दा अब घृणा लाग्न थालिसकेको छ। झलनाथले झापड खानु परेकोे यिनै आक्रोस तथा नैराश्यताको परिणति हो।
दलहरुले आफु अनुकूल चीर हरण गर्दै सँशोधन गरिँदै आएको अन्तरिम सँविधानको पनि शयदिनपछि अन्त्य हुनेछ। अर्थात नयाँ सँविधानकोलागी त्यति नै दिन बाँकि छ। दुइवर्षको अवधि नपुग भएको हाम्रा सभासद् र दलहरुलाई पक्कैपनि यो शय दिन फेरि नपुग हुनेछ। अर्थात देश झन् अनिर्णयको बन्दि हुन बाध्य हुनेछ। जनतामा नैराश्य, अशान्ति, असुरक्षा, अनिश्चितताको बृद्धि हुने छ। जुन अहिले नै पर्याप्त भैसकेको छ। त्यसैले देशलाई रोटीको रुपमा नहेरेर आत्मा साक्षी राखी मन, वचन र कर्मले सद्भाव, सहयोगकासाथ देशलाई अनिर्णयको बन्दिबाट मुक्ति गरुन् भन्ने हामी सामान्य जनताको तिब्र चाहना र माग हो।
अन्त्यमा उपरोक्त शिर्षकको कविताको एक अँशः

भोज छ निरन्तर
दशैँमा झैँ
मार हानिएको छ देशलाई
भतेर छ यत्रतत्र
बिहेमा झैँ
शिकार बनाइएको छ देशलाई
भोकाहरुको कोलाज छ
लुछिएको छ
चोक्टा चोक्टा चिथोरिएको छ
देश ।

माइ संसार डट कममा प्रकाशित |

Thursday, January 27, 2011

एएनएको सम्मेलन कहाँ ?

गत वर्ष बोष्टनमा सम्पन्न भएको एएनएको वार्षिक सम्मेलनपछि छताछुल्ल भएको आर्थिक अनियमता र सँस्थालाई भएको झण्डै ८६ हजार डलरको नोक्सानपछि स्वभावतः सँस्थाको साखमा मनग्गे हानी पुगेको छ । अझ सँस्थाका पदाधिकारीहरुबिच को कायम रहने को नरहने या कसले कसलाई कसरी कारवाहि गर्ने भन्ने कुराको विवादले २८ वर्षे एएनएको ईतिहासमा नराम्रो दाग लागेको छ भन्दा जोसुकैलेपनि मँजुर गर्नेछन् ।
सँस्थाले बेहोर्नु परेको घाटाको कारण कुनैपनि जिम्मेवार पदाधिकारीहरुले नैतिक जिम्मेवारी समेत नलिई एक अर्कामा आरोप प्रत्यारोपमा अल्झिएर एएनएका शुभचिन्तकहरुलाई अझ अन्धकारमा राख्ने विवादलेपनि सँस्थाकै भविष्यप्रति शँका उठ्ने सम्भावनालाई नकार्न सकिन्न ।  
माथिका कारणले गर्दा अबको सम्मेलन कहाँ हुने हो भन्नेपनि प्रश्न उठ्नु स्वावाभिक हो । विवादित सँस्थामा कसैले हात हाल्न चाहँदैन । यसको उदाहरण हो कोलोराडोको रक्की माउण्टेन फ्रेण्डस् अफ नेपाल नामक सँस्था । बोष्टन सम्मेलनको अन्त्यमा आगामी वर्ष कोलोराडोमा सम्मेलन हुने भनि निधो गरिएको थियो । आगामी २९ औँ सम्मेलनको जिम्मा लिने रक्कि माउण्टेनलाई त्यसबेला एएनए भित्र के कस्तो खिचडि पाकिरहेको छ या पाक्ने छ भन्ने के थाहा  तर समय वित्दै गएपछि भित्रका सम्पुर्ण समस्याहरु सार्वजनिक भएर छताछुल्ल भएपछि रक्की माउण्टेनले सो सम्मेलन नगर्ने निधो गरेको छ । त्यसकारण एएनएका सभापति अब सो सम्मेलन वासिँगटन डिसी या यसको वरपर गर्ने गराउने तरखरमा जुटेका छन् । सोकोलागी तिनले उपसभापति तथा कन्भेनरको खोजीपनि शुरु गरिसकेका छन् । स्मरणीय रहोस् एएनएका उपसभापति नै सम्मेलनको कन्भेनर हुने व्यवस्था एएनएको विधानले गरेको छ । आर्थिक अनिमियतता र नोक्सानको घटनापछि एएनएका उपसभापति तथा बोष्टन सम्मेलनका कन्भेनर मेदिनी अधिकारीले राजिनामा दिएपछि सो पद रिक्त हुन आएको हो । तर अर्काे प्रश्न के पनि छ भने के सभापतिलाई उपसभापति मनोनयन गर्ने अधिकार विधानले दिएको छ  
जे होस् अर्कोतर्फ भने रक्की माउण्टेन सम्मेलन आयोजकबाट पछि हटेपछि कोलोराडोकै नेपाली घर नामक सँस्था आयोजक बन्न अघि सरेकोपनि थाहा हुन आएको छ । यदि यस सँस्थाले आयोजना गर्ने मौका पायो भने एएनएका सभापतिको केहि हदसम्म नाक रहने अनुमान गर्न सकिन्छ । किनभने कोलोराडोमा हुने भनिएको सम्मेलन अन्त कतै हुनुले निकै थप प्रश्नहरु निस्कन सक्छन् अथवा आर्थिक अनिमियतताको बारेमा थाहा नहुनेहरुलेपनि थाहा पाउने हुनसक्छन् ।
 नेपाली घर भनेको कोलोराडोमा दुईवर्ष अघि रक्की माउण्टेनको निर्वाचनमा विवाद आएर बाहिरिएका व्यक्तिहरुले खोलेको सँस्था हो । स्वभावैले कोलोराडोका समुदाय यो र त्योमा विभाजित भएको छ । यस्तो अवस्थामा नेपाली घरले आयोजना गर्ने सम्मेलन कति सफल हुने हो त्योपनि अहम् प्रश्नको रुपमा रहेको छ ।
 जे होस् एएनएको दुषित आर्थिक कारोवारको कारणले या त पूर्व घोषित आयोजक परिवर्तन हुने पक्का छ या त सम्मेलन स्थल नै परिवर्तन हुने पक्का छ । जम्मा सात महिना बाँकि रहेको सो सम्मेलन कहाँ र कसले गर्ने भन्ने अन्यौल अझै रहेको छ । जबकि यसबेलासम्म सम्मेलनको तयारीकोलागी पाईलाहरु चालीसकेको देखिनुपर्ने थियो ।

Saturday, January 15, 2011

प्रधान मन्त्रीको दौड

सत्र पटकको असफल प्रधान मन्त्रीको चुनाव पछि फेरी अर्को नाटक मंचन हुँदै छ | बल्ल बल्ल राम चन्द्र पौडेलले मैदान छोडेका छन् | राजनीतिक सहमतिबाट सरकार गठन गर्नु भन्ने आदेश राष्ट्रपतिबाट जारि भएको छ | राष्ट्रपतिले पनि बल्ल काम पाएका छन् | नत्र उद्घाटन, पुरस्कार वितरणमा नै उनको भत्ता  पची रहेको थियो | हुन पनि के गरुन विचरा ! बोल्ने अधिकार छैन | बोलि हाले गालीका गोलि हानी हाल्छन | पंगु या पुतली राष्ट्रपति भएर बस्न त उनलाई पनि के मन लाग्दो हो र ?

जे होस् अब सर्वदलीयको नाममा को माथि या को तल जाने हुन् | यसमा साना दलको ठुलो भाउ हुने पनि देखिएको छ | कांग्रेस, एमाले र माओवादी एकै ठाउँमा आउने सम्भावना नै छैन | रिमोटको सुइले कसलाई कसरि नियन्त्रण गरेको छ त्यो त हेर्न नै बाँकि छ | त्यसो त नदेखिएको पनि कहाँ हो र ? तर यो अन्त्यहीन नाटक हो | एक एकांकीको अन्त्य पछि अर्को आरम्भ हुन्छ | त्यसकारण हेर्ने बाकी छ भनेको हुँ |

आफ्नो विवेक, आफ्नो दृष्टि, आफ्नो सिद्धान्तकासाथ देशलाई अगुवाई दिन अघि बढेका नेता त हामीले पाउनै सकेनौं | विदेशी सिद्धान्त, विदेशी निर्देशन, विदेशी विचार आफ्नो मन्त्र ठानेर विदेशीका फोटाहरु आफ्नो कोठामा राखेर डुक्रने नेता भनाउँदा ब्वाँसाहरु हामीले पाउनु हाम्रो दुर्भाग्य हो | देशले न वि पि जस्तो नेता पायो, न महेन्द्र जस्तो राजा नै पाए | यी दुइ बाहेक सबै विदेशी दलालहरु | जसले विदेशी सोच र बिचार हामीप्रति लाद्न खोज्छन | या कतिपय नेता भनाउँदाहरुको मस्तिष्क नै खाली छ | लाटाको खुट्टा बाटामा परेकोले यी नेता भएका हुन् | अहिलेका अधिकांश सभासद जस्तै |

दलका नेता भनाउँदाहरुको अध्ययन, ज्ञान या शिपको कुरा गर्ने हो भने सबै फेल हुने छन् | हिन्दी फिल्मको जस्तो राजनीति गर्न पल्केकाहरुलाई ज्ञान, शिप र अध्ययनको के आवश्यकता ? तर उनिहरुको मुर्खताले देश र जनताले सुखको सास फेर्न पाएका छैनन् |

अब फेरी यिनीहरुको दौड शुरु भएको छ | यो दल र त्यो दल गर्दै आफ्नोमात्र मुख र स्वार्थ हेरेर कुन चाहिं प्रधान मन्त्रि हुने हो हेर्न बाँकी छ | यसरी बनेको प्रधान मन्त्रिको कुनै बलियो धरातल हुन्न भनेर हामीले देखि सकेका छौं | किनभने छिसिक्क भयो कि सरकारबाट बाहिरिने धम्कीले त्यो पद सधैं त्राही त्राही भइ रहेको हुन्छ | अनि मन्त्रिले या दलका कार्यकर्ताले जे गरे नि भयो | जसको मार सिधा जनता र देशमा परि रहेको हुन्छ | आफु प्रधान मन्त्रि पदमा रहि रहन जस्तो पनि तिलान्जली दिने व्यक्तिको छनौट नहोस भन्ने चाहना हुँदा हुँदै पनि यसको सम्भवना भने क्षीण छ भन्न सकिन्छ |
तर पनि झिनो आशाकासाथ देशले निश्वार्थ, देशमुखी र जनमुखी प्रधान मन्त्रि छिट्टै पाओस |