https://twitter.com/Chirvir

Tweet me @chirvir







Sunday, November 7, 2010

जनताको सर्वोच्चता एक निहुँ

नेपालको राजनीतिमासंलग्न दलहरुले एक आपसमा विष वमन गर्नुपर्यो भने सजिलैसँग जनताको नाम अगाडि सारेर माराकाट गर्छन् । एक दललाई अर्को दलले गरेको काम कारवाहिमा चित्त बुझेन भने जनताको नाममा नाराबन्दी, जुलुस, हत्या हिँसा गर्नमा नेपालका दलहरु एकदम सिपालु छन् । तर जुन विषयकोलागी यि कुकृत्य गर्छन ति कुराहरु न जनताले चाहेका हुन्छन् न त त्रि्रो नाममा हामी यसो गरौ है भनेर सोधेका हुन्छन् । फगत हामी जनताको नाममा हाम्रै दोहोलो काटिने गरि मजाक उर्डाई रहेका हुन्छन् । यसलाई एक विडम्बना नै भन्नर्ुपर्छ । किनभने जनताकोलागी भनेर लर्डाई थालिएको दशकौ भई सकेको छ तर जनताको स्तर भने झन झन खस्कँदो छ । राणा कालदेखि पँचायत र प्रजातन्त्र अनि गणतन्त्र या लोकतन्त्रको स्थापना भएको अवस्थामा समेत जनताहरुको अवस्था जहाँको त्यहिँ छ ।
१०४ वर्षे राणा शासनमा जनतालाई जति दमन गरिएपनि तिनिहरुले जनताको नाममा कुनै भाषण या नाराबाजी गरेनन् अपितु जनता सँधै तेश्रो दर्जाको नागरिक रहन बाध्य थिए । त्यसपछि तिनको विरुद्ध २००७ सालमा प्रजातन्त्रको स्थापना भयो तर च्याउ सरह उम्रेका राजनैतिक दलहरु र दरबारको आपसी शक्तिकोलागी खिँचातानीमा जनता घुन नै भई रहे । विचरा जनता मूक दर्शक । दरबार जनताको नाममा शक्ति आफ्नै पकडमा राख्न चाहन्थ्यो भने राजनैतिक दलहरु च्ााहेको शक्तिकोलागी आपसी लर्डाईमा व्यस्त रहेर राष्ट्र् र जनताको भलोलाई कुना पन्छाए अनि जनता सधै घुन नै भई रहे ।
२०१७ सालको पँचायति व्यवस्थाले देश, जनता र राजाको नाममा कठोर र निरँकुश सँविधान लादेर दरबार र दरबारीयाहरु आकास्सिएर धनि र सम्भ्रान्त बने भने बाँकि जनता या त निरिह कर्मचारी, या नाँगो शरीर र भोको पेट बोकेका किसान बनेर जिविका चलाउन बाध्य भए । दिनहुँ रेडियो या टेलिभिजनमा जनताको नाममा खाईने किरियाका भाषणमा आफ्नो नाममात्र सुनिरहे तर प्रत्यक्ष अनुभव र उपभोग भने दिवास्वप्न नै ठानिरहे ।
२०३६ सालको विद्यार्थी आन्दोलनको निहुँमा जारी गरिएको जनमत सँग्रहपनि नितान्त ठट्टा नै रहेको मान्दा अत्युक्ति नहोला । जनताको नाममा गरिएको जनमत सँग्रहको नतिजा जनताको मत विपरित नै आयो तर तथाकथित नतिजापनि जनताकै नाममा दरियो । हुन त तत्कालिन राजनैतिक दलहरुपनि पराजित हुनुमा दोषी भएपनि कसैले यसलाई स्विकार्न सक्दैनन् । यसरी एक पटक फेरि जनता स्वाथी नेता र व्यवस्थाकोलागी गोटि बने र आफु चाहिँ जहाँको त्यहिँ रहे ।
२०४६ सालको आन्दोलनमा अब त केहि होला कि भन्ने आशाले सबै मिलेर पँचायति व्यवस्थाको अवसान गरे र प्रजातन्त्रको पर्ुनर्बहाली गरियो र आशा गरिएका नेतालाई सत्ता सुम्पिइयो । तर ति तथाकथित राष्ट्र् चालकहरु उल्टै तिनै जनताको नाममा अनेक निहुँमा खेलौना बनाउँदै आफु र आफन्तमात्र आकास्सिने उद्यम गरिरहे । चप्पल लगाउने गाडि चढ्ने भए । झुपडिमा बस्ने व्यक्ति महलमा बस्न थाले । यस्तो विकास उनिहरुका मेहनत या व्यवशायबाट नभई चरम भ्र्रष्टाचार र घुसखोरी अनि काण्डहरु मच्चाएर धनि भए । तर जनता विचरा तिनका करतुत चुपचाप लाटाले केरा हेरे झै बाध्य भई रहे । पेट भोकोको भोकै, आँग नाँगोको नाँगै । टायरको धुँवा र बारुदको गन्ध सुँघेको सुँघयै ।
यिनै कारण तथा परिस्थितिलाई कारक बनाई माओवादीहरुले २०५१ सालदेखि सशस्त्र आन्दोलन चाल्यो । शुरु शुरुमा गाउँ टोल, छिमेकमा गन्हाएका तथा भ्र्रष्टाचारीमा गनिएका व्यक्तिहरु उपर तथाकथित भौतिक कारवाही गरेर जनर्समर्थन जुटाउन सफल भयो र शनै शनै यो आन्दोलन देशव्यापी भयो तर यसका साथै हत्याको सिलसिलामापनि बृद्धि भयो । अनेक बहाना तथा कारण देखाई जनताको नाममा थालिएको आन्दोलनले जनतालाई नै त्रसित र आतकिँत तुल्यायो । त्यतिमात्र नभई स्वशासित तथा स्वायत्तको नारा उचालेर एक आपसमा लड्ने र भिड्ने पनि बनायो । अनि जनता जनता नै वैमनश्यको शिकार भएर एकता र भाईचाराको नातामा स्खलन ल्यायो । हराम देखि दैवपनि डराउँछ भने झै माओवादीको अतिपनाले गर्दा अन्ततः शान्तिकामी जनताले सत्तामा पर्ुयायो माओवादीलाई । तर फेरि जनता नै शिकार भए । जनताले सँविधान बनाउन र स्ाविधानको निर्क्याैल नभए सम्म सत्तामा पर्ुयाएको माओवादीले काम कुरा एकातिर भने झै प्रधानसेनापतिको निहुँ उराल्यो । यो प्रकरण चलाउने बेला थिएन । विनासित्तिमा गुहुलाई चलाए गन्ध भने झै अस्थिर राजनितिमात्र निम्त्यायो । तर दलको स्वार्थ पुरा गर्न जनताको र्सवाेच्चताको निहुँमा यस प्रकरणले राष्ट्र उपर सिधै विदेशीको हस्तक्षेप समेत निम्त्यायो । जनताले यो चाहेको या देख्न खोजेका थिएनन् । जनताले मात्र छिटो भन्दा छिटो नयाँ नेपालको सँविधान, शान्ति, सुरक्षा अनि राष्ट्र्को त्रि्रतर विकास देख्न, भोग्न र अनुभव गर्न चाहेका थिए । तर विचरा जनता एक पटक फेरि ठगिए आफ्रनै नाममा । हरे ….।
जनताको नाममा जनताले दिएको निर्देशन पुरा गर्न नसकेर राजिनामा दिएर रिक्त रहन आएको प्रधानमन्त्री पदमा सबै दलहरुमा आपसी भागदौड र लुछाचुँडी भयो । यसै भागदौडमा जनताको नाममा रिक्त प्रधानमन्त्रीको पदमा यस्तो व्यक्तिको चयन भयो जो निर्वाचनमा जनताले नै दुत्कारेका थिए । दर्ुइ दर्ुइ स्थानबाट पराजित व्यक्ति जनताको नाममा राष्ट्र्को प्रधानमन्त्री भए र तिनै व्यक्तिले जनताकोलागी मरिमेट्ने वाचा गरेका छन् । पराजित व्यक्ति नालायक हुन्छ भन्ने छैन । तर यहाँ प्रक्रिया, मूल्य र मान्यताको सवाल हो । नवस्थापित प्रजातन्त्र, गणतन्त्र, लोकतन्त्रको रँगमँचमा एक पराजित व्यक्ति प्रधानमन्त्री र उनकै मातहतमा अर्काे पराजित व्यक्ति मन्त्री हुन्छ भने यो भन्दा ठुलो जनताको उपहास के हुन सक्ला र – यो भन्दा ठुलो प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्रको उपहास के हुन सक्ला र – यसभन्दा ठुलो पदलोलुपता र दर्रि्रपनाको उदाहरण के हुन सक्ला र – चुनावमा तिरस्कृत व्यक्तिले कुन आधारमा आफुलाई तिरस्कार गर्नेहरुको उद्धार र कल्याण गर्छ भन्ने आशा गर्नु – अनि जनताको नाममा गरिएको सम्बोधन के को आधारमा पत्याउने – राजाको आव्हानमा प्रधानमन्त्रीको पदमा दरखास्त हाल्ने व्यक्तिले राष्ट्र्को नाममा सम्बोधन गर्दा निरकँुश राजतन्त्र भनेर उच्चारण गर्ने व्यक्तिको सपथ कुन हिसाबले पत्याउनु । उपप्रधानमन्त्रीको पदमा नियुक्त हुनेबेलामा आमाको किरिया नबसेर धर्म कर्ममा विश्वास नगर्ने तथा आधुनिक विचारका देखाउनेले प्रधानमन्त्रीको पदको सपथ र कार्यालय सम्हाल्न ज्योतिषि शास्त्र र धर्मकर्मको आड लिने ढोँगीको कसरी विश्वास गर्ने – राष्ट्र्को शक्तिशाली पदकोलागी सपथ गर्दा न त धर्मको नाममा, न त जनताको नाममा सपथ लिने व्यक्तिले राष्ट््र र जनताको हितमा काम कसरी गर्ला भन्ने चिताउने – तर जनताको नाममा प्रधानमन्त्री भएरै छोडे । भलै यस सरकारको दर्ीघायू नहोला तर अपुरै भएपनि सरकार त बन्यो जनताको नाममा । जहाँ फेरि एक पटक जनता ठगिए र दविए जनता आफ्नै नाममा । फगत उपहासित जनता भएर । तर नारा भने सँधै जनताको र्सवाेच्चता नै आकाशमा गुँजायमान भई रह्यो र यो क्रम कहिले सम्म ?

(माइसंसार डट कममा प्रकाशित)

'माथि'

नेपालको कर्मचारीतन्त्रमा सबैभन्दा प्रिय शब्द हो 'माथि' । यो 'माथि' शब्द नेपालको कर्मचारीतन्त्रमा यति लचिलो र व्यापक छ कि जुनसुकै कामकोलागीपनि यस शब्दको प्रयोग बढो प्रिय ढँगकासाथ भएको हुन्छ । कुनै आदेश तामेल गराउनु परेमा होस् या तखतामा राख्नु परेमा यस शब्दको प्रयोग गरिन्छ । सबैले 'माथि'को शाब्दिक अर्थ बुझेपनि खास्सै 'माथि' भनेको को हो र कहिले, कसरी र किन तलकोलाई आदेश जारी गर्छ भन्ने चाहि कसैले बुझेको छैन र यो बुझने सँस्कारको वृद्धि भएको पनि छैन । भँसारमा सामान छुटाउनु परेमा होस् या रोक लगाउनु परेमा 'माथि'को आदेशमा काम फत्ते हुन्छ । अड्डा अदालतमा वर्षोंदेखि अल्झिरहेको काम 'माथि'को एक शब्दले चामत्कारिक रुपमा सुल्झिन सक्छ । कुनै अपराधमा खोरभित्र रहेको व्यक्ति 'माथि'को एक आदेशमा रिहा हुनसक्छ । 'माथि'को आदेशमा कसैको जागीर गइरहेको हुन्छ या 'माथि'को आदेशमा अयोग्य व्यक्तिको नियुक्ति भईरहेको हुन्छ । 'माथि'को आदेशमा कमाउने र गुमाउने ठाउँमा सजिलै सरुवा भई रहेको हुन्छ । भनौ 'माथि' नामक यो शब्द अति शक्तिशाली छ । 'माथि' नामक शब्द कर्मचारीतन्त्रमा कहिले र कसरी प्रिय बन्न पुग्यो भनेर ठ्याक्कै भन्न नसकेपनि यो शब्द पक्कैपनि राणाकालदेखि बढि प्रचलनमा आएको अनुमान गर्न सकिन्छ । तर पँचायतकालमा यस शब्दको झन चरम प्रयोग गरिएको अनुभव गरिएको छ ।'माथि'को आदेश कुर्ने बानी परेका हाम्रा कर्मचारी प्रहरी या सेना आफ्नो विवेक र बुद्धिले काम गर्न छोडिसकेका छन् । 'माथि'को आदेश पाएर तामेली गरेको काममा माथिबाट यश पाउने र त्यसको साथसाथै पुरस्कार, सरुवा, बढृवा आदि पाउने सम्भावना रहेकोले 'विना आदेश काम किन गर्ने' भन्ने मनशाय रहेको छ । फेरि 'माथि'को आदेशमा काम तामेली गर्नपाए माथिप्रतिको चाकडीपनि राम्रै हुने भएकोले आफुलाई आफ्नो काम, कर्त्तव्य र जिम्मेवारीको राम्रै ज्ञान या बोध भएपनि यसलाई आदेशको प्रतिक्षामा थाति राखेका हुन्छन् । यसरी 'माथि'को आदेश नआएसम्म यी निरिह र पँगु बनेका हुन्छन् र आदेश पाउनासाथ ब्याटरी राखेपछि चलेका पुतली झै एकाएक यिनिहरुमा तदारुकता र जाँगर आउँछ र आउँछन् एक्सनमा । अन्यथा 'राजाको काम कहिले जाला घाम ।' उदाहरणकोलागी केहि महिना पहिले काठमाण्डौमा भएका प्रहरीको सुरक्षाप्रतिको तदारुकता हाम्रो सामुन्ने छ । जुन गतिविधि रोक्नकोलागी वामदेव गौतमको आदेश आयो त्यहि रोक्न समाजका विभिन्न व्यक्तिहरुबाट समय- समयमा अनुनय- विनय नगरिएको होईन तर त्यसलाई न त स्थानिय प्रशासनले कुनै ध्यान दिएको थियो न त कुनै मँत्री या सरकारले । तर कारण जुनसुकै भएपनि वामदेव गौतमको त्यो आदेश सम्पुर्ण प्रहरीकोलागी 'माथि'को आदेश भयो र सम्पुर्ण शक्ति परिचालित भयो । एकाएक काठमाण्डौवासीहरुले सुरक्षित अनुभव गरे । यस्तो सदाकालागी भए हुन्थ्यो भन्ने कामना काठमाण्डौँ वासीहरूले गरेका छन् र सपना देखेका छन् । अचम्मको कुरा के भने प्रहरी सँयन्त्र त्यहि हो । प्रहरीका हाकिम तिनै हुन् । हाकिमको काम तामेली गर्न खटिएका प्रहरी जवान तिनै हुन् । त्यस्तै कारवाहीमा पर्ने आपराधिक तत्व तिनै हुन्, तिनका ठेगाना र व्यवशाय तिनै हुन अनि तिनिहरुको व्यावशायिक प्रकृतिपनि तिनै हुन् । तर जनता र समाजप्रतिको आफ्नो काम, कर्त्तव्य, अधिकार र दायित्वको बोध हुँदाहुँदैपनि जनताको आवाज र अनुरोधलाई कानमा तेल हालेर बसेका थिए । कानमा तेल होईन 'माथि'को आदेशको तामेली गर्न व्यग्रताकासाथ प्रतिक्षा गरिरहेका थिए । साथसाथै कालो धन्दामा लागेका व्यापारीहरुबाट अबैध आम्दानीपनि भई नै रहेको हुँदो हो र त 'कसले विना आदेशमा किन टाउको दुखाउने' भनेर सबै हात बाँधेर बसिरहेका थिए । वामदेवको आगमनले 'माथि'को आदेश पाएर यसरी जागरुक भएका यी प्रहरीहरुमा यो जागरुकता कहिले सम्म रहने हो प्रश्न स्वभावतः उब्जिएको छ । तर सबैलाई वामदेव सदाकालागी आएका होईनन्, एक न एकदिन मानिसको परमधाम हुन्छ भन्ने ध्रुवसत्य झै वामदेवपनि एक न एक दिन उनको पदबाट खुस्किनेछन् भन्ने पनि थाहा छ । त्यसैले के कुरामा हामी पक्का हुनुपर्छ भने यो प्रहरीको तदारुकतापनि वामदेव गौतमसँगै जाने छ । यो वामदेव गौतमको गृहमन्त्रीत्वको आयूसँग तादात्म्यता राखेको हुनाले यो सुरक्षाको अनुभूति अस्थायी हो भन्ने हामीले बुझ्न जरुरी छ । प्रहरीको यो तदारुकता मूतको न्यानो झै हो । तर यसको विपरित सुरक्षा र शान्तिकोलागी कुनै व्यक्ति विशेषको आगमन या प्रत्यागमनबाट कुनै प्रभाव पर्न नपर्ने हो । त्यसकारण हामीलाई के लाग्छ भने यो सुरक्षा वामदेव आएपनि कामदेव गएपनि या जुन मन्त्री आएपनि-गएपनि कर्मचारी प्रहरीबाट पाउने सुरक्षा र सेवामा कहिल्यै कुनै कमी नआए हुन्थ्यो । तर 'माथि'को आदेश तामेली गर्न प्रतिक्षामा बसेकाहरुबाट हामीले जे भोगी रहेका छौ त्यहि नै यथेष्ट छ भन्नु अत्यूक्त नहोला ।

Thursday, November 4, 2010

हामी सबैको नासो: अमेरिका नेपाल सोसाईटीप्रतिको चासो

संयोग कै कुरा हो नोभेम्बर २ मा हुने अमेरिकाको मध्यावधि चुनावको ठिक दुई दिन अघि अर्थात अक्टोबर ३१ का दिन अमेरिकाकै राजधानीमा रहेको नेपालीहरुको सबै भन्दा पुरानो संस्था अमेरिका नेपाल सोसाइटीको सभापति लगायत केहि अन्य पदको निर्वाचन हुने भएको छ | फरक यत्ति हो, अमेरिकाको राष्ट्रपतिहरु (कोहि अपवादको रुपमा विशेष परिस्थितिको कारणले मनोनयनको आधारमा बाहेक) मतदानव्दारा छानिएका छन् भने अमेरिका नेपाल सोसाइटीको सभापति पदको भने मनोनयनको आधारमा छनौट हुँदै आएकोमा सौभाग्यवश ४४ वर्षको इतिहासमा दोश्रो पटक चुनाव हुँदै छ | संस्था या व्यक्तिले समुदायमा गर्ने गतिविधिप्रति टिका टिप्पणी हुनु स्ववाभिकै हो | स्थापनाकालदेखि झन्डै तीस वर्ष कुनै उल्लेखनीय काम नगरी निर्विवाद रहँदै आएको यो संस्थाले बढ्दो जनसंख्याको क्रममा जब केहि कार्यक्रमहरु गर्न थाल्यो तब यसप्रति विभिन्न प्रकारका टिका टिप्पणी हुन थाले | दशैं तिहार मेलाले संस्थाप्रति आकर्षण बढाएको क्रममा सन् २००१ पछि अमेरिकाबाट नेपालको लागि या नेपालबाट अमेरिकाको लागि राजदूतको स्वागत कार्यक्रम तथा नेपालबाट आउने मन्त्री या राजनैतिक दलका नेताहरुको स्वागत तथा अन्तरक्रिया कार्यक्रमको आयोजनाले केहि सिमित व्यक्तिहरुको यस संस्थाप्रति आकर्षण बढेको पाइएको भए ता पनि कतिपय व्यक्तिहरु संस्थाले आफ्नो मूल लक्ष्य गुमाएको भन्ने आरोप लगाउन थाले | अझ पदावधिको बांडफांड पछि त यो संस्था तटस्थ व्यक्तिहरुको माझ ज्यादै नै आलोचित बन्न पुग्यो | तर अहिले आएर संस्थामा राजनीति भएको या पदकोलागि फोहरी खेल देखेका तटस्थ व्यक्तिहरुको लागिपनि शायद यही चुनावको कारणले हुनु पर्छ संस्थाप्रति केहि चासो जागेको देखिएको छ | प्रजातान्त्रिक मुलुकमा रहेर प्रजान्तान्त्रिक अभ्यास हुन नसकेको यस संस्थामा निर्वाचनको कारणले तटस्थ व्यक्तिहरुको समेत चासो जाग्नु संस्थाको लागि पक्कै सुखद तथा खुशीको कुरा हो | त्यसैको फलस्वरूप स्थानीय एक तटस्थ संचारमा ति दुइ सभापतिका उम्मेदवार एकै ठाउँमा राखेर यस्तो प्रकारको पहिलो एक छलफल कार्यक्रमपनि गरेको थियो | यति लामो ईतिहासमा अहिलेसम्म दुइ पटक बाहेक चुनाव किन भएन त भन्ने प्रश्नको उत्तर खोज्दा एउटा सहज उत्तर भेटिन्छ: एक- त्यतिबेला नेपालीहरुको सिमित संख्या र दोश्रो- स्वयमसेवक भएर संस्थालाइ नेतृत्व दिन चाहने व्यक्तिको खाँचो | त्यसै भएर आपसी सल्लाहको आधारमा यसपछि उ र उ पछी उ को आधारमा व्यक्तिहरुको चयन हुँदै संस्थाले यहाँसम्मको यात्रा तय गरेको हो | तर बढ्दो जनसंख्याको क्रममा यसप्रतिको चासोमा वृद्धि हुनुका कारणले सन् २००८-२०१० को पदावधिकोलागि संस्थाका आन्तरिक पदाधिकारीहरु नै सभापति पदकोलागि प्रत्यासी भए ता पनि प्रजातान्त्रिक ढंगबाट चुनाव हुन नदिई पदावधि बाँडफाँड गरि एक वर्ष एक जना र अर्को वर्ष एक जना सभापति हुने गरि निर्वाचनकोलागि पुगेका मतदाताहरुको खिल्ली उडाउँदै आन्तरिक निर्णय गरियो | संस्थाको ईतिहासमा दोश्रो पटक हुन लागेको चुनावलाइ यसरी टारियो भने संस्थाप्रति अलिकति आस्था या लगाव राख्नेहरुकोलागि 'कहीं नभएको जात्रा, दुखद र लाज मर्दो'को विषय बन्यो | लामो समयदेखि यस क्षेत्रमा बस्दै आएकाहरुलाई समेटेर जानु पर्नेमा ति व्यक्तिहरु टाढा हुँदै जानु यस्ता क्रियाकलापको प्रतिफल थियो | नयाँ नेपाली आप्रवासीहरुको दिनहुँ वृद्धि भै रहेको क्रममा यस संस्थाले त्यस्ता नयाँ व्यक्तिहरुको उपस्थितिमा आफुले गरेका कार्यक्रमहरु सफल भएको मान्दै पुराना सदस्यहरु पाखा लाग्दै गएको चाल नपाउनु संस्थाको कमजोरीको रुपमा लिन सकिन्छ | फलस्वरूप संस्थाको आजीवन सदस्य संख्यामा उल्लेख्य वृद्धि हुनु पर्नेमा हालसम्म कूल १२२ मात्र आजीवन सदस्य हुनु नैराश्यताको द्योतक हो भन्न सजिलै सकिन्छ | (हेर्नुहोस्) अर्को कुरा संस्थाको सदस्यता के का लागि भन्ने पनि अहम् प्रश्न रहेको छ | परिवारको २०.००, व्यक्तिको १०.०० तथा आजीवन सदस्य शुल्क १००.०० डलरमात्र हुँदाहुँदै पनि यसको सदस्य संख्या ज्यादै न्यून रहेको छ | 'कार्यकारी पदको लागि हुने चुनावमा मताधिकारकोलागि सदस्यता' भन्ने हो भने निर्वाचन नै हुन पाउँदैन | अनि संस्थाको उद्देश्य अनुरुप हुने गरेका कामहरु या त ज्यादै न्यून छ या त छंदै छैन या त राजनैतिक विचारले अभिप्रेरित भएका छन | त्यसकारण यसप्रति नैराश्यता बढ्नु स्वभाविक हो | तर यस पटक आगामी दुइवर्षे पदावधिकोलागि संस्थाप्रति बढेको आकर्षणको कारणले स्वयमसेवकको खाँचो अनुभूति भएन भने अर्को तर्फ यसैको परिणाम स्वरूप हुन लागेको चुनावले यस क्षेत्रका तटस्थ व्यक्तिहरुहरुकोपनि चासो बढेको छ | यो चासो संस्थाकोलागि सकारात्मक र सुखद संकेत हो भने नव निर्वाचित पदाधिकारीहरुले वृद्धि भएको यस्ता गुनासो तथा चासोलाई महत्व दिई निरपेक्ष संस्थाको रुपमा बढी भन्दा बढी जनसमुदायलाइ समेटेर सामुहिक नेपाली तथा नेपालको हितमा अर्थात विशुद्ध सामाजिक कार्य गर्ने छ भन्ने सबैले आशा लिएका छन् | केहि सकारात्मक कार्यहरु: अमेरिकी प्रवासमा आएका नवागन्तुक नेपालीहरुलाई विशेष गरी चाड पर्वमा आफ्ना आफन्तको सम्झनाको सहारा बनेर आउनेहरुकोलागि दशैं तिहार मेलाको आयोजना एउटा उल्लेखनीय कार्य मान्नै पर्ने हुन्छ | सेल रोटि लगायत अन्य नेपाली परिकारहरु मेलामा उपलव्ध गराउनुका साथै वर्षमा एकदिन भएपनि जमघट र भेटघाट हुने थलो उपलव्ध गराएर प्रशंसनीय कार्य गर्दै आएको छ | त्यस्तै संस्थाबाट नेपाल र अमेरिकाविच सम्बन्ध राम्रो कायम गर्ने एउटा उल्लेखनीय काम पनि भएको छ | त्यो हो नेपालकोलागि मनोनित अमेरिकी राजदूतको स्वागत कार्यक्रम | आफ्नो कार्यकालकोलागि जुन देशमा जान लागेको हो त्यसै देशका मानिसहरुले आफ्नै देशमा शुभकामना दिने तथा स्वागत कार्यक्रम गर्नुले त्यस्ता कुटनितिज्ञहरुमा पक्कै एउटा सकारात्मक संदेश दिने गर्छ | जसले दुइ देशको सम्बन्धमा केहि न केहि सुखद सम्बन्धका असर छोड्छ | हालसम्म नेपालको लागि तीन राजदूतहरुलाई स्वागत कार्यक्रम गरि सकिएको छ | तर अफसोचको कुरा, माथिका काम र विगतमा यदाकदा एक दुई सांस्कृतिक कार्यक्रमहरु बाहेक सोसाइटीको उद्देश्य अनुरुप नेपाली भाषा तथा संस्कृतिको उत्थान, संरक्षरण तथा सम्वृद्धिमा संस्थाले आफ्नो समय कहिल्यै खर्चिएको उदाहरण देखिंदैन | केहि सुझावहरु: झन्डै ५५ ५६ संस्थाहरु रहेको यस क्षेत्रमा छाता संगठनको रुपमा आफुलाई स्थापना गराउन पहल गर्नुपर्छ | ति संस्थाहरुको उद्देश्यलाइ बुझेर तिनलाई अमेरिका नेपाल सोसाइटीले के कस्तो सहयोग गर्न सक्छ भन्ने विषयमा कार्यगत योजना बनाउनु पर्छ | वर्गीय, जातीय तथा नेपालको स्थान विशेष नामको आधारमा स्थापना भएका संस्थाहरुसंग त्यस्तै अनुरुपका इक्षा बोकेका व्यक्तिहरुको सम्बद्ध हुनु आआफ्नो चासो र रुचिको विषय भए पनि त्यसबाट निरपेक्ष भएर बस्न चाहनेहरुकोलागी भने अनेसो सार्वजनिक थलो हो | त्यसकारण अमेरिका नेपाल सोसाइटीले सबै प्रकारका व्यक्ति र संस्थालाइ ओगट्ने क्षमता राख्नु पर्छ भन्ने सबैको आवाज रहँदै आएको छ | कुनै राजनैतिक आग्रह-पूर्वाग्रह बिना अन्य संस्थाहरुसंग कार्यगत एकता तथा नेतृत्व प्रदान गर्नाले समाजमा 'हामी एक छौं' भन्ने सबल संदेश दिन सफल हुने छ | निर्वाचनकोलागि आफ्नै नियम त छंदै छ | संस्थाको आय भन्नु सदस्यता शुल्क हो | तर सदस्यता बन्न कुनै सिमित अबधि तोकेर संस्थाले आफ्नै खुट्टामा बन्चरो हानेको छ | उदाहरणकोलागि यस पटकको निर्वाचनकोलागि सदस्यता लिने समय समाप्त भै सकेको छ | तर चुनाव हुने वातावरणले चुनावमा सहभागिता जनाउन चाहने तर सदस्यता लिन चुकेकाहरुकोलागि त्यस सिमित अवधिले वन्चित त गर्यो नै | यि सदस्यहरुबाट आउने सदस्य शुल्क संस्थाले गुमायो पनि | बरु चुनावकै दिनसम्म पनि चुनाव स्थलको एउटा छेउबाट सदस्यता लिएर अर्को छेउमा मतदान गर्न पाउने व्यवस्थाको सोच राखेको भए बढी भन्दा बढी मानिसको सहभागिता हुने त थियो नै, चुनाव रोचक पनि हुने थियो र साथसाथै संस्थाको आयमा पनि वृद्धि हुने थियो | यो संस्था कुनै राजनैतिक विचारधाराबाट अभिप्रेरित नभएकोले मतदाताहरु तथा उम्मेदवारहरुपनि सोहि किसिमको हुने हुनाले सदस्यता प्रदान गर्न उदारता अपनाउनु पर्छ भन्ने तर्क गरिएको हो | संस्था तथा समाजको हितमा यस्तो लचकता हुनु राम्रो हो भन्ने यस लेखको आशय हो | अमेरिकीहरुको अग्रसरतामा स्थापित यो संस्थामा अहिले नेपालीहरुको वर्चस्वमा वृद्धि भएको छ | अमेरिकी नागरिकहरुको सहभागितामा न्यूनता आएको छ | स्थानीय अमेरिकीहरुको सहभागिताले दुइ देशका जनताविच आपसी सद्भाव तथा सहयोगमा वृद्धि गराऊन मद्दत गर्दछ | त्यसकारण, कार्यकारी पद लगायत सदस्यहरुको संख्यामा अमेरिकीहरुलाई पनि सम्मिलित गराउन वृहत कार्य योजना बनाउनु पर्छ | अझ भन्ने हो भने स्थापनाकालको जस्तो स्थानीय अमेरिकीलाई नै संस्थाको केहि प्रमुख पदको भार ग्रहण गर्न दिएमा दुइ समुदायवीच राम्रो सामन्जस्यता हुने थियो भन्ने लागेको छ | स्थानीय व्यक्तिहरुलाइ नेपाली संस्थामा प्रवेश दिने या स्थान दिने यो सोचाई अमेरिकामात्र होइन संसारका जुनसुकै कुनामा बसेर संगठित भएका नेपाली संगठनहरुमापनि लागु गर्न सकिन्छ | जे होस् यो लेखक आफैं पनि यस पटक चासोकासाथ केहि लेख्ने या छलफल गर्ने गराउने कार्य गरेको छ | सोसाइटीप्रति बसेको नकारात्मक धारणा समाजबाट हटोस, नवनिर्वाचित पदाधिकारीहरुले सोसाइटीको मात्र निहित उद्देश्य र स्वार्थ अनुरुप काम गरुन् या गर्न सफल हुन् र बढी भन्दा बढी जनसमुदाय यसमा संलग्न होस् भन्ने हेतुले यो लेखको जन्म भएको हो भन्दै आउँदो तिहारको उपलक्ष्यमा सम्पूर्ण पाठकहरुमा शुभकामना ! अस्तु |

Friday, February 5, 2010

मित्रता

मित्रतामानिसले आफ्नो जिवनमा आर्जन गर्ने धन सम्पत्तिको रुपमा रुपैया पैसा जग्गा सुनचाँदि बाहेक अर्काे महत्वपूर्ण सम्पत्ति हो मित्रता । अन्य सम्पत्ति नितान्त व्यक्तिगत हुन्छ भने मित्रता एक आपसमा निर्भर हुने कुरा हो । मित्रता अति महात्म्य छ । असल मित्रता दुर्लभ हुन्छ । मित्रता कुनै वाद या सिध्दान्तमा अडेको हुँदैन न त यो कुनै स्वार्थपरक सम्बन्ध हो । असल मित्रप्राप्तिमा अति सुखद अनुभव हुन्छ । मलाई लाग्छ एकपटक गााँसएको मित्रता कहिल्यै नटुटोस् । यो अविच्छिन्न र अटूट रहोस् ।
तर के यो सम्भव छ ? आआफ्नो जन्मथलो देश नेपाल छोडेर हामी अमेरिकालाई कर्मथलो बनाई रहेका छौ । आफ्नो नाता कुटुम्ब बाबु आमा सबैलाई जन्मथलोमा छोडेर नितान्त विरानो देशमा आफ्नो कर्म जारी राख्न हामी सबै कि्रयाशील छौं । नितान्त नौलौ देशमा पाईला राखेदेखि नै नवआगन्तुकलाई आरम्भदेखि सहयोग पुर्याई आड भरोसा दिने अरु कोहि होईन आफैले चिनेजानेका मित्र नै हुन् । कोहिकोहि यस प्रसङ्गमा अपवादको रुपमा होलान् त्यो बेग्लै कुरा हो । तर शुन्यबाट आरम्भ गर्न हौसला तथा सहयोग दिने मित्रहरुको गुणगान गर्न हामी पछि पर्न हुँदैन । बिस्तारै नौलो स्थान पुरानो हँदै जान्छ । नवआगन्तुक नयाँ स्थानमा अभ्यस्त हँदै जान्छ र जसरी आफुले सहयोग सल्लाह पाएको हो त्यसैगरि आफन्त या अन्य मित्रहरुलाई उ आफै सहयोग सल्लाह दिन सक्षम हुन्छ र यो क्रम जारी रहिरहन्छ । तर समयकालमा आआफ्नो कामको प्रकृति बसाई व्यक्तिगत विचारधारामा भिन्नता आएको कारणले पहिलेका मित्रहरुमा मित्रता नदेखिनु एकदमै उदेक लाग्दो कुरा हो ।
यस परिप्रेक्ष्यमा खासगरि यस वासिङ्गटन क्षेत्रमा देखा परेको आपसी वैमनस्यपन टड्कारो रुपमा देखिएको छ । हिजोका एकै अपार्टमेण्टका सहभागी एकैथालमा खाने साथी र एक अर्काका पूरक मानिने मित्रहरु आज एक अर्काका आलोचक बनेका छन् । छद्म नाममा होस् या आफ्नै नाममा होस् एक अर्काको उछितो खन्ने निकृष्ट काम भई रहेको छ । अचम्म त के छ भने तिनै मित्रहरु कुनैपनि कार्यक्रममा झ्वास्झ्वास्ती भेटिई रहन्छन् । मलाई अचम्म लाग्छ कसरी त्यस साथीसँग आँखा जुधाउने र के मुखले साचो विसाचो सोध्ने । एक आपसमा दुरी बढेका कारण कुनै व्यक्तिगत स्वार्थ या रिसईवि नभई आफ्नै देशको राजनैतिक घटनाक्रम भएको छ । शेर बहादुर देउबाको बर्खास्तगीबाट राजावादी र प्रजातन्त्र या लोकतन्त्रवादी खेमामा विभाजित दुई समुहमा आआफ्नै मित्रगणहरु परे । आआफ्नै वैचारिक डम्फु बजाउने क्रममा विभिन्न साधनहरुको प्रयोग भयो । एक आपसमा शङ्का उपशङ्काको दृष्टिले या हेय या अपमान या विपरित नजरले हेर्न थाले । कोहि छेपारे भए त कोहि माओवादी या माओवादीका नजिक मानिए । कोहि गिरिजा माधव नेपालको पुच्छरमा दरिए । कसैले कसैको काट्टो खाएको आरोप प्रत्यारोप आरम्भ भयो । तर दुबैथरिको एउटै मुद्या हो आफ्रनै देश नेपाल । आहा मातृभूमिप्रतिको प्रेमको क्या ज्वलन्त उदाहरण ! हो यसमा कोहि कोहि आफ्नो व्यक्तिगत स्वार्थको कारणले एक न एक खेमामा लाग्नेपनि छन् तर अधिकाशँ भने नेपालको नितान्त राजनैतिक कारणले नै कि्रयाशील भएका हुन् ।आफ्नो देशको गतिविधिसँग टाढा रहन सकिन्न र कोहि त्यस्तो छ भने त्यसलाई देशप्रेमी या देशभक्त भन्न मिल्दैन । जहाँ बसेपनि देशको लागी केहि गरौ भन्ने भावनाले ओतप्रोत हुनु गौरवको विषय हो ।
राजनैतिक विचारधारा रोज्ने या छान्ने स्वतन्त्रता सबैलाई छ र हुनुपर्छ । र हरेक सचेत नागरिकले यसको सदुपयोग गर्छ नै । तर राजनैतिक विचारधारामा भिन्नता छ भन्दैमा आफ्नो मित्रतालाई तिलााजली दिने या मित्रतालाई दुष्टतामा परिणत गर्नु के बुध्दिमानी हो राजनैतिक विचार जे जस्तो भएपनि तिनलाई यथास्थानमा राखेर आफ्नो मित्रतालाई निरन्तरता दिनु बुध्दिमानी नठहर्ला परदेश जहाँ यिनै मित्रबाहेक आपत विपतमा सहयोग गर्ने कोहि छैन त्यस्तो ठाउँमा मित्रता नै उपयुक्त र सर्वाेत्तम सम्बन्ध हो भन्नॆ हामीले बुझे एक आपसका तिक्तता मेटिइन्थ्यो कि यदि तपाईहरुमध्ये कसैले मलाई मित्रता बिना बाँच्न नसक्ने परजीवि ठान्नुभएको छ भने म सहर्ष स्विकार्छु । यस विरानो देशमा मेरा मित्रबाहेक अरु को नै छ र अस्तु |