https://twitter.com/Chirvir

Tweet me @chirvir







Friday, October 2, 2015

अब अलार्म स्नूज नगरौँ

बासु श्रेष्ठ
उडब्रिज, भर्जिनीया

झण्डै सत्तरी वर्षदेखि नेपालीहरुले देख्दै आएको सपना बल्ल यहि असोज ३ गते आएर पुरा भयो । राष्ट्र्को अमूल्य  समय आठवर्ष र अरबौँ रुपैँया खर्चिएर निर्माण गरिएको सँविधान सभाबाट यो ऐतिहासिक सँविधान पारित भयो । यो सँविधान सभाको निर्माण र सँविधान लेखनको प्रक्रियाका पछाडि थुप्रै ऐतिहासिक घटनाक्रमहरुको भूमिका रहेका छन् । २००७, २०१७, २०३६, २०४६ र २०६३ का घटनाहरुलाई मूलरुपमा लिईएपनि तिनको विस्तृत वर्णनमा एउटा सिँगो कृति नै तयार हुनसक्छ । जे होस्, माथिका घटनाहरुमा थुप्रै रगतको खोलो बगेपछि यो सपना साकार भएको छ । त्यसकारण यसको महत्वलाई कम आँकलन गर्न सकिन्न ।

तर यसरी बनेको सँविधान जारी हुन नपाउँदै मुलुक नचिताएको (?) भुमरीमा पर्नगयो । तराई मधेशको मुद्धा र थरुहटको मुद्धामा एकचालिस जनाको ज्यान जानु भनेको चानचुने विषय होईन । तर, सँविधान निर्माण गर्न अहम् भूमिका खेल्नेहरुकोलागी यि ज्यानहरु आँपमा गनिए र जसोतसो सँविधान जारी गरियो ।

सँविधान एक परिवर्तनशील अभिलेख हो जुन मुलुकको समय र अवस्था हेरेर परिवर्तित भईरहन्छ । यो शिलालेखमा लेखिएको अभिलेख होईन । त्यसैले त सँसारको सबैभन्दा सानो सँविधान मानिने अमेरिकाको सँविधान हालसम्म २७ पटक सँशोधन गरिएको छ । त्यसैगरी सँसारको सबैभन्दा प्रजातान्त्रिक र सबैभन्दा ठुलो सँविधान भएको हाम्रै छिमेकी मुलुक भारतको सँविधान ९९ पटक सँशोधन भएर १०० औं पटककोलागी पर्खिएर बसेको छ । त्यसकारण, सँविधानमा आफ्नो आवाज परेन भन्नेहरुले यो बुझिदिएको भए ति आँपझर्ने थिएनन् होला ।

तर सत्य के पनि हो भने यो सँविधानको सहायताले विकास यात्रामा टक्क अडिएको नेपालले कमसेकम गति त पाउने छ भन्ने समग्र नेपालीको भनाई रहेको छ र त सबैले स्वागतपनि गरे । तर दुर्भाग्यवश साथसाथै यसले विरोधकोपनि सामना गर्नुपर्याे । सँविधानको स्वागत गरिनु, विरोध गरिनु, सँशोधन गरिनु, पुनर्लेखन गरिनु यि सब एक सार्वभौम राष्ट्र्को आन्तरिक मुद्धा हुन् । तर, सँसारको सबैभन्दा ठुलो प्रजातान्त्रिक ठानिएको हाम्रो छिमेकी मुलुकले हामी छिमेकीमा आएको विकासशील र युगान्तकारी परिवर्तनलाई सहर्ष स्विकार्न सकेन र अघोषित नाकाबन्दी शुरु गर्यो । छिमेकीप्रति कति असहिष्णु रहेछ भन्ने कुरा विदेश सचिवको आगमनले नै उदाँग पारेको थियो । तर जब उनको हस्तक्षेपकारी भ्रमण असफल भयो अनि उ अर्कै रुपबाट प्रस्तुत भयो । जसको कारण आज दुईहप्ताभन्दा बढि नेपालले आर्थिक सँकट भोगिरहेको छ ।

यहि भारत हो जसले २०४६ मा राजतन्त्रको पकडबाट प्रजातन्त्र फुत्काउन यिनै नेताहरुलाई हो मदत गरेको । आज तिनै नेताहरुलाई असहयोग गरेर अर्कै मुद्धा बोक्नुमा भारतको नियत बुझिनसक्नुको विषय भएको छ ।
बुझिनसक्नुको अर्थ उसको दोहोरो चरित्रको कुरा गर्न खोजिएको हो । समय समयमा उसले देखाउँदै आएको चरित्रबाट के स्पष्ट छ भने उ नेपाललाई विकसित र स्वतन्त्र राष्ट्र्को रुपमा हेर्न कदापी चाहँदैन । उ नेपाल सदा उसको छत्रछायाँमा बसेर उसको औँला समातेर उसले भनेको खुरुखुरु मानेर बसोस् । उ नेपाललाई कज्याएर विश्वमा ठालुपना प्रदर्शन गर्न चाहन्छ । दक्षिण एशियामा नेपालमात्र होईन, अन्य सबै देशहरुप्रतिपनि यस्तै व्यवहार गर्ने गर्दछ । त्यसैले बेलाबेलामा नेपालले कोल्टे फेर्न चाह्यो भने उ लठ्ठि उज्याई हाल्छ र आफ्नो नियन्त्रणमा पारीहाल्छ । यसरी उसको वशमा पर्नु हाम्रो राष्ट्र् प्रमुख तथा हाम्रोपनि दोष रहेको छ ।

भारत हाम्रो छिमेकी मुलुक हो । छिमेकीबिना बाँच्न सकिन्न । यो यथार्थ हो । तर किचलो गरिरहने छिमेकीकोसाथले  बाँच्न दुरुह हुन्छ । योपनि तीतो यथार्थ हो । छिमेकी भएर बाँच्न एकापसमा समभाव, सत्कार, सद्भाव र सहकार्य हुनु जरुरी छ । तर भारत यो पक्षमा छैन । उसलाई हामी मानौँ छिमेकी होईन भुत हौँ जो उसलाई हरहमेशा तर्साई रहन्छौँ र उ मनमनै तर्सिईरहन्छ मनको बाघले उसलाई खाईरहन्छ । तर त्यो तर्साई लुकाउन उल्टै हामीतिर ठुलो स्वरले चिच्याएर हुन्छ या धम्क्याएर हुन्छ थिचोमिचो गर्न उद्धत भईरहेको हुन्छ । र फेरी उसलाई बेला बेलामा चाकरी गरेर फकाउनपनि आउँछ । र हामी यहि चाकरीको चिल्लो र गुलियोमा अड्किने गर्छाैँ र उसको बाह्य सदाशयी रुपको मोहजालमा पर्छौं । अनि उसका विगतका रडाकोहरु सजिलै माफ गरिदिन्छौँ । हाम्रो कमजोरी र किलकिलो यहि हो ।

२००७ सालको प्रजातन्त्रको आगमन लगायत २०४६ को आन्दोलन र २०६३ को आन्दोलनमा प्रत्यक्ष भूमिका खेलेको भएर भारतको दृष्टि नेपालप्रति सदा हेपाहा रह्यो । २००७ सालपछि नेपालका प्रशासनिक कार्य लगायतका थुप्रै क्रियाकलापहरुमा भारतीयहरुको उपस्थितिमात्र होईन कि नेपालको सुरक्षा परिषदको बैठक दिल्लीमा हुनु समेतले पदकोलागी हाम्रो निरिहपना र भारतले गरेको नियन्त्रण जगजाहेर छ ।

२०४६ मा भारतले नेपालमा नाकाबन्दि गरेको तत्कालिन राजसँस्थाको विरुद्ध थियो या नेपालको विरुद्ध थियो त्यो हामीले कहिल्यै बुझ्ने प्रयास गरेनौँ । केहि भारतीय नेताहरुको खुला आगमन र नेपालको आगनमा तत्कालिन राजतन्त्रको बिरुद्ध आवाज र नारा घन्काएर देशमा खुल्ला रुपले विदेशीको हस्तक्षेप निम्त्याएर राजतन्त्र त समाप्त गर्यौ । तर राजतन्त्रका विरोधी हामीले यहि चोट आफुलाईपनि आईलाग्न सक्छ भनेर हेक्का राखेनौँ । साझा दुश्मन ठहरिएको त्यो सँस्थालाई कमजोर बनाएपछि हाम्रालागी भारत प्रभु भयो । त्यसैले नारायणहिटी दरबार गएपनि त्यसको सट्टा दिल्ली दरबार खडा भयो । यो हाम्रोलागी लाजमर्दो थियो । स्वतन्त्र र सार्वभौम नेपालका सत्ता सँचालकहरु विदेशीको दिशा निर्देशमा चल्ने भए । अप्रत्यक्ष भन्दापनि प्रत्यक्ष हालीमुहाली नेपालको राज्यसत्तामा देखियो । यसले नेपाली जनता आफ्नो नूर गिरेको अनुभव गर्दैथिए । तर हाम्रा नेताहरुको सँप्रभुता भने उताका प्रभुमा निहित थियो ।

तर अहिले आएर सँविधानको विषयमा हाम्रा नेताहरुको त्यो भ्रम र मोह भँग भएको हुनुपर्छ भन्ने अनुमान गर्न सकिन्छ । राष्ट्रकोलागी झिनो रुपमा भएपनि बोलिदिने राजसँस्थाको त्यस अवसानपछि निराशामा डुबेका नेपालीहरुमा अहिले नेताहरुको बोलिले खुशी र आत्मसम्मानको केहि रगत सँचार भएको अनुभव गर्न सकिन्छ । र यो खुशी सदाकोलागी रहोस् भन्नेपनि नेपाली चाहन्छ । त्यसकारण यो एक वेकअप कल हो । यसलाई नेताहरुले स्नूज नगरुन् । अब पन्छाउन नसकिने र अपरिहार्य भारतसँगको सम्बन्धलाई सामान्यीकरण गरेर आफ्नो भान्छा र बेडरुमबाट टाढै राखुन् । उसलाई उचित दूरीमा राखेर नेपालकोलागी चाहिने अत्यावश्यक वस्तुहरुको आपूर्तिकोलागी दीर्घकालिन योजना तथा उपायहरु खोजौँ र अवलम्बन गरौँ । चीनलाई भारतले धक्का दिएपछिमात्र सम्झने हाम्रो बानी त्यागौँ । हामी नेपालीको स्मरणशक्ति कमजोर छ । चाँडै बिर्सन्छौँ । तर अब कहिल्यै नबिर्सने गरी बाटो, योजना बनाउने र कार्यान्वयन गरौँ । सँविधानबाट उछिट्टिएका मधेशवादीहरुलाई छिटो भन्दा छिटो सँविधानमा समेटौँ । अब अलार्म स्नूज नगरौँ |



No comments: