https://twitter.com/Chirvir

Tweet me @chirvir







Sunday, August 21, 2011

हरितालिका (तीज)


आउँदो शुक्रबार अर्थात अगस्त ३१ तारिख
  तदनुसार भाद्र १४, २०६८ का दिन हरितालिका तीज  पर्व हो । यस पर्वको महत्व र कारण बारेमा प्रकाश पार्नु यस लेखको आशय होइन किनभने यस चाडको बारेमा पाठकहरु आँफै जानिफकार हुनुहुन्छ । अपितु यस लेखको आशय तीजको आलोचनात्मक विवेचना गर्नु हो।
संसारको कुनैपनि समाज पुरुष प्रधान समाज रहि आएको छ | नारीलाई सर्वदा भोगकोमात्र विषय मानेर पुरुषहरु सदा आफु माथि रहने प्रपन्च चलाई रहे । यसबाट हाम्रो नेपाली समाजपनि अछुतो रहेको छैन । र यसरि आफु माथि रहि रहने प्रपन्चको उदाहरण हो हरितालिका । पार्वतीले शिवको आराधना गरेको धार्मिक आडमा हिन्दु नारीहरु असल श्रीमान् पाउन या श्रीमानको सुस्वास्थ्य तथा दिर्घायूको कामना गरि हरितालिका जस्तो कडा व्रत बस्छन् । हुन त समयसंगै यसमा विस्तारै केहि सुधार या परिवर्तन आएको देखिएको छ तरपनि यो व्रत कति कडा छ भन्ने कुरा या त व्रत महिमा गाउने पण्डितलाई थाहा छ या त व्रत गर्ने महिलाहरुलाई थाहा छ । यसरी कडा व्रत बसेर पाएको श्रीमानको महत्व बढ्ने नै भयो । तर विचरा महिलाहरु उनै श्रीमानको खटनमा परेर दिन काट्न बाध्य हुन्छन् । प्रचलन बमोजिम व्रतको अन्त्य गर्न श्रीमानको पुजा आराधाना गर्नु पर्ने हुन्छ र श्रीमानको पाउ धोएर त्यसको पानी पिउनु पर्ने हुन्छ । श्रीमान नहुने नारीहरुको लागी भिन्दै व्यवस्था गरिएको छ । श्रीमान् भनाउंदा पुरुषहरु भने गमक्क परेर श्रीमतितर्फ आफ्नो पाउ तेर्स्याउंछ मानौ उ भगवान नै हो । तर कसरी उ भगवान वा सो सरह भएको छ भन्ने कुरामा ध्यान कहिल्यै दिंदैन । न त भगवानमा हुने सद्गुण नै आफुमा समाहित गर्छ | फलतः पाउको पानी खाएकी श्रीमतिले एक्कैछिन पछि लात्ति खान बेर लाग्दैन । विचरी नारी भगवानको प्रसाद लात्ति नै हो भन्ने ठानेर चुपचाप सहेर बस्छिन् या त मेरो कर्मै यस्तो भनेर सहन्छन् । हुन त अपवादको रुपमा कतिपय शिक्षित व्यक्तिहरुले यस्तो प्रथाको अन्त्य गरिसकेको हुनुपर्छ तर पनि कैयौ शिक्षित व्यक्तिहरु श्रीमतिले तीजको व्रत बसोस् र आफ्नो पाउको पानी खाओस् भन्ने चाहना पालेको पाएको छुँ। एकजना मित्रले गतवर्षको तीजमा श्रीमतिले व्रत नबसेकोमा गुनासो गर्दै 'व्रत त बस्दिन' भन्दै मेरी श्रीमतिले व्रत बसेर पाउको पानी खाए न खाएको सोधे । मैले मेरी श्रीमतिले व्रत बस्न छोडेको २९ वर्ष भयो भनेँ । वास्तवमा भएको त्यहि थियो । विहे गरेको वर्ष मेरी श्रीमतीले तीजको व्रत बसिन् र मेरो पाउको पानी खान तयार भईन् । मलाई अति ग्लानी र शरम लागेर आयो । मैले अर्धाङ्गिनीको रुपमा अँगालेको श्रीमतिलाई मेरो पाउको पानी खान दिनु जस्तो शरमलाग्दो अरु केहि देखिनँ र भनेँ 'आजदेखि यो व्रत बस्नु पर्दैन।' तिनले व्रतको पक्षमा र व्रतको महिमा गाएर जित्न खोजिन् तर मैले भनेँ 'यो व्रत जब मेरैलागी हो भने मैले भनेपछि छोड । मेरो सुस्वास्थ्यको कामना गर्न व्रत नै बस्नुपर्छ भन्ने छैन, मात्र कामना गरे पुग्छ, रह्यो दिर्घायुको कामना, यो न त व्रतले, न त कामनाले नै कुनै असर गर्छ । समय आएपछि कसैको केहि लाग्दैन' भनेर तिनको व्रतमा पुर्णविराम लगाई दिएँ ।
श्रीमतिलाई आफ्नो अर्धाङ्गिनी मान्ने हामी कतिले आउँदो तीजमा आफ्नो पाउको पानी ख्वाउन तयार भएका छौ?  श्रीमतिलेमात्र श्रीमानको सुस्वास्थ्य र दिर्घायुको कामना कहिले सम्म गर्ने? श्रीमान र श्रीमति एकै सिक्काको दुईपाटो या एकै रथका चार पांग्रा भएपछि के श्रीमानले श्रीमतिकोपनि सुस्वास्थ्य र दिर्घायुको कामना गर्नुपर्दैन? के त्यस्तो भएको कतै उदाहरण छ ? होईन भने ऋषि पंचमी झैँ पुरुषहरुलेपनि राम्रो र असल श्रीमति पाउन अथवा श्रीमतिको सुस्वास्थ्य र दिर्घायुको कामना गर्न कुनै षष्ठि या सप्तमीको साईत जुराउने हो कि ?


Quality advertising. Big traffic. Increase sales. Promote your website. Advertise your product to shoppers.

No comments: