https://twitter.com/Chirvir

Tweet me @chirvir







Sunday, January 31, 2010

किन अमेरिका ?

आजभोली हाम्रो देशमा विदेश जाने ठुलो लहर चलेको छ । अझ विदेशमध्येको अमेरिका त झन् सबैको उदेश्य या गन्तव्य बनेको छ । जसलाई पनि जसरी भएपनि अमेरिका टेक्न पाए हुन्थ्यो भन्ने सपना धेरैले पालेका छन् ।
 अझ यो मानसिकता बोक्नेहरुमा युवा पुस्ताहरु बढि छन् । तर युवाहरु बाहेक कलाकार कर्मचारी सानातिना व्यापारी शिक्षक प्रशिक्षकहरुलॆ पनि अमेरिकाको सपना बोकेका छन् । त्यसो भन्दैमा सारा नेपालीहरुले अमेरिकाको सपना देखेका छन् भन्नुपनि गलत ठहरिन्छ । यसो भनौ अधिकाँश नेपालीहरुले अमेरिकाको सपना बोकेका छन् या हुन्छन् । र यिनै सपना बोकेर सपना साकार पार्ने मध्ये तपाई हामीमध्ये कोहि न कोहि छौ ।
विदेश जान खोज्नुका कारणहरु जे पनि हुन सक्छन् अर्थात आफुले दुःख गरेर भएपनि छोराछोरीको भविष्य बनोस् भनेर या आफ्नो शीपको आदर या सम्मान नपाएर विदेशमा त्यसको उपयोग गर्न सकिन्छ कि भनेर या साथी भाइ आफन्त या छरछिमेकिहरु सबै विदेश गएकोले या देशको राजनैतिक कारणबाट अस्थिर महसुश भएकोले या बन्द व्यापारको कारोबार राम्रोसँग चलाउन असमर्थ भएकेाले या दुईचार वर्ष विदेश बसेर पैसा कमाएर फर्कने या यस बाहेक अन्य कारण जे पनि हुन सक्छ तर ध्येय र उदेश्य एउटै हो विदेश जानु त्यो पनि अमेरिका । येणकेण प्रकारेण अमेरिका पसेपछि शायद गुनासो नगर्ने मानिस कमै होलान् । किनभने नेपालमा बसेर सोचे जस्तो या कल्पना गरेको जस्तो अमेरिकाको रुप अमेरिका पसेपछि देखिन्न । वास्तविक अमेरिका भिन्दै रुपले प्रस्तुत हुन्छ । सोचेभन्दा निकै तल्लो स्तरको काम गर्नु पर्ने भनेको बेलामा या परेको बेलामा बिदा नपाउनु प्रतिदिन दश एघार घण्टा काममा जोतिन पर्ने सस्तो दरमा काम गर्नुपर्ने आदि आदि जस्ता कुराहरुको जब सामना गर्नुपर्ने हुन्छ तबमात्र सबैले बुझ्छन् कस्तो रहेछ अमेरिका भनेर । तर यति हुँदापनि नगण्य मात्रामा मात्र फर्किनेहरु छन् आफ्नो देश । बाँकि यतै अमेरिकालाई सराप्दै काममा दगुर्दै दिन बिताइ रहेका छौ हामी सबै । यहाँ पुगेपछि खानुपर्ने हण्डर र ठक्कर नेपालमा बसेर देखिन्न न त अनुभव नै गर्न सकिन्छ । अमेरिका नामक देशको हौवा यति कडा र जब्ब्र रुपले नेपालीलाई लागेको छ कि यो देशमा जे गरे पनि हुन्छ या यो त स्वर्ग हो भन्ने मानसिकता बनेको छ । यहाँ सबै सुखी र सम्पन्न हुन्छन् र पैसा सजिलै कमाउन सकिन्छ भन्ने धारणाले सबैलाइ लठ्ठ तुल्याएको छ । त्यसकारण अमेरिका पस्नेहरुले आफुले खोजे जस्तो या चिताए जस्तो या ठाने जस्तो जब पाउँदैनन् उनीहरु भीरका चिचिण्डो जस्तो बन्न पुग्छन् । देश फर्काै भनौ भने घर परिवार या छर छिमेकिको सामु नामर्द या हरुवा या लाछी ठहरिने नफर्काै आफुले यहाँ गोतामात्र खानुपर्ने । बरु लाछीको आक्षेप खानु भन्दा त दुखै गरे राम्रो भन्ने आशयले मनमा विजय पाएपछि जसोतसो बस्ने निर्णयमा पुगेका तपाई हामी मध्ये कति छौ फेरि अमेरिका प्रवेश गरेपछि आफुले गर्नुपरेको कामको बारेमा देशका परिवारलाई खुलस्त भन्न पनि गाहारो मान्छन् । तर कसैले हिम्मत गरेर खुलस्त गरेपनि उताबाट नेपाल फर्कने बहाना गरेको भनेर विश्वास गर्दैनन् । अर्थात अमेरिकाको सपना बोकेर बसेकाहरुमा अमेरिकाको बारेमा जस्तोसुकै नकारात्मक कुरापनि पच्न पचाउन गाहारो मान्छन् ।
मैले एक ग्रीनकार्ड चिठ्ठा विजेता भाईलाई एक जमघटमा भेटेको थिएँ । उनी गुनासो गर्दै थिए आफुले गर्नु परेको कष्ट र दुखको । उनी भन्थे 'दाई मेरो बाबुले भोली आईज भन्यो कि म भुरुर्र उडेर नेपाल फर्कि हाल्छु | बस्दिन म त यस्तो दुख गरेर ।' अर्थात उनमा बाबु आमाको दबाव छ अमेरिकाबाट नफर्किनुमा । उता ति भाईको बाबु आमालाई छोराले सहनु परेको दिनचर्याको कुनै हेक्का छैन । भएपनि त्यसलाई बेवास्ता गरिएको हुन सक्छ । या ति भाईले खुलस्त बाबु आमालाई भन्न नसकेको हुन सक्छ । कारण जे होस् ति भाई चाहि नचाहि यतै छन् र उनका बाबु आमा या अन्य नातेदारहरु यि भाईको नाममा अमेरिकाको सपना बुन्दै छन् र यो क्रम जारी छ तपाई हामी सबैमा ।
यसो भन्दैमा अमेरिका आउने सबैले तल्लो स्तरको काम गर्नुपरेको छ भन्नेपनि होईन । कम्प्युटरको राम्रो ज्ञान या तालिम हुनेहरुले अमेरिका प्रवेश गरेदेखि नै त्यहि सम्बन्धि काम पाएका छन् । त कसैले कार्यलयीय काम पाएका छन् । कसैले केहि महिनाको परिश्रम र मेहनतपछि भने जस्तो काम पाएर खुशी छन् । अमेरिका मेहनत को देश हो भन्नुमा अत्युक्ति नहोला । मेहनत र जाँगर हुने या उत्पादक र नयाँ विचारको यहाँ जहिले पनि खाँचो देखिन्छ । यदि हामी कसैमा यस्तो गुण छ भने प्रस्तुत गर्न पछि पर्न हुँदैन र त्यस्तो समय नआए सम्म मेहनत गर्नपनि पछि पर्न हुँदैन । मेरा यि कुराले अमेरिकाप्रति नकारात्मक धारणा बनाउने मेरो मनशाय होईन न कि अमेरिका आउने या आउन चाहनेहरुलाई निरुत्साहित गर्ने मेरो धारणा हो । मेरो मनशाय के हो भने हामीमा मेहनत गर्ने बानी नभएकोले यहाँ गर्नुपर्ने मेहनतबाट आत्तिन्छौँ । र यदि यस्तो मेहनत हामीले आफ्नै देशमा गरेको भए हाम्रो देश आज कहाँ पुगीसक्थ्यो होला । अनि हामी भन्थ्यौ होला किन अमेरिका ?

No comments: