https://twitter.com/Chirvir

Tweet me @chirvir







Thursday, June 5, 2025

गैरआवासीयहरुप्रति नेपालको अर्घेल्याईं!!!

गैरआवासीयहरुप्रति नेपालको अर्घेल्याईं!!!

बासु श्रेष्ठ
हाल: काठमाडौँ

आर्थिक, सामाजिक तथा राजनैतिक कारणले बसाई सर्ने क्रम सदियौंदेखि मानव सभ्यतामा चल्दै आएको चलन हो | यस क्रममा केहि देश समेत स्थापना भएका उदाहरण छन् | मानिसहरु आफ्नो भविष्यको सुरक्षा र सुनिश्चितताको निर्क्यौल नभएसम्म एक ठाउँबाट अर्को ठाउँ सरिरहेको हुन्छ | त्यो चाहे देशको सीमाभित्र होस् चाहे विदेशसम्मको साहसिक यात्रा होस् | विदेशमा पनि जबसम्म निश्चित हुँदैन एक सहरबाट अर्को सहर सर्ने उपक्रम गरि नै रहेको हुन्छ |

यस उपक्रममा नेपाली पनि अछुतो छैन | नेपालीहरु पनि देशभित्रको कुनाकन्दराका आफ्नो जन्मथलो छोडेर भविष्यकोलागी सदरमुकाम हुँदै राजधानी र अझ राजधानी छोडेर विदेशको यात्रा गरिरहेका छन् | अझ, लाहुरे भएर विदेशलागी लड्न जाने, अनि त्यस यात्राको क्रममा उतै बसोबास गर्ने क्रममा नेपाली नै यस्तो जात होला जो संसारका सानाठुला देशहरुमा व्याप्त भइसकेका छन् | भारतको आसाम, मेघालय लगायत भुटान, बर्मा, फिजीमा स्थायी नेपालीहरुको भेटिनुको कारण यही हो | तर विशेषगरि विसं २०४६ यता रोजगारीकोलागी भनेर युरोप, अमेरिका, जापान, कोरिया आदि मुलुकहरुमा विदेशिने नेपालीको सङ्ख्या उल्लेखनीय रहेको छ | यो विदेशिने पनि दुई प्रकारका हुन्छन् | एक, विशुद्द रोजगारी र निश्चित अवधिकोलागी कोरिया अनि खाडी तथा पूर्वी-एशियन मुलुक तथा भारत जाने आउने गरिरहेका हुन्छन् | दुई, विकसित देशहरुले प्रदान गर्ने स्थायी बसोबासको कार्यक्रममा सहभागी हुने होस् चाहे अध्ययन या सुविधामा पाएको कार्यक्रममा सहभागी हुन जाने र उतै बसोबास गर्ने होस्, यी सब कारणले विदेशिने नेपालीको सङ्ख्या झन्डै ६० लाखको हाराहारीको अनुमानमा छन् | यो चानचुने संख्या होइन |

जुनसुकै कारणले मानिस विदेशिएर विदेशमै बसोबास गरे पनि आफु जन्मिएको देशको सम्झना तथा भाषा अनि संस्कृतिलाई प्रचलनमा ल्याई नै रहेका हुन्छन् | यसमा नेपाली पनि अछुतो र अपवाद रहन सक्दैन | किनभने यो मानवीय स्वभाव हो | परदेशमा नेपालीहरु पनि नेपाल, नेपाली भाषा र संस्कृतिलाई
चलनमा राखेर सम्बर्धन गरिरहेका छन् | विश्वमा नेपाल देश छ भन्ने पहिचान पुर्याइरहेका छन् | देश सानो भए पनि यसको विशालताको चिनारी विश्वलाई दिइरहेका छन् | एकप्रकारले यिनीहरु देशको अघोषित, बेतलबी र स्वयंसेवी साँस्कृतिक दुत हुन् | तर देशले यिनीहरुलाई चिन्दैन | चिने पनि भगुवा, देश छोडुवाको रुपमा चिन्छ | यिनीहरुले देशमा पठाएको रेमिट्यान्सले देश चलेको छ भनेर त चिन्छ तर उसलाई चिन्दैन | उ स्वदेश आउँदा उसलाई विदेशीसरह व्यवहार हुन्छ | तर, गाउँबाट शहर र शहरबाट राजधानी गर्दै जसोतसो दुई चार आना जग्गामा घडेरी जोडेर रोजगारीमा जीवन धान्ने तर गाउँ पहाड बिर्सने या यदाकदा जाने यी काठमाण्डौबासी र एनआरएनमा के फरक छ? यी नव-काठमाडौँबासीहरु आफ्नो थातथलो फर्किन खोज्दा त्यहाँका रैथानेले निषेध गर्यो भने या प्रवेशमा बन्देज गर्यो भने कस्तो अनुभव हुन्छ होला? एकपटक अनुभव गरौँ त |

माथि भनिए झैँ वैदेशिक रोजगारीकोलागी एक देशबाट अर्को देशमा जाने नेपालीमात्र होइन चाइनिज, कोरियन, भारतीय लगायत बंगलादेशी, पाकिस्तानी, श्रीलंकन, अफ्रिकीहरु पनि छन् | यीनका मुलुकले यीनका योगदान र उपादेयता बुझेर यीनले कमाएको पैसालाई देशमा आएर लगानी गर्न प्रोत्साहन दिएको छ | सकेसम्म धेरै सुविधा र अधिकार दिएर देशमा फिर्ता आउन आव्हान गरिरहेका छन् | विदेशी नागरिकता लिईसकेकाहरुलाई पनि देशको नागरिक घोषित गरेर अर्थ दोहोरो नागरिकताको सुविधा या सो सरहका सुविधा र अधिकार दिएर फिर्ता बोलाई रहेका छन् |
   

त्यसैगरी, युरोपका पोर्चुगल
, स्पेन, ग्रीस, साइप्रस लगायत बेलायत, फ्रान्स, इटाली, जर्मनी आदिहरुले निश्चित रकम आर्थिक कारोबारमा लगानी गरेको खण्डमा चार पाँचबर्ष अस्थायी नगरिकता र त्यसपछि पूर्ण नागरिकता प्रदान गर्ने योजनाहरु जगजाहेर नै छ | प्रायश: अमरिकी नागरिकहरु यस सुविधाको प्रयोग गर्नेमा पर्छन् |

कतार
, दुबई, साउदी अरबजस्ता देशहरुले पनि विदेशी लगानीकर्ताहरुलाई प्रोत्साहन र सुरक्षा प्रदान गरेर देशमा आर्थिक चहलपहल बढाएको छ मात्रै होइन कि विकासको नाममा विश्वलाई नै चकित परि उदाहरणीय बनेको छ |
 
माथिका तिनै प्रकारका विदेशीहरुलाई प्रदान गरिने आकर्षणहरुको मुख्य उदेश्य हो देशमा आर्थिक
विकासलाई तिब्रता दिनु | देशमा वैदेशिक लगानीको बाटो खोल्नु, रोजगारीको राजमार्ग खोल्नु | जबकि यी कतिपय देशहरु नेपालको तुलनामा आफैं अति विकसित देशहरु हुन् | तर पनि यिनमा आर्थिक विकासको चाहनामा कमी आएको छैन | यता नेपाल भने आर्थिक विकासमा गरिब त छँदैछ, मानसिक रुपमा पनि झन् गरिब नै छ | किनभने नेपालले अथाह आर्थिक सम्भावना भएका तर विदेशिएका आफ्नै नेपालीहरुलाई देशमा खुला मनले आमन्त्रण गर्न सकेको छैन | विदेशीलाई त परको कुरा हुन आउँछ |

यसैलाई मध्यनजर राखेर विदेसिएका नेपालीहरुको लामो समयको मागले बल्ल गैरआवासीय नेपाली भनेर नेपालले चिन्यो | क्रमशः नागरिकता दिएर पनि चिन्यो तर दिने मन्त्रालय तथा मन्त्रीलेमात्र चिन्यो | बाँकि देशका प्रशासनले चिनेन | अध्यागमन, मालपोतले नचिन्ने, बैंकले नचिन्ने | अर्थात, बालकलाई दुधको नाममा चौलानी दिएर झुक्याउने बदनियतपूर्ण काम गर्यो | नागरिकता छ, तर शुल्कसहितको भिसा चाहिने | छैन त अचम्म नेपालमा? आठौँ आश्चर्य भएन?

नेपाल सरकारको नेपाली मूलका विदेशीहरुप्रतिको यस्तो अर्घेल्याईं कहिलेसम्म हो? नागरिकता प्रदान गर्छ तर भिसा शुल्क लगाउँछ | सो नागरिकता लिन पाँचसय डलर शुल्क तिर्नुपर्छ | तर, यो भन्दा पहिले एनआरएनको कार्ड लिइएको हुनुपर्छ | र सोहि एनआरएन कार्ड लिन पनि ५२५ डलर तिरेर लिनुपर्ने हुन्छ | नागरिकता प्राप्तिको प्रक्रियामा वडाबाट सिफारिस लिन दश हजार (?) शुल्क तिर्नुपर्ने रहेछ | यो काठमाण्डौका वडाहरुको शुल्क हो | अन्य जिल्लाहरुमा पनि सोहि अनुपातको शुल्क हुनुपर्छ | अर्थात्, नेपाल सरकारका कर्मचारीतन्त्रहरुको आँखा विषाक्त छ | मात्र शुल्क उठाउन जानेको छ | यीनलाई एनआरएन भनेको पैसाका खानी हुन्, यिनीहरुसँग जति शुल्क लिए पनि हुन्छ भन्ने कलुषित सोच रहेको पाइन्छ |

अर्कोतिर एनआरएनको मागमा पनि एकरुपता छैन | पहिला त उ आफैँ खण्डित छ, त्यसमाथि, सरकारको आँखै ठुलो हुने गरि वंशजको नागरिकता माग गर्छ | यो तातो खाउँ, छिटै मरौं जस्तो भएन? एनआरएन कार्ड मार्फत सरकारले चिन्न थालेको पाइला अहिले आएर कलुषित नागरिकतामा अड्किएको छ | तसर्थ, सरकारको आशयलाई बुझेर वंशजको नागरिकताको जिद्दी छोडेर बरु हाल पाइरहेको अधिकारलाई मुलुकभरका सम्पूर्ण प्रशासनिक संयन्त्रहरुमा व्यवहारमा ल्याउने प्रयास गराउनु नै उचित हो |

उसो त सरकार उदार र मनकारी हुने हो भने, देशको दीर्घकालीन आर्थिक हितलाई ध्यानमा राख्ने हो भने दोहोरो नागरिकता दिनु नै सर्वोत्तम उपाय हो | यी देश छोडेर गएकाहरु भन्ने सोचको मानसिकता सरकारका दुबैथरी चालकले चटक्क त्याग्नैपर्छ | तर यी चालकहरुले बुझ्ने पर्ने अर्को के पनि हो भने संसारमा यस्ता धेरै देशहरु छन् जसको मूल आयश्रोत नै रेमिट्यान्स थियो र त्यसैको भरमा विकसित देशको लहरमा उभिएका छन् | त्यसो हो भने नेपाललाई पनि त्यसै लहरमा किन नउभ्याउने? मात्र दृढ विचार, दृढ योजना, दीर्घकालीन राष्ट्रको हितार्थ नियम कानुन हुनुपर्यो |

सरकार र प्रशासनमा रहेका उच्चस्तरीय कर्मचारीहरुले पनि टोपी टेबुलमा राखेर ठण्डा मनले सोचे एनआरएन देशको आर्थिक विकासको काममा ठुलो लाभदायी हुनेछ भन्ने बुझ्न सकिन्छ | हिजो देश छोडेर गएकाहरु फेरी देश नै फर्किन्छु, उता दुख गरेर कमाएको पैसा देशमै लगानी गर्छु, केहि रोजगारी सिर्जना गर्छु, विदेशमा सिकेको शीप र जाँगर तथा अनुभव प्रयोगमा ल्याउँछु भन्छ भने यसमा नराम्रो के छ र? तर कर्मचारीतन्त्रको असाध्य पूर्वाग्रही र संकुचित मानसिकताले देशमा भित्रिन सम्भव भएको यो अथाह श्रोत समुद्रपार नै रोकिएको छ |

माथिका लगानीकर्ता एनआरएनमात्र होइन, त्यस्ता एनआरएनले पनि विदेशी मुद्रा भित्र्याउन सक्छन् जो सामान्य, शान्त तथा आरामदायी अवकाश जीवन नेपालमा बिताउन चाहन्छन् | यीनले रोजगार गरेको सरकारबाट पाउने अवकाश भत्ता, कामबाट पाउने आजीवन भत्ता, संचित संचयकोष र आफ्ना साना बचतकासाथ नेपाल आएर शान्त जीवन बिताउने चाहना पालेका हुन्छन् | र यसरी भित्रिने विदेशी मुद्रा पनि ठुलो हुने अनुमान छ | साथै, यीनकालागी विदेशमा रहेका सन्तानले पठाउने नियमित भरथेगका रकमसमेत नेपालको आम्दानीमा जोडिंदा अर्थतन्त्रमा ठुलो सकारात्मक प्रभाव पर्छ भन्ने सरकार र कर्मचारीतन्त्रले बुझ्नुपर्यो | र यसरी भित्रिने अर्थले देशमा ल्याउने रोजगारीलगायतका आर्थिक तरङ्गहरु विशाल हुनेछ भन्ने पनि बुझ्नुपर्यो |

विदेश गएका पहिलो पुस्ता अब स्वदेश फर्किने क्रमको आशयमा छन् | तिनको आशयमा तिनका सन्तानहरुको सोच पनि गाँसिएको छ | तसर्थ, यदि यी जिम्मेवार सरकारी संयन्त्रले देशको वास्तविक विकास चाहन्छन् भने नेपालले समयमै वृहत र उदार सोच राखेर यो शृंखलालाई विशृंखलित हुनबाट रोकोस् | किनभने, देशमा सुरक्षा, सुनिश्चितता र स्थिरता भएन भने सन्तानहरु विदेशमा रहेका यताका अभिभावकहरु समेत यताका सम्पति बेचबिखन गर्दै विदेश पलायन हुनेका सङ्ख्यामा वृद्धि हुँदै जाने सम्भावना रहेको छ | यसले गर्दा देशले दोहोरो आर्थिक नोक्सान भोग्नु पर्नेछ | जुन दुर्भाग्यपूर्ण नै हुनेछ |

एउटा अर्को तितो सत्य के हो भने, शायद कुनै धुरी यस्ता नहोला जसको एक न एक सदस्य विकसित मुलुकमा बसोबास गरिरहेका नहोलान् | यसमा राजनैतिक पार्टीका नेताहरु, सरकारी संयन्त्रका कर्मचारीहरु, व्यापारी तथा उद्योगीहरु छन् जसको ति विकसित देशहरुमा कुनै न कुनै रुपमा पारिवारिक सम्बन्ध गाँसिएको छ र आवतजावत भैरहेको हुन्छ | अझ कति उच्च पदका पदाधिकारीहरु त उतैको बसोबासमा अवकाश जीवन व्यतित गरिरहेका छन् | अर्थात ने
पालका यस्ता कुनै बहुधा घर छैन होला जसको नेक्सस विदेश नहोस् | यीनलाई पनि भविष्यमा वर्तमानमा उठिरहेको आवाजमा सामेल हुनु पर्नेहुन्छ | अहिलेका कतिपय सरकारी पदाधिकारी अवकाश जीवन सन्तानकासाथ विदेशमा बिताउने भन्ने सोचले हाललाई त ढुक्क होलान् | तर त्यो बसाई दीर्घकालीन हुनेछैन भन्ने कुरामा यो पंक्तिकार ढुक्क छ |

सामाजिक सञ्जालमा चिनजान रहेका एक सचिवले अवकास पाएपछि पेन्सन पट्टा बनाउन किताबखानाले दिएको दुखप्रति सञ्जालमा गुनासो गर्दै थिए | प्रतिक्रियामा मैले यत्रो बर्ष सरकारी ओहदामा रहँदा आफ्नै सरकारको कमजोरी कसरी नदेखेको र सुधारमा किन केहि नगरेको त भन्ने प्रश्न मैले गरेको थिएँ | अर्थात्, अहिले वर्तमान एनआरएनले भोगेको समस्या समयमै निराकरण नगरे माथिका नेक्ससवालाहरुलाई पनि सोहि समस्या ढिलोचाँडो आइलाग्ने नै छ | तसर्थ, समाधानकोलागी अहिले नै जुटेको बेस |

एनआरएनको यस संवेदनशील मुद्दामा अब विदेशिएका सन्तानका अधिकारकालागी, तिनबाट देशले पाउनसक्ने आर्थिक लाभकालागी यता रहेका अभिभावकहरुले पनि आआफ्ना क्षेत्रबाट सम्भावित अधिकारिक क्षेत्र अर्थात् संसद, मन्त्री या नेताहरुका माझ आवाज उठाउनु पर्ने बेला आयो जस्तो छ | सरकारले पनि कान खोलेर सुनोस् ताकी देशले ठुलो आर्थिक फड्को मार्न सफल होस् |

Thursday, August 15, 2024

धार्मिक नेतृत्वमा समाज सुधारकको सम्भावना

 धार्मिक नेतृत्वमा समाज सुधारकको सम्भावना 

बासु श्रेष्ठ 

हाल: काठमाडौँ 


अहिले काठमाडौँ पशुपति क्षेत्रमा जारी एक महिने कोटी होमको विशेष चर्चा छ | यो कोटीहोम मानवसेवा फाउन्डेसनकोतर्फबाट गरिएको हो | महायज्ञ अवधिभरी एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण,  वैदिकमन्त्रसहित अनवरत रुपमा नियमित हवन, पाँच हजार १०० दिव्य कलश पूजन, चार वेद पाठ, ११ हजार बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, २१ हजार बढी ज्येष्ठ नागरिकको सम्मान, तण्डुलाचल चामलको पर्वत निर्माण लगायतको कार्यक्रम पनि नियमित रुपमा सञ्चालन हुने भनिएको छ | कुनै सङ्घसंस्थाको सहायतार्थ यस्तो धार्मिक कार्यको अनुष्ठान गरिएको यो पहिलो पटक भने होइन | तर यस स्तरको र पशुपति क्षेत्र विकास कोषको परिसरमा गरिएको भने पहिलो नै हुनुपर्छ |


यस महायज्ञमा नेपालबाट वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, भारतबाट राधिका दासी तथा बेलायतबाट श्री राम कथावाचक चन्द्रकला सखी लगायतले कथावाचन गर्ने जनाइएको छ । यीनका कथा वाचन सुन्न र धर्म, भजन किर्तनमा लिप्त हुन हज्जारौंको संख्यामा दिनहुँ सहभागी भैरहेका छन् | अपवादका रुपमा सिने कलाकारहरु आफ्नो आगामी चलचित्रको बिज्ञापन गर्न समेत पुगेका छन् | किनभने यीनले त्यहाँ अपार जनसमूहका बीच आफ्ना भनाई राख्न पाउँछन् | तर यो सुविधा आयोजकले के कसरी दियो त्यो गर्भकै बिषय हो |


यी वाचनकर्ताको मूल उदेश्य हो अनुष्ठानको उदेश्य पुरा गर्नु अर्थात आयोजककोलागी बढी भन्दा बढी चन्दा सङ्कलन गरिदिनु हो | यसबापत वाचकले पनि निश्चित रकम पारिश्रमिक स्वरूप लिने गर्छन् | जति बढी सङ्कलन भयो उति दुवै पक्षलाई फाइदा | तर कबूल गरिएको रकम सङ्कलन नभएको खण्डमा चाहीं आयोजक घाटामा पर्न जाने हुन्छ र यो मैले देखेको छु | कथा वाचकले कबूल गरेको रकमको प्रतिशत लिने हो, सङ्कलित रकमको होइन | तसर्थ, यस्ता आयोजनामा बढी भन्दा बढी नगद सङ्कलन भएको राम्रो ठहरिन्छ | 


जे होस्, चाहेमा यी कथावाचकहरु धार्मिक प्रवचन दिनुका साथै समाज सुधारकको भूमिका पनि सहजै खेल्न सक्छन् | हिन्दु धर्म त्यो पनि नेपालका अनुयायीहरुमा अलि बढी अन्धविश्वासले ग्रस्त देखिन्छ | पूजाआजा धर्मको नाममा मूर्ति त के प्रकृतिलाई नै समेत हानी पुर्याउने, वातावरण दुषित बनाउने, फोहोरमैलाको कारण बन्ने आदि सजिलै हुने गरेको पाइन्छ | यसका उदाहरणहरु बाटो हिंड्दा नै पनि प्रशस्त देख्न पाइन्छ | काठमाडौँमा बग्ने नदीको हालत पनि देखि नै रहेका छौ | जबकि हाम्रो धर्मले प्रकृतिलाई पनि देवताको रुपमा पुज्ने गर्छ |

 

तर बिडम्बना के भने हामी जसलाई पूजा गरिरहेका हुन्छौं, उसैलाई हानी पुर्याईरहेका हुन्छौं | एक शनिवार, पीपलको रुखको फेदमा बाक्लो धुँवा आइरहेको देखेँ | स्वभाविक कौतुहलतावश नजिक गएर हेर्दा कसैले पीपल रुखलाई आरतीको बत्ती बालेको रहेछ | ति अज्ञात भक्तजनको बुद्धिप्रति आक्रोशित हुनु बाहेक अन्य उपाय थिएन | बत्तीलाई सक्दो शमन गरेर म आफ्नो बाटो लागें | तर यो घटना मेरो मानसपटल अटल भएर रहेको छ |

हामी भूतप्रेत मन्साउने, ग्रहदशा शान्त पार्ने तथा देवतालाई चढाउने नाममा टपरी या दुनामा खानेकुराहरु राखेर दोबाटो चौबाटोमा राख्छौं | तर ती खानेकुराहरु छरिएर वरपर फोहोर हुने, दुर्गन्ध फैलिनेप्रति रत्ती सजग हुँदैनौं | यो हाम्रो धर्मान्धता हो |


म यी प्रभावकारी कथावाचकहरुले यस्ता विकृतिका विरुद्ध श्रोता भक्तजनहरुलाई सजग बनाउन् भन्ने आग्रह गर्दछु | त्यसै गरी, पुरेत, पण्डितहरुले पनि धर्मको माध्यमबाट आआफ्ना ठाउँबाट भक्तजनहरुलाई अन्धविश्वास, छुवाछुत तथा अन्य विकारहरुबाट मुक्त गराउन सक्छन् जुन सरकार तथा सरकारका कानुन नीति नियमले पनि सकिरहेका छैनन् |


बागमती फोहोर, रुग्ण र जीर्ण हुनुमा म पनि दोषी छु | तथापी, ममाथि घटेको घटनाभन्दा पहिले नै बागमतीको दुर्गति आरम्भ भैसकेको थियो | तर त्यस कुकृत्यमा म पनि धार्मिक बाध्यताको कारणले समावेस भएँ |


बागमती किनारको पशुपतिस्थित किरियापुत्री घरमा १३ दिन बुवाको किरिया बस्ने क्रममा त्यस रुग्ण नदीमा मैले दिनहुँ पितृको नाममा कपडा बगाएँ, (पानी भए त बग्नु, फालें भन्नु उचित होला) अन्नादीहरु फालें, फलादी फालें र थप फोहोर बनाएँ | यो उपक्रममा मलाई अति ग्लानी भैरहेको थियो | तर आफूभन्दा जेठाबाठाहरु, विद्वान पुरेतहरुसँग युगौँदेखि चल्दै आएको यस रीतप्रथाको बिरुद्ध बोल्न असमर्थ रहें | विदेशबाट आएर किरिया बसेको मलाई नास्तिक भयो, विदेशी भयो, भ्रष्ट भयो भन्ने आक्षेपबाट बच्नुकासाथै आमाको मन पनि दुखाउन चाहिनँ | तसर्थ, १३ दिनका हरेक दिनका हरेक क्रियाकलापमा बागमतीसँग मनमनै क्षमा माग्दै यी कृत्य गर्दैरहें |


यी र यस्ता अन्धविश्वासहरु हटाउन शिक्षा नै महत्वपूर्ण हो र यसले बिस्तारै निर्मूल गर्दै जाने छ भन्ने निकै वर्ष पहिलेको मेरो विश्वास असफल भएको छ | शिक्षा नै अपूरो, अधूरो र शिक्षकहरु पनि सोहि अनुसारका भएको पाएको छुँ | र त, आजका युवाहरुमासमेत अन्धविश्वास र रुढिवादीले झन् जरा गाडेको पाइन्छ | 


तर पछि शिक्षामात्र यी अन्धविश्वास हटाउन पर्याप्त छैन यसलाई धर्मले नै काट्नु पर्छ र यो नै प्रभावकारी हुन्छ भन्ने मेरो निर्क्यौल योगमाया उपन्यास पढेपछि आएको हो | योगमायाका अनिगिन्ती अनुयायीहरु योगमायाले महिलाको पक्षमा उठाएको आवाजको पक्षमा त लागे | तर, धर्मको नाममा हुने या भैरहेका पश्चगामी अन्धविश्वासका बिपक्षमा यस सुधारको पक्षमा बोलेको पाइन्न | धार्मिक प्रवचन दिएर असँख्य अनुयायी बटुल्न सक्ने वक्ता आफु पनि सजग भएर धर्ममा रहेको या धर्मको आधारमा उत्पन्न गरिएका अन्धविश्वास तथा रुढिवादीलाई धार्मिक प्रवचन मार्फत चिर्न, फाल्न या कम गर्न सक्छ | तर त्यो गरेको पाइँदैन | जुन दुखद कुरा हो | अब सबै धर्म गुरुहरुको ध्यान यता पनि जाओस् |


Saturday, June 22, 2024

पाहुनासँग खसखस


अमर न्यौपाने 
डा. शङ्करप्रसाद शर्मा
आनी छोइंग डोल्मा
अनुराधा कोइराला
बालकृष्ण पोखरेल
चन्द्रकला नेवा
दयाराम श्रेष्ठ
गङ्गाप्रसाद उप्रेती १
गङ्गाप्रसाद उप्रेती २

गुहनाथ पौडेल
हरि अधिकारी 
हरिबहादुर थापा 
हिरण्यकुमारी पाठक 
इन्द्रबहादुर राई
कालीप्रसाद रिजाल
किशोर पहाडी
कृष्ण धरावासी
कुमारबहादुर जोशी
लीलबहादुर क्षेत्री
माधव घिमिरे
मीरा राना
नगेन्द्र थापा
नयनराज पाण्डे
नीलम निहारिका
ओमवीर सिंह बस्न्यात 
परशु प्रधान
प्रेमध्वज प्रधान
राजेश्वर देवकोटा
रमेश खकुरेल
रत्नशम्शेर थापा
शिव रेग्मी
श्याम तमोट
सोमनाथ घिमिरे
एस्पी कोइराला
सुनिल पोखरेल
ठाकुर पराजुली
तुलसी दिवस
तुलसी घिमिरे

 

Friday, June 14, 2024

बाटो विहीन गन्तव्यहरु

बासु श्रेष्ठ

हाल: काठमाडौँ

नेपालका सडककोलागी नवचालक म आफन्तसहित चर्चामा रहेको सुकुटे बीच 'बाटो राम्रो रहेको' जानकारीको आधारमा सपत्नी गईयो। किनभने नेपालका थुप्रैसडक खण्डहरु या त आँशिक रुपले होस् या पूर्णतया होस् सडकहरु घाईते भएका नै हुन्छन्। प्रायश: मानिसहरुलाई यो दुरावस्था यति सामान्य लागिसकेको छ कि बाटोको अवस्था सोधे 'राम्रो छ, सवारी साधन चल्न सक्छन्' भन्ने जस्ता जवाफ पाइन्छ। तर, कतिपय सडकहरु सवारीसाधन चलाउन योग्य पटक्क हुँदैनन्। सम्भवत: तिनले सद्दे देखेको भोलीपल्ट नै सडक कुरुप बनेको हो कि? त्यो पनि सम्भव छ। खन्न, खोस्रिन कुनै समय नलाग्ने तर बनाउन बर्षौं लगाउने प्रवृत्तिले जरो गाडेको रहेछ।

जे होस् , अन्तरिक पर्यटकले धानेको, कोदारीबाट ४५ किमी वर, बुढानिलकण्ठबाट ७६ किमी पर अनि दोलालघाटबाट २० किमी पर सुनकोशीको तीरमा रहेको यो स्थललाई किन 'बीच' भनियो भन्ने प्रश्न अनुत्तरित नै छ। तर, दुई पहाडको खोंचमा रहेको यो क्षेत्रमा सानाठूला, नयाँ पुराना गरि झण्डै १७ वटा रिसोर्टहरु रहेछन्। नेपाल चीन जोड्ने तथा ऐतिहासिक अनि व्यापारिक दृष्टिले महत्वपूर्ण अरनिको राजमार्गको यो खण्डखण्डमा देखिने र भोगिने दूराबस्था जेजति छ बुझिनसक्नु छ। भक्तपुरसम्म ब्यबस्थित सडक लगभग साॅगाबाट अनावश्यक तथा अर्थहीन तरिकाले असॅख्य स्थानमा खुँडेर खण्डित गरिएको छ। यसकासाथै सडक निर्माण तथा चौडा गर्ने उदेश्यकालागी सडक भताभुङ्ग गरिएका असॅख्य ठाउॅले आवागमनमा प्रत्यक्ष बाधा त पुगेकै छ। यसले समय र अर्थतन्त्रमा अथाह नकारात्मक प्रभाव पनि पारेको छ जुन सरकारको किताबमा कहिल्यै पर्दैन।

अर्थतन्त्रमा पर्ने नकारात्मक सामान्य उदाहरणका रुपमा: सडक दूरावस्थाको कारणले दुई मिनेटको दूरी पार गर्न बीस मिनेट लाग्नसक्छ। यो बीस मिनेटमा गति कम हुनाको कारणले ईन्धनको खपत बढि हुन्छ। खाल्डाखुल्डीमा सवारी साधन ठोक्किने या खसेर भौतिक क्षति हुन्छ र मर्मत आदिकोलागी ईन्धनसरह पार्ट्सहरु बिदेशबाट आयात गरिनुपर्छ। सडक दाॅयाबाँया बसोबास गर्ने बस्तीबासीहरुलाई धूलो र धूॅवाको प्रदूषणले स्वास्थ्यमा पार्ने प्रतिकूल असर लगायत सवारी साधन मर्मत आदिको ज्याला आदि सबैलाई आर्थिक दृष्टिकोणमा परिणत गर्दा परिणाम भयावह र सोचनीय हुन आउॅछ।

जे होस्, धुलिखेलपछि केराघारीसम्म शायद लगभग सात किलोमिटर सडकको अवर्णनीय दूर्दशा छ। उकालीमा रहेको यो खण्ड धूलो, हिलो, खाल्डाखुल्डी बाहेक केही छैन। कुनै खण्डमा छेउतिर निर्माण काम त भैरहेको छ। तर, न अगाडी काम छ, न पछाडी। वैकल्पिक तथा अस्थायी लेन सिर्जना गरेर आवागमनमा सहजता पुर्याउन सहजै सकिन्थ्यो। तर यस्ता सामान्य बिषयमा निर्माण व्यवसायी तथा सम्बन्धित निकायहरुको ध्यान नपुग्नु दुखदायी छ। यसतर्फ तिनका लापरवाहीले तिनका स्तर उजागर गरेको छ। कमसेकम आन्तरिक पर्यटनको भए पनि गन्तव्यको रुपमा स्थापित यस्ता स्थल जोडिने सडकहरु छिटोभन्दाछिटो सम्पन्न गरेर ति पर्यटन व्यवसायीहरूलाई सहयोग गर्नुपर्ने सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार किन अन्धो र बहिरो भएर बसेको छ? यो भन्दा महत्वपुर्ण त चीनसंग जोड्ने मैत्री तथा व्यापारिक राजमार्ग हो। यसको महत्तालाई मात्र ध्यान दिएको भए शायद यो अवस्था आउने थिएन कि?

व्यापारिक तथा आर्थिक दृष्टिले नेपालको अर्को लाइफ लाइन राजमार्ग पूर्व पश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्ड तथा त्रिभुवन राजपथको थानकोट नौबिसे सडक खण्ड जीर्ण र यातायातकोलागी अनुपयुक्त भएको कैयौँ बर्ष भैसकेको छ। यसबाट भैरहेको क्षति अतूलनीय र अवर्णीय छ। तर सरकार मूलत: सङ्घीय सरकारको अकर्मण्यताले आर्थिक नोक्सानकासाथै मानवीय क्षति भोगिरहनु परेको छ। यस सडक खण्डमा गतबर्ष काठमाण्डौॅबाट सौराहा हुॅदै बुटवल, स्याङ्जा, पोखरा काठमाण्डौॅको यात्रामा भोग्नुपरेको सडकीय सजायँले फेरि दोहोर्याएर यात्रा गर्ने बिचार र ऑट पटक्कै आएको छैन।

हुन त, वैकल्पिक साधनमा हवाई यात्रा पनि गर्न सकिन्छ, तर, स्थलमार्गमा पाईने रमणीय दृश्यावलोकन आदिको हवाई यात्रामा सम्भव छैन। र म यिनै दृश्यहरुको लोभी हुॅ। साथै स्थानीय ब्यापारमा सानो तथा झिनो योगदान पुर्याउन सकिन्छ। तर हवाई यात्रा पनि सबै स्थानमा उपलब्ध छैन र उपलब्ध गराउन सम्भव पनि छैन।

यसैगरी गतबर्ष चालकसहित भाडाको गाडीमा नगरकोटको यात्रा गर्दा पनि भक्तपुरको सैनिक इलाकापछि नगरकोटको रिसोर्टसम्म मुश्किलले केही किमी सडकमात्र स्तरीय पाएँ। बाँकि खण्ड खाल्डाखुल्डीले भरिपूर्ण थिए। धुलो र धुवाँका कारणले पहाडी क्षेत्रको स्वच्छ हावा पनि वर्जितसरह थियो। अरु त अरु, मूल सडकबाट छुट्टिएर रिसोर्ट जोड्ने सडक समेत दूर्दशामा थियो । स्वाभाविक रुपले यो सडकको भित्री खण्ड रिसोर्टको स्वामित्वमा देखिन्छ। स्थापनाकोलागी करोडौँ खर्च गर्नसक्ने रिसोर्टले यो सानो सडक खण्ड बिजोग अबस्थामा राख्नुको औचित्य बुझिनसक्नु छ। नगरकोटबाट फर्किएको केही अवधिपछि त्यस भक्तपुर नगरकोट सडकखण्डका वासिन्दाले तत्कालीन मन्त्री नारायणकाजी श्रेष्ठसँग वादविवाद भएको समाचार हेरेको थिएँ। अहिले त्यो खण्डको हालत यथावत छ या आवश्यक मर्मत गरियो थाहा हुनसकेन।

यसैगरि केहि हप्ता पहिले मेरा आत्मीय मित्रसँग ललितपुर जिल्लाको लाँकुरी भन्ज्याङ्ग जाने निधो गरियो। स्वभावत: बाटोको अबस्था राम्रो छ भन्ने जानकारी पाएपछि हुँईकिएर गइयो। उकालो चढ्ने क्रममा हाम्रो गन्तव्य पुग्न झन्डै तीन किमी सवारी साधन चलाउन योग्य थिएन। झन् रातो माटो रहेको खोस्रिएको सडक(?) र त्यसमाथि पानी पर्न थालेपछि त यात्रा खतरापूर्ण हुन थालेको अनुभव गरियो र निर्दिष्ट गन्तव्य नपुगीकनै फर्किन बाध्य भइयो।

यसका अतिरिक्त बाटामा पर्ने कतिपय स्थानमा पर्यटक स्थल तथा धार्मिक स्थल स्थापना त भएका छन् तर, तिनलाई पहुँच दिने सडकको चाहीॅ ब्यबस्था स्तरीय छैन। अझ, ति सडक नै होईनन् जुन फगत डोजरले खनेर रेखाङ्कनमात्र गरिएको हुन्छ। स्थानीय नेता तथा मन्त्री, साॅसदहरु आफ्ना मत सुरक्षित गर्न यस्ता झिनामसिना कामद्वारा 'ल हेर, मैले ल्याएको विकास' भन्ने झुटो, अपूरो र अधुरो योजना ल्याउॅछन्। तर, निर्माण व्यवसायी, स्थानीय सरकार तथा सवारी चालकका मनपरि र लापरवाहीको कारणले ति रेखाङ्कनले सडकको प्रमाणपत्र पाउनु अघि नै सवारी साधन चलाईदिन्छ। फलतः हुने दूर्घटना तथा तिनले हुने मानवीय क्षतिको दुखदायी समाचार सुन्नसमेत हामी अभ्यस्त भएका छौॅ। तसर्थ सरकार तथा निर्माण व्यवसायीहरुले सडकको पूर्णतया निर्माण सम्पन्न नभएसम्म सवारी आवागमन रोकिनुपर्छ।

मैले माथि उल्लेख गरेको विवरण निसन्देह प्रतिनिधि विवरण हुनसक्छ। देशभर यस्तो दुरावस्था असंख्य होलान् भन्न सकिन्छ। यो सबै खुद्रे विकासको सोच, जसलेपनि निर्माण ठेक्का पाउने परिपाटी र हतारमा मत तान्ने स्वार्थको कारणले हो जुन यथाशक्य बन्द गरिनुपर्छ।