Tuesday, March 20, 2012

फेरी चेरी फुल्यो हजुर

बासु श्रेष्ठ


















फेरि चेरी फुल्यो हजुर डि सी रमाइलो
घुम्न जाऔं त्यता लौ न मौसम घमाइलो
मोनुमोण्टको छेउछाउ जेफर्सन  मेमोरियल्
मलको पारीपट्टि त्यस्तै लिङ्कन मेमोरियल्

टाईडल बेसिन वरपर ढकमक्क चेरी
तस्विर खिचौं प्रकृतिको आसन् फेरी फेरी
चिरीविरी रुखमाथि चेरीसगैं चरी
बेसिनको सिरेटोले हान्छ घरी घरी

जल छुने कोशीस गर्छ चेरी तन्किएर   
जल भने दूर भाग्छ त्यसै मस्किएर
हार खाई चेरी हेर्छ आफ्नो रुप जलमा
पल्लव झारी घुर्क्याउँछ  हर पल पलमा

जल, वायु, चेरी सबै खेल्छन् मिलीजुली
नभपनि साथ दिन्छ तालको जलमा मिली
लाग्छ सानो स्वर्गै हो कि मन मोहित पार्ने
बादलको छाँया पर्दा भिन्न भ्रममा पार्ने

मुक्त भई जाडोबाट स्वागत बसन्तको
मुक्त हाँसो फुट्छ सबको हेर्दा अनन्तको
देह खुल्यो मन खुल्यो खुल्यो नभपनि
रङ्ग चढ्यो बसन्तको चढ्यो नशापनि

फुल्छ चेरी हरेक वर्ष चाड जस्तै आउँछ
शिशिर ऋतु विदा गरी वसन्त बोलाउँछ
फेरि चेरी फुल्यो हजुर डि सी रमाइलो
घुम्न जाऔं त्यता लौ न मौसम घमाइलो…

(२००४ को नेपाली पोष्टमा प्रकाशित)